साफ च्याम्पियनसिप आयोजनाको प्रक्रिया अघि बढाउन प्रधानमन्त्री ओलीको निर्देशन

प्रधानमन्त्री केपी शर्मा ओलीले सेप्टेम्बर दोस्रो सातालाई तय भएको साफ च्याम्पियनसिप आयोजनाको प्रक्रिया अगाडि बढाउन निर्देशन दिएका छन् । 

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार खेलाडी सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले खेलाडी र सम्बन्धित निकायहरु प्रतियोगिताका लागि तयार भए सरकारले आयोजना गर्न सक्ने बताएका हुन् । 

प्रधानमन्त्री ओलीले आयोजनाका लागि सबै तयार भए सरकार पनि तयार भएको बताए । कार्यक्रममा युवा तथा खेलकुद मन्त्रालयका प्रतिनिधि, राष्ट्रिय खेलकुद परिषद (राखेप) र एन्फाका पदाधिकारीहरुले साफ गर्न सक्ने बताएपछि प्रधानमन्त्रीले त्यसका लागि सम्पूर्ण प्रक्रिया अघि बढाउन निर्देशन दिएका हुन् । 

ओलीले भने, ‘साफ च्याम्पियनसिप बंगलादेशले आयोजना गर्ने भनेको नसक्ने भयो । नेपालमा गर्ने कि भनेर क्याप्टेनले भन्नुभयो । म तपाईहरुलाई सोध्न चाहन्छु । आर यू रेडी टू विन त साफ ? तपाईहरु खेल्न तयार हुनुहुन्छ कि हुनुहुन्न होइन, आर यू रेडी टू विन ? यू ह्याब टू विन द साफ देन वि आर रेडी टू अर्गनाइज्ड द गेम ।’

बंगलादेशले प्रतियोगिता गर्न नसक्ने भनेपछि नेपालले आयोजनाका लागि इच्छा देखाएको छ । अब बंगलादेशले आयोजना नगरेको खण्डमा प्रधानमन्त्रीबाट प्राप्त निर्देशन अनुसार नेपालले नै आयोजना गर्ने सम्भावना बढेको छ ।

आयोजक राष्ट्र बंगलादेशले प्रतियोगिताबाट हात झिकेपछि नेपालमा साफ आयोजना गर्न एन्फाले दाबी गरेको छ । प्रतियोगिताका लागि सेप्टेम्बर १४ देखि २५ सम्मको समय निर्धारण गरिएको छ । 



बंगलादेशले कोरोनाको असर, मुख्य प्रायोजकको खडेरी र बंगबन्धु रंगशालाको पुनर्निर्माण यसै वर्ष गर्नुपर्ने भएकाले प्रतियोगिता आयोजना गर्न नसक्ने बताइसकेको छ । 

बंगलादेशले प्रतियोगिता आयोजनाबाट हात झिकेपछि नेपालसँगै श्रीलंकाले पनि साफ आयोजनामा दाबी गरेको छ । नेपाललाई आयोजना गर्न ठूलो रकम आवश्यक पर्ने भएकाले सहयोग गर्न नेपाली टोलीका कप्तान किरण चेमजोङले कार्यक्रममा सरकारसँग अपिल गरे ।



गत वर्ष नै बंगलादेशले आयोजना गर्ने भनिएको प्रतियोगिता कोरोना माहामारीका कारण एक वर्ष पछि धकेलिएको थियो । प्रधानमन्त्री ओलीले दसैँको बेलामा प्रतियोगिता हुने भएकाले खेलाडीलाई उपाधि उचाल्दै दसैँ मनाउने लक्ष्यसहित तयारी गर्न आग्रह गरे ।

पछिल्लो पटक नेपालले सन २०१३ मा दशरथ रंगशालामा साफ च्याम्पियनसिप आयोजना गरेको थियो । घरेलु रंगशालामा आयोजना गर्दा नेपालले अन्तिम चार सम्मको यात्रा तय गरेको थियो भने पछिल्लो पटक सन २०१८ मा बंगलादेशमै आयोजना हुँदा पनि नेपाल सेमिफाइनल पुगेको थियो । 

हालै मात्र नियुक्त भएका कुवेतका प्रशिक्षक अबदुल्लाह अलमुताइरीले साफ च्याम्पियनसिपको लक्ष्य राखेर अहिले ५० प्रारम्भिक खेलाडीलाई बन्द प्रशिक्षणमा राखेर अभ्यास गराइरहेका छन् ।

  • प्रकाशित मिति : असार २७, २०७८ आइतबार १७:२२:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया