कतार प्रवेश गर्ने मापदण्डमा संसोधन, अब यी कागजात चाहिने

कतारले आफ्नो देशमा प्रवेशका लागि आवश्यक मापदण्ड परिमार्जन गरेको छ । कतारले भोलि अर्थात जुलाई १२ सोमबारदेखि लागु हुनेगरी मापदण्ड परिमार्जन गरेको हो । 

नेपालस्थित कतार राजदूतावासले विज्ञप्ति जारी गर्दै कतार प्रवेशका लागि प्रचलित मापदण्डमा परिमार्जन गरिएको जनाएको छ । संसोधित मापदण्ड भोलिदेखि लागु हुनेछ । 

अब नेपालबाट कतार यात्रा गर्ने यात्रुहरुले पनि संसोधित मापदण्ड अनुसार प्रक्रिया पूरा गर्नुपर्ने राजदूतावासले जनाएको छ । जसअनुसार हरेक यात्रुले नेपालमा तोकिएका स्वास्थ्य संस्थाबाट जारी भएको ७२ घण्टाभित्रको कोभिड १९ नेगेटिभ पिसिआर रिपोर्ट लिएर मात्र यात्रा गर्न पाइने भएको छ ।

त्यस्तै, यात्रा गर्नुभन्दा कम्तीमा १२ घण्टाअघि अनिवार्य रुपमा एहतराज वेबसाइटमा अनलाइनबाट प्रि-रजिस्ट्रेसन गरेर आवश्यक कागजात अपलोड गरेपछि प्राप्त हुने कागजलाई प्रिन्ट गरी साथमा लिएर मात्रै यात्रा गर्न पाइने विज्ञप्तिमा उल्लेख छ । 

नया मापदण्डअनुसार कतारमा दुवै मात्रा खोप लगाई खोपको प्रमाणपत्र प्राप्त गरेका यात्रुहरुले क्वारेन्टिन बस्नु नपर्ने भएको छ । त्यसैगरी अक्सफोर्ड/अस्ट्राजेनेका र जोनसन एन्ड जोनसन खोपको मात्रा पूरा गरी प्रमाणपत्र प्राप्त गरेका यात्रुले समेत क्वारेन्टिन बस्नु नपर्ने विज्ञप्तिमा उल्लेख छ ।

कतारमा कोभिड–१९ संक्रमण भई निको भएको १२ महिनाभित्र यात्रा गर्ने यात्रुले समेत क्वारेन्टिन बस्नु नपर्ने भएको छ । तर, खोपको मात्रा पूरा नगरेका वा खोप नलगाएका यात्रुको हकमा अनिवार्य रुपमा तोकिएको वेबसाइटबाट बुकिङ गरी १० दिन होटल क्वारेन्टिन वा १४ दिन मेखाइनिस क्वारेन्टिन बस्नुपर्ने विज्ञप्तिमा उल्लेख छ ।





  • प्रकाशित मिति : असार २७, २०७८ आइतबार १२:४४:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया