कांग्रेसबाट को को हुँदैछन् मन्त्री ?

सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश दिएसँगै आज साँझ उनले राष्ट्रपति कार्यालयमा प्रधानमन्त्रीको सपथ लिने कार्यक्रम तय भएको छ । 

यसअघि सोमबार सर्वोच्चको फैसला आएलगत्तै कोटेश्वरमा बसेको विपक्षी गठबन्धनको बैठकमा देउवालगायत नेताहरुले यसपटक मन्त्रीमण्डल सानो आकारको बनाउने सहमति गरेका थिए ।

त्यही सहमतिअनुसार आज देउवासहित पाँच जना मन्त्रीले सपथ लिने कार्यक्रम रहेको बताइएको छ । यसका लागि नेकपा माओवादी केन्द्रले दुई जना मन्त्री पठाउने छ । माओवादी केन्द्रले कसलाई मन्त्री बनाउने भन्ने विषयमा छलफलका लागि केही समयमा नै स्थायी कमिटी बैठक बोलाएको छ । स्रोतका अनुसार माओवादी केन्द्रबाट आज वर्षमान पुन र जनाद्र्धन शर्मा प्रभाकरले मन्त्री पदको सपथ लिँदैछन् । उनीहरुलाई कुन मन्त्रालयको जिम्मेवारी दिइने भन्ने विषयमा अहिलेसम्म निर्णय भइसकेको छैन ।

यता, कांग्रेस सभापति देउवाले पनि मन्त्रीमण्डलको विषयमा छलफल गर्न पदाधिकारी बैठक बोलाएका छन् । पदाधिकारी बैठकले नै आज बन्ने मन्त्रीहरुको नाम तय गर्ने बताइएको छ । 

तर, यसअघि नै नेपाली कांग्रेसबाट मन्त्री बन्नेहरुको नामको चर्चा आइसकेको छ । नेपाली कांग्रेसबाट ज्ञानेन्द्र कार्कीलाई अर्थ मन्त्रालयको जिम्मेवारी दिन सकिने बताइएको छ । कार्की यसअघि पनि अर्थमन्त्री भइसकेका थिए । नेपाली कांग्रेसमा देउवाका निकट कार्कीलाई आजै सपथ खुवाउने कार्यक्रम रहेको बताइएको छ । 

त्यस्तै, कांग्रेस नेता मीनेन्द्र रिजालले पनि आज मन्त्री पदको सपथ लिने तय भएको कांग्रेसका एक नेताले फरकधारलाई बताए । रिजाललाई सूचना तथा सन्चार मन्त्रालयको जिम्मेवारी दिने र सरकारको प्रवक्ता तोक्ने तयारी रहेको ती नेताले बताए ।



आज साँझ आफूले प्रधानमन्त्री पदको सपथ लिँदा देउवाले यी चार मन्त्रीलाई जिम्मेवारीसहित नियुक्त गर्ने सम्भावना रहेको बताइएको छ ।



  • प्रकाशित मिति : असार २९, २०७८ मंगलबार ९:२४:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया