आर्थिक हिनामिना गरेको भन्दै मुख्यमन्त्री कार्यालय अगाडि वादी समुदायका दुई पक्षबीच झडप

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अगाडि वादी समुदायका दुई पक्षबीच झडप भएको छ । सरकारी राहत तथा कार्यक्रम बाँडफाँडबारे विवाद भएपछि दुई समूहबीच आइतबार झडप भएको हो । 

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले ज्ञापनपत्र बुझाउन आएका वादी समुदायका नागरिकबीच एकआपसमा झडप भएको जानकारी दिए । उनले अहिले वडा प्रहरी कार्यालयमा छलफल भइरहेको बताए । 

प्रदेश सरकारले आगामी आर्थिक वर्षको लागि भन्दै वादी समुदायको नागरिकका लागि ३ करोड रुपैयाँ विनियोजन गरेको छ । 

आइतबार वादी उत्थान समितिकी अध्यक्ष रमा वादी लगायतको टोलीले मुख्यमन्त्री त्रिलोचन भट्टलाई भेटेर ज्ञापन पत्र बुझाएका थिए । मिठु वादी नेतृत्वको वादी समुदायका नागरिक पनि मुख्यमन्त्री कार्यालय बाहिर आएका थिए ।

रमा नेतृत्वको समूहले वादी समुदायका नागरिकको नाममा यसअघि पनि विभिन्न कार्यक्रम गर्दै आर्थिक हिनामिना गरेको भन्दै मिठु नेतृत्वको वादी समुदायले विरोध गरेपछि मुख्यमन्त्री कार्यालय अगाडि हात हालाहाल भएको हो । 



‘वास्तविक वादीका महिलाहरू हामी हौँ । उनीहरु त नेता हुन्’, मिठु पक्षकी कमला वादीले भनिन्, ‘सरकारले हामीलाई ३ करोड रकम दिएको छ । त्यो खान नेताहरुले वादविवाद गरेका छन् ।’



सुवास वादीले १७ लाख रुपैयाँ हिनामिना गरेको मिठु पक्षको आरोप छ । महिलाहरूले हातपात गरेपछि सुवास वादीलाई प्रहरीले नियन्त्रणमा छ । 

‘रमा वादीले हाम्रा दिदीबहिनीलाई कमाइ खाने भाँडो बनाएकी रहिछन्’, भूमिहीन संघर्ष समितिका अध्यक्ष मिठु वादीले भनिन्, ‘हाम्रो बजेट यिनीहरूले खाए ।’ 

वसन्ती वादीले पनि आफूहरूलाई वादीका अगुवाहरुले ठग्ने गरेको बताइन् । ‘वादीका नेता भन्नेहरूले हामीलाई ठगेका छन् । हाम्रो जग्गा छैन । आएको राहत पनि खान्छन्’, उनले भनिन्, ‘हाम्रो छोराछोरीले पढ्न पनि पाएका छैनन् । खान पनि पाएका छैनन् । यिनीहरूले हाम्रो बदनाम गरेर आफ्नो पेट भरिरहेका छन् ।’

  • प्रकाशित मिति : असार २७, २०७८ आइतबार १६:२८:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया