युरो कप २०२० लाई फर्केर हेर्दा

युरोपियन फुटबलको सबैभन्दा ठुलो प्रतियोगिता युरो कप सम्पन्न भएको छ । जुन ११ देखि सुरु भएको प्रतियोगिताको १६ औँ संस्करण इटालीलाई विजेता बनाउँदै जुलाई ११ मा सकिएको हो । युरोपका विभिन्न ११ सहरमा आयोजना भएको युरो कप फाइनल इङ्ल्यान्डको लन्डनस्थित वेम्बली स्टेडियममा खेलाइएको थियो । 

इटालीले घरेलु टोली इङ्ल्यान्डलाई पेनाल्टी सुट आउटमा ३-२ ले पराजित गर्दै दोस्रोपटक युरो कप उपाधि हात पार्‍याे । यसअघि उसले सन् १९६८ मा युरो उपाधि उचालेको थियो । निर्धारित ९० मिनेट र अतिरिक्त समयमा १-१ को बराबरीमा सकिएपछि खेलेको निर्णय पेनाल्टी सुट आउटबाट लिइएको हो । 

यो युरोमा केही घटना निकै चर्चामा आए । यहाँ यस्तै केही घटनाको चर्चा गरिएको छ । 

विश्व फुटबललाई जोड्ने एरिक्सनको त्यो घटना

युरो कपको तेस्रो खेलमै डेनमार्क तथा विश्व फुटबल प्रेमीले दुखद् घटनाको सामना गर्नुपर्‍याे।

युरो कप समूह ‘बी’ अन्तर्गत जुन १२ मा घरेलु टोली डेनमार्कले फिनल्यान्डको सामना गरिरहेको थियो । ४२ औँ मिनेटसम्म खेल सामान्य रूपमा चलिरहेको थियो। खेलको ४२ औँ मिनेटमा खेलको स्वरूपनै बदलिन पुग्यो । टच लाइन नजिकै रहेका डेनमार्कका मुख्य खेलाडी क्रिस्टियन एरिक्सन अचानक मैदानमा बेहोस भएर ढले।



यो विश्व फुटबलका लागि निकै पीडादायी क्षण थियो । यो घटनापछि  खेलाडी  मात्र नभएर मैदानमा उपस्थित दर्शकको आँखा पनि आँसुले भरिएको थियो । रेफ्री एन्थोनी टेलरले तत्कालै खेल रोके र केही बेर मैदानमै प्राथमिक उपचार गरेर थप उपचारका लागि एरिक्सनलाई अस्पताल लगियो । एरिक्सनलाई के भएको हो भन्ने कुरामा सबै अन्योलमा थिए । अस्पताल पुगेपछि मात्र उनलाई हृदयघात भएको हो पुष्टि भन्ने भयो । 

एरिक्सनको यो घटना निकै पीडादायी क्षण भए पनि यसले विश्व फुटबललाई जोड्ने काम भने गर्‍याे । विश्व फुटबलका समर्थकदेखि लिएर नाम चलेका खेलाडीले समेत विभिन्न  माध्यमबाट एरिक्सनको स्वास्थ्य लाभको कामना गरे ।
 
करिब डेढ घन्टा रोकिएपछि खेल पुन : सुचारु भयो तर डेनमार्क त्यसका लागि तयार थिएन भन्ने प्रस्ट देखिन्थ्यो । जसले गर्दा खेल डेनमार्कले १-० ले गुमायो । यो कुनै टोलीको हार जितभन्दा पनि फुटबलले जितेको दिन थियो । 



खेलको भोलिपल्ट अधिकांश सञ्चारमाध्यममा ‘डेनमानर्कले खेल हारे पनि एउटा ज्यान बच्यो’ भन्ने शीर्षकमा समाचार प्रकाशित भएको थियो । 

रोनाल्डोको कीर्तिमान र कोका कोला प्रकरण

युरो कपमा सवैभन्दा बढी चर्चामा आएका खेलाडी हुन्- पोर्चुगलका कप्तान क्रिस्टियोना रोनाल्डो । 

उनले युरो कपमा हंगेरी विरुद्धको खेलमै विभिन्न कीर्तिमान आफ्नो नाममा गराए । उनी उक्त खेलबाट ५ युरो कप खेल्ने पहिलो तथा एक्लो खेलाडी बने । हंगेरीविरुद्ध गोल गर्दै युरोकपका लगातार ५ संस्करणमा गोल गर्ने पहिलो खेलाडी पनि बने । त्यस्तै उनी युरो कपमा सर्वाधिक गोल गर्ने र जित हात पर्ने खेलाडी बने । 

रोनाल्डो युरो कपमा सर्वाधिक २४ खेल खेल्ने खेलाडी पनि हुन् । उनले फ्रान्सविरुद्ध दुई गोल गर्दै सर्वाधिक अन्तर्राष्ट्रिय गोल गर्ने कीर्तिमानसँग पनि बराबरी गरे।रोनाल्डो र इराकका अली दाइले समान १०९ अन्तर्राष्ट्रिय गोल गरेका छन् । प्रतियोगितामा ५ गोल गरेका उनले युरो कपको गोल्डेन बुट पनि प्राप्त गरे । 

कोका कोला प्रकरण 

कोका कोला प्रकरणले पनि रोनाल्डोलाई चर्चा दिलाउने काम गर्‍याे । उनले हंगेरी विरुद्धको खेलअघिको पत्रकार सम्मेलनमा कोका कोलाको बोटल हटाउँदै पानीको बोटल देखाएका थिए । रोनाल्डोको यो कार्यले निकै चर्चा कमायो । यसको प्रत्यक्ष असर कोका कोलाको बजार मूल्यमा पर्‍याे । यो घटनापछि कम्पनीले एक दिनमा ४ बिलियनभन्दा बढीको घाटा व्यहोर्नुपर्‍याे । 

यसपछि  फ्रान्सका पउल पोग्वाले हाइनिकन बियरको तथा  इटालीका म्यानुएल लोकाटेलीले कोका कोलाको बोटल हटाएका थिए । खेलाडीबाट यस्ता घटना दोहोरिन थालेपछि युइएफएले पुन: यस्तो कार्य भएमा फुटबल संघलाई कारबाही गर्ने चेतावनी पनि दिएको थियो । 

आत्मघाती गोलले बनाएको कीर्तिमान

युरो कपको १६ औँ संस्करणमा विभिन्न कीर्तिमान बने र तीमध्ये एक हो- आत्मघाती गोल । प्रतियोगितामा ११ आत्मघाती गोल भए । जुन युरो कप इतिहासको अघिल्ला १५ संस्करणभन्दा २ गोलले बढी हो । 

युरो कपका अघिल्ला १५ संस्करणमा मात्र ९ आत्मघाती गोल भएका थिए । युरो कपको इतिहासमा पहिलो आत्मघाती गोल गर्ने खेलाडी हुन्- एन्टोन ओन्डरुस । तत्कालीन चेकोस्लोभाकियाका यी खेलाडीले सन् १९७६ युरो कपमा नेदरल्यान्ड विरुद्ध आत्मघाती गोल गरेका थिए ।

सन् १९९६, २००० र २०१२ को युरोमा समान १-१ आत्मघाती गोल हुँदा २००४ र २०१६ को युरोमा क्रमश २ र ३ आत्मघाती भए । 

युरो २०२० पहिलो गोल नै आत्मघाती भएको थियो । इटालीविरुद्ध उद्घाटन खेलमा टर्कीका मेरिह डेमिरले आफ्नै पोस्टमा गोल गरेका थिए । युरो कप इतिहासमा पहिलो गोल नै आत्मघाती भएको यो पहिलोपटक हो । 

पोर्चुगल र जर्मनी तथा स्पेन र स्लोभाकियाबीचको खेलमा समान २-२ आत्मघाती गोल भए ।

जर्मनीविरुद्ध पोर्चुगलका रुवेन डाइस र राफेल गुरेरा तथा स्पेनविरुद्ध स्लोभाकियाका मार्टिन डुब्राभ्का र जुराज कुच्काले आत्मघाती गोल गरे । 

डेनमार्क, पोल्यान्ड, स्पेन, जर्मनी, फिनल्यान्ड र स्विट्जरल्यान्डका १-१ खेलाडीले पनि आत्मघाती गोल गर्न पुगे । 

डेनिस गोलरक्षक कास्पर स्माइकलमाथि लेजर लाइट प्रयोग 

डेनमार्क विरुद्धको सेमिफाइनलमा इंग्ल्यान्डका समर्थकले खेल भावना विपरितका कार्य गरेका थिए । यो खेलमा उनीहरूले डेनिस गोलरक्षक कास्पर स्माइकलमाथि लेजर लाइट देखाउने, खेलका दौरान मैदानमा अर्को बल फाल्ने, राष्ट्रिय गानको समयमा होहल्ला गर्दै अशान्ति फैलाउनेजस्ता कार्य गरेका थिए । 

युइएफएले यो घटनाको छानबिन गदै इंग्ल्यान्ड फुटबल संघलाई ३० हजार युरो जरिवाना पनि लगाएको थियो । 

गोल गर्न चुकेका स्टार खेलाडी

यो युरो कप केही स्टार खेलाडीका लागि भने बिर्सिनलायक रह्यो । उनीहरूबाट निकै आशा गरिएको भए पनि प्रदर्शन भने उत्कृष्ट हुन सकेन । 

वेल्सका कप्तान गारेथ बेल, जर्मनीका थोमस मुलर, बेल्जियमका इडेन हजार्ड, फ्रान्सका केलियन एमबाप्पे, पोर्चुगलका ब्रुनो फर्नान्डेजजस्ता विश्व फुटबलमा नाम चलेका खेलाडीको प्रदर्शन यो युरोमा फिक्का रह्यो । 

यीमध्ये सबैभन्दा बढी चर्चामा आए केलियन एमबाप्पे । फ्रान्सलाई सन् २०१८ को विश्व विजेता बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका उनका लागि युरो बिर्सनलायक रह्यो । एम्बाप्पेले स्विट्जरल्यान्डविरुद्ध पेनाल्टीमा गोल गर्न नसक्दा फ्रान्स अन्तिम-१६ बाटै बाहिरिएको थियो । 

अन्डर डग टोलीहरूको उदय

यो युरोकपमा अन्डरडग टोलीले राम्रो प्रभाव छाड्न सफल भए । उपाधि दावेदार मानिएका फ्रान्स, पोर्चुगल, जर्मनीजस्ता टोली अन्तिम-१६ बाटै बाहिरिँदा क्वाटर फाइनलमा पुग्ने ८ मध्ये ४ अन्डरडग टोली थिए ।

डेनमार्क, चेक गणतन्त्र, स्विट्जरल्यान्ड र युक्रेन क्वाटरफाइनलमा प्रवेश गर्ने अन्डरडग टोली हुन् । तीमध्ये डेनमार्कले सेमिफाइनलमा स्थान बनाउन सफल भयो । 

११ सहरमा आयोजना  

सन् १९६० बाट सुरु भएको युरो कप पहिलो पटक ११ सहरमा आयोजना भएको हो । इटालीको रोमबाट सुरु भएको युरो कप इंग्ल्यान्डको लन्डनस्थित वेम्बली स्टेडियममा पुगेर समाप्त भएको थियो । 

यसपटकको युरो कप आयोजना गर्ने जिम्मा इटालीको रोम, नेदरल्यान्डको आमस्टरडम, अजरबैजानको बाकु, रोमानियाको बुकारेस्ट, हंगेरीको बुडापेस्ट, डेनमार्कको कोपेनहेगन, स्कटल्यान्डको ग्लास्गो, रसियाको सेन्ट पिटर्सबर्ग, जर्मनीको म्युनिख र इंग्ल्यान्डको लन्डनले पाएका थिए । 

इटालीलाई ५२ वर्षपछि युरो कप उपाधि

आइतबार राति वेम्बली स्टेडियममा घरेलु टोली इंग्ल्यान्डलाई पेनाल्टी सुट आउटमा ३-२ ले पराजित गर्दै इटालीले ५२ वर्षपछि युरो कप उचाल्यो । यसअघि उसले सन् १९६८ को युरो कप जितेको थियो । 

 यी बाहेक

इंग्ल्यान्डका जुडो बेलिङ्घमले जुन १३ मा क्रोएसियाविरुद्ध मैदान उत्रिँदै युरो कप खेल्ने कान्छा खेलाडीको कीर्तिमान कायम गरेका थिए । क्रोएसिया विरुद्ध मैदान उत्रिँदा बेलिङ्घमको उमेर १७ वर्ष ३४९ दिन थियो । उनले सन् २०१२ मा नेदरल्यान्डका जेट्रो विलियम्सले बनाएको १८ वर्षको कीर्तिमान भंग गरे ।

बेलिङ्घमको यो कीर्तिमानलाई जुन २० मा स्पेनविरुद्ध १७ वर्ष २४६ दिनको उमेरमा मैदान उत्रिँदै पोल्यान्डका कास्पर कोजलोस्कीले तोडे । 

युरोमा फिनल्यान्ड र उत्तरी म्यासेडोनियाले डेब्यु गरे तर उनीहरूले समूह चरण भने पार गर्न सकेनन् । अस्ट्रियाले पहिलोपटक युरो कपको क्वाटरफाइनलमा स्थान बनायो । 

इंग्ल्यान्डले ५५ वर्षपछि जर्मनीलाई पराजित गर्न सफल भयो तर पहिलोपटक  युरो फाइनल पुगेको उसले उपाधि भने हात पार्न सकेन । युरो कपमा १७ पेनाल्टी दिइयो जसमा १० सदुपयोग हुँदा ७ मिस भयो । फ्रान्स र पोर्चुगलबीचको खेलमा सर्वाधिक ३ पेनाल्टी दिइएको थियो । 

(एजेन्सीहरूकाे सहयाेगमा)

  • प्रकाशित मिति : असार २९, २०७८ मंगलबार १४:५३:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया