४७ औँ संस्करणको कोपा अमेरिकाको उपाधि अर्जेन्टिनाले हात पारेको छ ।
माराकाना स्टेडियममा आइतबार बिहान सम्पन्न फाइनलमा घरेलु टोली ब्राजिलमाथि १-०को कठिन जित निकाल्दै अर्जेन्टिनाले उपाधि जितेको हो ।
खेलको २२औँ मिनेटमा एन्जल डि मारियाले गरेको एक मात्र गोल अर्जेन्टिनालाई उपाधि दिलाउन पर्याप्त बन्यो ।
रोड्रिगो डि पलले लामो दूरीबाट उपलब्ध गराएको बललाई डि मारियाले डिबक्सभित्र नियन्त्रणमा लिँदै उत्कृष्ट ढङ्गले पोस्टको दिशा दिएका थिए ।
सन् १९९३ को कोपा अमेरिकाको उपाधि हात पारेयता अर्जेन्टिनाले जितेको यो पहिलो अन्तर्राष्ट्रिय उपाधि हो ।
त्यसयता उसले ४ कोपा अमेरिका र १ फिफा विश्वकप फाइनल खेले पनि उपाधि हात पार्न भने सकेको थिएन ।
ऊ सन् २००४ र २००७ को कोपा अमेरिकाको फाइनलमा ब्राजिल, २०१५ र २०१६ को कोपा अमेरिका फाइनलमा चिली र सन् २०१४ को फिफा विश्वकपमा जर्मनीसँग पराजित भएको थियो ।
अर्जेटिनाका कप्तान लियोनल मेस्सीका लागि यो सिनियर टोलीबाट पहिलो अन्तर्राष्ट्रिय उपाधि हो ।
उपाधि जितसँगै अर्जेन्टिनाले सर्वाधिक कोपा अमेरिका जित्ने उरुग्वेसँगको कीर्तिमान पनि बराबरी गरेको छ । दुवै टोलीले समान १५-१५ कोपा अमेरिका उपाधि हात पारेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।