मन्त्री पठाउन जसपाले एक साता कुर्ने

सर्वोच्च अदालतले प्रधानमन्त्रीमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई नियुक्त गर्न परमादेश दिएसँगै आज साँझ राष्ट्रपति कार्यालय शितल निवासमा देउवाले प्रधानमन्त्रीको सपथ लिँदैछन् ।

सोमबार सर्वोच्च अदालतको फैसला आएसँगै विपक्षी गठबन्धनका नेताहरु कोटेश्वरमा भेला भएका थिए । छलफलमा अब बन्ने सरकारको विषयमा पनि चर्चा भएको थियो ।

यही छलफलमा वेटिङ प्राइममिनिस्टर शेरबहादुर देउवाले विपक्षी गठबन्धनका दलहरु सबैलाई सरकारमा आउन आह्वान गरेका थिए । तर, विपक्षी गठबन्धनबाट आफूहरु अहिले अलग हुने नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले बताएका थिए । त्यसैले पनि माधव नेपाल पक्षधर अब सरकारमा सहभागी हुने सम्भावना रहेको छैन ।

अर्कोतिर, माओवादी केन्द्र सरकारमा सहभागी हुने निर्णयमा गइसकेको छ । अब माओवादी केन्द्रले यो सरकारमा आजै कम्तिमा दुई जनालाई मन्त्रीमा पठाउने तयारी गरेको छ । यसका लागि पेरिसडाँडामा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बोलाइएको छ ।

विपक्षी गठबन्धनको अर्को दल जसपा भने आजै सरकारमा सहभागी नहुने भएको छ । जसपामा पछिल्लो समय देखिएको किचलोका कारण ऊ अहिले तत्काल सरकारमा सहभागी नहुने भएको हो । केही दिनअघि मात्र जसपाका नेताहरु निर्वाचन आयोग पुगेर आफ्नो दललाई विभाजन गर्न निवेदन दिएका थिए । यसको टुंगो लागेपछि मात्र जसपा सरकारमा सहभागी हुने निर्णयमा पुगेको हो ।

जसपाका नेता डा. बाबुराम भट्टराईले देउवालाई यही सन्देश दिएको छलफलमा सहभागी एक नेताले फरकधारलाई बताए । ‘उहाँहरु पहिले पार्टीको आन्तरिक विवाद समाधान गर्न चाहनुहुन्छ,’ उनले भने, ‘त्यसैले उहाँहरुले एक साता वा त्योभन्दा केही दिन बढीको समय माग गर्नु भएको छ ।’





  • प्रकाशित मिति : असार २९, २०७८ मंगलबार ९:४०:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया