‘कांग्रेसको इतिहास संरक्षण गर्ने नेतृत्व आवश्यक छ’

(सम्पादकीय नोटः नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशन काठमाडौंमा १६-१९ भदौमा हुने तय भएको छ । यही सन्दर्भमा फरकधारले नेपाली काङ्ग्रेसका जिल्ला सभापतिहरुसँग उनीहरुले यो महाधिवेशनलाई कसरी हेरिरहेका छन् र पार्टीमा के होस् भन्ने चाहन्छन् भन्ने दुई प्रश्नमा आधारित रहेर प्रश्न गरेको थियो । जिल्ला सभापतिहरुसँग फरकधारले गरेको कुराकानी अब क्रमशः फरकधारमा प्रकाशित हुनेछ ।)

महाधिवेशन नजिकिँदै छ, यो घोषित मितिमै हुने निश्चित छ । नेपाली कांग्रेसका कुनै पनि विधि, विधान र अन्य सन्दर्भ समयसापेक्ष परिवर्तन हुँदै गएका छन् । अहिले नै त्यसमा कुनै फेरबदल गर्नुपर्ने छैन । कांग्रेसमा यस्तो नेतृत्व चाहियो, जसले यो ऐतिहासिक पार्टीका विभिन्न पक्षको संरक्षण गर्न सकोस् । 

ऐतिहासिक कामहरु कांग्रेसले गर्दागर्दै पनि संगठनलाई सक्षम बनाएर निर्वाचनमा सफलता प्राप्त गर्न नसकेको अवस्था छ । त्यही असफलताका कारण आजको दिनमा कांग्रेस कहाँ छ भन्ने जनमानसमा प्रश्नका साथै भ्रम पनि पैदा भएको छ । यस्ता भ्रमहरु चिर्दै कांग्रेसको हिजोका बाधाहरु पन्छाएर संगठनात्मक रुपमा सफल बनाउँदै अघि बढ्न सक्ने नेतृत्व आवश्यक परेको छ । 

नेतृत्वको दाबी अहिले ज-जसले गरिरहनुभएको छ, उहाँहरु सबैमा योग्यता÷क्षमता छ । उहाँहरुले जुनजुन ठाउँमा बसेर अहिले काम गरिरहनुभएको छ, हिजोका दिनमा पार्टीलाई जीवन्तता उहाँहरुले नै दिएको हो । पार्टीका सम्पूर्ण संगठनलाई संस्थागत गर्ने र समयसापेक्ष बनाउँदै लैजाने जिम्मेवारी उहाँहरुले स्पष्ट ढंगमा निर्वाह गरिसक्नुभएको छ । त्यसकारण सम्पूर्ण नेता योग्य हुनुहुन्छ । 

हालका पार्टी सभापतिमा कुनै अयोग्यता छैन । तर, उहाँले पाएको अवसरबाट पार्टीलाई जहाँ पुर्याउनुपर्ने हो त्यो सक्नुभएन । त्यसकारण अब सो कार्य गर्न सक्ने भावना भएको मान्छेलाई नेतृत्वमा ल्याउनु आवश्यक छ । अब पार्टी सभापति शेरबहादुर देउवाको विकल्पमात्र खोजेर पुग्दैन । पार्टीलाई मर्यादित र संस्थागत बनाएर हिजोको इतिहासलाई संरक्षण गर्दै जनताको मनमस्तिष्कमा स्थापित गर्न सक्ने नेता चाहिएको छ ।  

युवा नेतृत्वको बहस 
कांग्रेस आन्दोलित हुन वा विभिन्न माग अघि सार्न पनि युवा जोश जाँगरको आवश्यकता पर्छ । अहिले कांग्रेसको युवा पंक्ति त्यसरी सक्षम भइसकेको देखिँदैन । पार्टीमा लामो इतिहास बोकेका नेताहरु बाँकी हुनुहुन्छ, उहाँहरुलाई कसरी व्यवस्थापन गर्ने ? उहाँहरुलाई मर्यादित ढंगमा व्यवस्थापन गर्न नसकेकै कारण आज पार्टी यो अवस्थामा आएको हो । 



अनेक दुःखकष्ट सहँदै पार्टीलाई यो स्थानमा ल्याउन र लोकतन्त्रका लागि ज्यानको बाजी थाप्दै लागिपरेका व्यक्तित्वको मनमा चिसो पसेको अवस्था अहिले छ । भावनात्मक रुपमा एकतावद्ध गर्न नसक्दा यो अवस्था सिर्जना भएको हो । त्यसकारण युवाहरु अक्षम हुनुभयो, योग्य हुनुभएन भनेको हुँदै होइन, पार्टीमा सक्षम युवा पनि धेरै हुनुहुन्छ । 

तर, त्योभन्दा पनि अहिले विगतमा धेरै संघर्ष गरेका नेताहरु हामीमाझ हुनुहुन्छ । विगतमा उहाँहरुले विभिन्न तहको नेतृत्व गरिसकेको र राज्य सञ्चालनदेखि पार्टी सञ्चालनसम्म र अन्तर्राष्ट्रियस्तरसम्म अभ्यास गरिसक्नु भएको छ । त्यस्ता नेताको व्यवस्थापन ठूलो कुरा हो । पार्टीको हितका लागि अहिले भएका शीर्ष नेताहरुको खोजी र उहाँहरुको व्यवस्थापन गर्नुपर्छ भन्ने मेरो मान्यता हो । 



संस्थागत ढंगमै सबै नेताहरुको सहयोगमा अघि बढ्नुपर्छ । म काठमाडौंको पार्टी सभापति हुँ । यो ऐतिहासिक पार्टी र संगठनको लागि समर्पित भएको नेता मान्छु म, गणेशमान सिंहलाई । उहाँको जन्मस्थान काठमाडौं । पार्टीका लागि उहाँले धेरै त्याग र संघर्ष गर्नुभयो । तर, पार्टी र देशका अघिल्तिर पद र प्रतिष्ठा केही हैन भनेर पाएको पद पनि छाडिदिनुभयो । उहाँकै सुपुत्रले पार्टीका सम्पूर्ण तहगत संरचनामा बसेर काम गर्दै आउनु भएको छ । देशको उपप्रधानमन्त्रीसम्म बनेर उहाँले राष्ट्रसेवा गरिसक्नुभएको छ । 

अहिले उहाँ पनि पार्टी सभापति हुन्छु भनेर लाग्नुभएको छ । विगतमा उहाँ र उहाँको परिवारले गरेको त्याग, तपस्यालगायतका कुराको कदर गर्ने हो भने, सभापतिमा उपयुक्त पात्र उहाँ (प्रकाशमान सिंह) नै म देख्छु । तर, उहाँका नजिकका वा अग्रज नेताहरुसँग पनि छलफल हुँदै जाला । मुख्य कुरो, अहिलेको अवस्थामा सबल नेतृत्व चयन गर्नु अत्यावश्यक छ ।  

मेरो योगदानको मूल्यांकन गर्दा, म काठमाडौं जिल्लाको सभापतिका नाताले कति काम गर्न सकेँ ? संगठनलाई कतिको मजबुत बनाएँ ? भन्ने कुरा हेर्नुपर्छ । मैले पार्टी र नेता–कार्यकर्ता व्यवस्थापनलाई कस्तो गरेँ भन्ने कुराको जवाफदेही म नै हुँ । जस–अपजसको भागिदार पनि म नै हो । यो किसिमको बुझाइ र भावना गाउँदेखि केन्द्रसम्म पुग्नुपर्यो । एउटा सबल अभिभावकको अनुभूति गराउन सक्ने नेतृत्व अब चाहियो ।

कांग्रेसमा परिवारवादको बहस
कांग्रेसमा परिवारवाद हाबी भएको भन्ने नेपाली राजनीतिमा सुनिएको एउटा तरंग हो, डिबेट हो । परिवारमा सम्पूर्ण कुराहरु सेक्रिफाइस गरेको छ, परिवार नै लोकतन्त्र र प्रजातन्त्रको लागि लागेका छ भने कसलाई ल्याएर नेतृत्व दिने ? भन्ने कुरा निर्क्योल गर्नुपर्छ । पूरा परिवार नै कांग्रेस र लोकतन्त्र भनेर लागेपछि सोही परिवार नेतृत्वमा नगए को जानु ? 

