[सम्पादकीय] शेरबहादुर देउवाको अबको बाटो

सोमबार सर्वोच्च अदालते विघटित प्रतिनिधिसभालाई ब्युँताएको मात्रै छैन, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश समेत दिएको छ । अदालतको यो आदेश आएसँगै आजै प्रधानमन्त्रीमा देउवाले सपथ लिने कार्यक्रम तय भएको छ । योसँगै देउवा पाँचौ पटक नेपालका प्रधानमन्त्री हुने भएका छन् ।

प्रधानमन्त्री ओलीको संसद् विघटनसम्बन्धी निर्णय असंवैधानिक रहेको ठहर गर्दै विपक्षी गठबन्धनले १४९ जना सांसदको हस्ताक्षरसहित देउवालाई प्रधानमन्त्री बनाउन राष्ट्रपतिसमक्ष अनुरोध गरेको थियो । त्यो हस्ताक्षरमा विधि नपुगेको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारी फिर्ता गरिदिएकी थिइन् । अहिले सर्वोच्चले नै देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिएपछि नयाँ सरकार बनाउने बाटो सहज हुन पुगेको हो ।

देउवाको नेतृत्वमा नेपाली कांग्रेससहित एमाले (माधव–झलनाथ समूह), माओवादी केन्द्र, जनता समाजवादी (उपेन्द्र यादव पक्ष)लगायतका दलले संसद् विघटनका साथै सरकारका अन्य कदमको विरोध गर्दै आएका हुन् । अब बन्ने नयाँ सरकारमा गठबन्धनमा रहेका सबैलाई खुसी पार्नु देउवाको दायित्व हुने छ । यस्ता दायित्व पूरा गर्ने नाममा जम्बो मन्त्रिमण्डल, विगतमा खराब कार्यशैलीका कारण बदनाम पात्र वा व्यभिचारीलाई सरकारमा समावेश गराउनु नहुने कुरा देउवाले हेक्का राख्नुपर्छ ।

यतिमात्र होइन, चारचारपटक प्रधानमन्त्री बनिसकेका देउवाको विगत उति राम्रो छैन । कहिले प्रजातन्त्र किस्तीमा राखेर दरबारलाई बुझाएको त कहिले पार्टी फुटाएको अनि सांसद किनबेच गरेर सत्ता जोगाएको जस्ता आरोप उनलाई लाग्दै आएको छ । यसकारण पनि उनले आफ्ना कार्यशैली परिवर्तन गर्नु अत्यावश्यक छ । समयले एक पटक पुनः देउवालाई इतिहास बनाउने मौका दिएको छ । किनकि, झण्डै दुईतिहाइको बहुमत पाएको वामपन्थी सरकारले मुलुकमा स्थिरता र दिगो विकासका साथै जनहितको काम गर्न नसक्नाले ओलीको ख्याति ओरालो लागिरहेको छ । अब देउवाले मिलिजुली सरकार बनाएर मुलुकको राजनीति स्थिर पार्न सक्नुपर्छ । चुनौती बग्रेल्ती छन्, देउवासामु । चुनौती चिर्न सक्नु नै सफल राजनेताको गुण हो ।

निश्चित रुपमा मुलुकको राजनीति पुनः एक पटक अस्थिर, धमिलो र अविश्वसनीय बन्न पुगेको छ । सबै दलका नेताले भन्दै आएको स्थिर सरकार (झण्डै दुईतिहाइ)को सुनौलो मौका पाएको वामपन्थी दलले राजनीति झनै अस्थिर बनाइदिएको छ । यो यथार्थ बुझेर मुलुककै पुरानो र सबैभन्दा ठूलो लोकतान्त्रिक दल नेपाली कांग्रेसले राजनीतिलाई लिकमा ल्याउने अभिभारा प्राप्त गरेको छ । यो प्राप्ति चानचुने होइन, एकप्रकारले यो अवसर पनि हो । यो अवसरलाई नेता देउवाले सफल बनाउन सक्ने हो भने, विगतमा धमिलिएको उनको छवि त उज्यालिने छ नै साथमा देशले पनि गति पक्रने छ । 

आवधिक निर्वाचनको तिथि आउन अब करिब १७ महिना मात्र बाँकी छ । सत्ता स्वार्थका कारण मितिअगावै निर्वाचन गराउन खोज्ने ओलीको दुई पटकको प्रयासलाई सर्वोच्च अदालते असफल बनाइदिएको छ । देउवाले विश्वासको मत लिँदै आवधिक निर्वाचनतर्फ कदम बढाउनु व्यावहारिक हुने छ । साथै, ओलीको असफलताबाट देउवाले एउटा गतिलो पाठ सिक्नु जरुरी छ, त्यो के हो भने– आफ्नो कुर्सी जोगाउन जनचाहना लत्याउँदै जे मन लाग्यो त्यो गर्नु हुँदैन ।



देश यतिखेर गम्भीर मोडमा उभिएको छ । यसकारण पनि अहिले नै देउवाको विगत हेर्दै उनलाई हतोत्साही बनाउनु हतार हुने छ । सत्तामोह, स्वार्थ, आसेपासेका गलत सल्लाहजस्ता कारणले नेताहरुको राजनीति छवि बिग्रन्छ, अलोकप्रिय बन्न पुग्छ । नेपालका अधिकांश नेतामा यो तथ्य लागू हुन्छ । मौका मानिसको जीवनमा पटकपटक आउँदैन, तर नेपाली राजनीतिमा देउवा यस्ता पात्र हुन्– जसले सत्ता आरोहणको मौका पटकपटक पाएका छन् । देश राजनीतिक संक्रमणको जालोमा फसेका बखत उनको हातमा राजनीतिक बागडोर पुनः आइपुगेको छ । यो अवसरलाई देउवाले खेर नफालून्, सफल बनाएर देखाउन् र आफ्नो तथा नेपाली कांग्रेस पार्टीप्रतिको जनविश्वास फर्काउन सकून् ।



  • प्रकाशित मिति : असार २९, २०७८ मंगलबार १३:३२:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया