नेपाल धितोपत्र बोर्डले नयाँ ब्रोकर कम्पनी थप्न लागेको छ । थपिएका नयाँ कम्पनीले सर्वसाधारणका लागि सेयर (आइपिओ) जारी गर्न पाउने छन् ।
बोर्डले नयाँ धितोपत्र दलाल व्यवसायी (स्टक ब्रोकर) कम्पनीलाई लाइसेन्स वितरणको प्रक्रिया अघि बढाइसकेको छ । बोर्डले ५ सदस्यको कार्यदल गठन गरी एक साताभित्र नियमावलीसहित प्रतिवेदन बुझाउने निर्देशन गत साता नै दिएको हो ।
कार्यदलले बुझाएको नियमावली बोर्ड सञ्चालक समितिले पास गरेपछि मन्त्रालयको स्वीकृतमा नयाँ स्टक ब्रोकरलाई लाइसेन्स वितरण सुरु हुने सेबोनका अध्यक्ष भीष्मराज ढुङ्गानाले जानकारी दिए ।
बोर्डले संघीय संरचना अनुसार सबै प्रदेशिक स्तरको ब्रोकर कम्पनीलाई लाइसेन्स दिने बताइएको छ । जसमा बैंकको सहायक कम्पनीलाई पब्लिकमा नै जाने गरी लाइसेन्स दिइने र अन्यलाई समेत पब्लिकमै जाने गरी लाइसेन्स दिइने उनले बताए ।
‘राष्ट्रिय र क्षेत्रीय दुवै स्तरमा ब्रोकर कम्पनीलाई लाइसेन्स दिइन्छ, नियमावली निर्माण भइसकेपछि कम्पनीको संख्या तय हुन्छ,’ बोर्ड अध्यक्ष ढुंगानाले भने, ‘बैंकको सहायक कम्पनी पब्लिक लिमिटेड नै भएर आउनु पर्छ, पब्लिक लिमिटेड भइसकेपछि आइपिओ जारी गरेर पब्लिकमा जान सक्छन् ।’
नयाँ आउने ब्रोकर कम्पनीले निश्चित पुँजी तोकेर आइपिओ जारी गरेर पब्लिकमा जान पाउने व्यवस्था बोर्डले गर्ने उनको भनाइ छ ।
‘अहिले सञ्चालनमा रहेका ब्रोकर कम्पनी केहीबाहेक सबै प्राइभेट कम्पनी छन्,’ उनले थपे, ‘ती कम्पनीलाई पनि निश्चित समय तोकेर पब्लिकमा जान निर्देशन दिइन्छ भने, पुँजी वृद्धि गरी आइपिओ जारी गर्न पाउने पनि हुन सक्छ तर तत्कालै त्यो व्यवस्थाबारे केही निर्णय भएको छैन ।’
नयाँ लाइसेन्स पाउने कम्पनी सबै संस्थागत नै हुने र निश्चित समयपछि आइपिओ जारी गर्न पाउने उनले बताए । ब्रोकर कम्पनीलाई आइपिओ जारी गर्न पाउने व्यवस्थासम्बन्धी भने थप छलफल आवश्यक रहेको उनको भनाइ छ ।
यसैगरी, नयाँ ब्रोकर कम्पनीलाई लाइसेन्स वितरण गर्दा राष्ट्रिय तथा क्षेत्रीयस्तरमा नै वितरण हुनेछन् । नयाँ ब्रोकर लाइसेन्सका लागि मन्त्रालयबाट नियमावली स्वीकृत भएर आएपछि आवेदन खुलाइने उनले बताए ।
नीति संशोधन आवश्यक
नेपाल धितोपत्र बोर्डले कारोबार गरिरहेका कम्पनीलाई संस्थागत बनाइने बताएको छ । हाल नेपालमा ५० वटा धितोपत्र व्यवसायीले कारोबार गरिरहेका छन् ।
बोर्डले संस्थागत ब्रोकर कम्पनीको अवधारणालाई प्रष्ट रूपमा बुझाउन नसक्दा अन्योल भएको धितोपत्र ब्रोकर बताउँछन् । निश्चित संख्यामा सेयरधनी थप्नुभन्दा सर्वसाधारणमा आइपिओ जारी गरेर पब्लिक बनाउन उपयुक्त हुने नेपाल ब्रोकर एसोसिएसनका अध्यक्ष सन्तोष मैनालीले बताए । तर यसका लागि बोर्डले स्टक ब्रोकरको कारोबारसम्बन्धी पुरानो व्यवस्थालाई संशोधन गर्न आवश्यक रहेको उनको भनाइ छ ।
‘संस्थागत बनाउने भनेको कस्तो हो, त्यो बोर्डले स्पष्ट पार्न आवश्यक छ । अहिले ३/४ वटा ब्रोकर कम्पनीमा एउटा परिवारको स्वामित्व होला,’ अध्यक्ष मैनालीले भने, ‘प्राइभेट वा पब्लिक लिमिटेड दुवै संस्था हुन्, पब्लिकमै लाने हो भने परिवारको स्वामित्वलाई ७ जना सेयरधनी होइन आइपिओ नै जारी गर्न पाउने व्यवस्था गर्नुपर्छ ।’
पारिवारिक स्वामित्वका ब्रोकर कम्पनीलाई निश्चित संख्यामा सेयरधनी थप गरी पब्लिक बनाउने हो भने नयाँ लाइसेन्स वितरणको औचित्य नभएको उनको भनाइ छ ।
‘संस्थागत भनेको सुशासन, पूर्वाधारलगायतको विषय हुन्छन्, यो हामी ब्रोकरको माग नै हो,’ उनले थपे, ‘पुँजी वृद्धि गर्नु पर्ने हो वा प्रविधि ल्याउनु पर्ने हो हामी तयार छौं तर त्यसमा पोलिसी दिनुपर्छ । ब्रोकर कम्पनीका जोखिम व्यवस्थापन, नियमन सुपरीवेक्षण तथा जनशक्ति व्यवस्थापनका लागि बोर्डले संस्था खडा गर्न हामीले विगत १० वर्षदेखि अनुरोध गर्दै आएका छौँ ।’
प्रालिलाई पब्लिक बनाउँदैमा संस्थागत नहुने हुँदा लगानीकर्ताले विश्वास गर्ने सेवाको गुणस्तर वृद्धि गर्ने नीति निर्माण गरी कार्यान्वयन बोर्ड गराउन पर्ने उनको बुझाइ छ ।
अहिले ब्रोकर कम्पनीका सेयरधनीले आफ्नोबाट कारोबार गर्न नपाउने व्यवस्था छ । बोर्डले सबै ब्रोकर कम्पनीलाई पब्लिकमा बनाउँदा सो व्यवस्थाले सेयर कारोबारमा संकुचन ल्याउने उनको भनाइ छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।