कोही एक नेताको छोरा, जो राजनीति होइन अन्य कुनै व्यवसाय गर्दै आएको छ र बीचमा आएर नेतृत्वको दाबी गर्छ र ऊ सफल पनि बन्छ भने त्योचाहिँ परिवारवाद हो । तर कुनै पनि अरु काममा नलागी संगठनमै होमिएको छ, राजनीतिक यात्रामा लागिरहेको छ, सम्पूर्ण कष्ट बोकिरहेको छ र पछि गएर नेतृत्वमा पुग्यो भने त्यसलाई परिवारवाद भन्न मिल्दैन । परिवार भएका कारणले केही अवसर मिल्न सक्ला, तर त्यही कारणमात्रै नेतृत्वमा भने पुग्नु हुँदैन । अहिले प्रजातन्त्र प्राप्ति भइसकेपछि युवा जुन सुविधामा पार्टीमा आएका छन्, तिनलाई हिजोका कष्टबारे जानकारीचाहिँ दिनुपर्छ । 
 
महाधिवेशन कसरी सक्ने ? 
महाधिवेशनको सबैभन्दा मुख्य चुनौती भनेको पार्टीको क्रियाशील सदस्य विवाद हो । क्रियाशील सदस्यता वितरणमा सामान्य विवाद हुनु स्वाभाविक छ । ठूलो पार्टी भएका कारण कांग्रेसमा यो जहिले पनि हुन्छ । त्यसमा हामीले एउटा परिचय बनाइसकेको मान्छेलाई प्राथमिकता दिन सक्नुपर्छ । बाँकी काम भनेको इच्छाशक्ति हुनुपर्छ, सकिन्छ । संस्थागत रुपमा एउटा निर्णय हुन सक्दा महाधिवेशन सहजै सम्पन्न हुन्छ । जिम्मेवारी बहन गर्न सक्ने नेतृत्व पाएपछि तोकिएको समयमा अधिवेशन गर्न गाह्रो हुँदैन । विधि, विधान र पद्धतिलाई अवलम्बन गर्दै केन्द्रीय समितिका सदस्यहरु बसेर एउटा सहमतिमा पुग्न सक्दा सहज रुपमा महाधिवेशन हुन्छ । 

अहिलेको अवस्था सहज र सबल पनि छ । हिजोको जस्तो महाकालीको मान्छेलाई हुलाकमार्फत् सूचना पठाउनुपर्ने अवस्था छैन । अहिले केही घण्टाको बीचमै सबै काम काम हुन्छ । ७७ जिल्लाको क्रियाशील सदस्यता वितरण सकेपछि अरु काम विधिपूर्वक सम्पन्न हुन्छन् । अधिवेशनलाई प्रभावित गर्नेगरी क्रियाशीलको विवादलाई उत्कर्षमा पुर्याउनु हुँदैन । 

महाधिवेशन सम्पन्न गर्नका लागि महामारीदेखि सबै कुराको संवेदनशील अवस्था आयो भने बेग्लै कुरा । नत्र हिजोको परिस्थितिमा कांग्रेस कहाँ छ भनेर खोज्ने बेलामा पनि महाधिवेशन त गर्या हो नि ! त्यो कुरा सबै नेताहरुलाई थाहा छ । सबै नेता–कार्यकर्तामा सहकार्य र सद्भाव हुँदा महाधिवेशन सहजै हुन्छ । महामारीको अवस्थाका कारण ठूलो भीड गर्न नसकिएला, तर ४/५ हजार जनालाई मतदान गराउन कठिन छैन । सहज उपाय र इच्छाशक्तिले नै कांग्रेसले आफ्नो महाधिवेशन सफलतापूर्ण सम्पन्न गर्न सक्छ । 

आफूभन्दा तल रहेर संगठनमा दुःख गर्ने मान्छेको भावना नबुझ्दा कांग्रेस यो हालतमा पुगेको कुरा कसैबाट लुकेको छैन । यो अवस्थालाई ध्यानमा राखेर कांग्रेसको नयाँ नेतृत्व चुन्न सबैले ध्यान दिनुपर्छ । विधि र विधान अनुसार अघि बढ्दा उत्पन्न परिणामलाई सहज रुपमा लिन नसक्दा पार्टी यो हालतमा पुगेको हो । पार्टीभित्र सर्वत्र विवाद छन्, ती सबैलाई निराकरण गर्नकै निम्ति नयाँ नेतृत्वको आवश्यकता परेको हो । अब त्यो किसिमको नेतृत्व अवश्य आउँछ । विधिविधानमा पार्टी चल्नुपर्छ । कार्यान्वयन गर्ने नेतृत्वले हो । हिजोका दिनमा पार्टीमा देखिएका कमीकमजोरीहरुलाई नेतृत्वले पाठका रुपमा लिँदै अघि बढ्नुपर्छ ।

  • प्रकाशित मिति : असार २७, २०७८ आइतबार १७:५५:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया