काेराेना खाेपमा राजनीति: चीन जान चीनकै, युरोप जान युरोपकै खोप लगाउनुपर्ने
वैदेशिक रोजगारीमा जानेलाई समस्या

चीनले आफ्नो देशमा उत्पादन भएको खोप लगाएपछि मात्रै चीन प्रवेश गर्न दिने नीति लिएको। चीन सरकारले सबै देशलाई पत्र पठाउँदै आफ्नो देशको खोप लगाएकाले मात्र चीन प्रवेश गर्न पाउने जानकारी गराएको छ।

चीनले उक्त नीति बनाएसँगै चीनकै अनुदानमा आएको खोप चीन जान खोज्नेहरूलाई दिइएको थियो। चीनले १५ मार्च सन् २०२१ मा एक विज्ञप्ति जारी गर्दै चिनियाँ कम्पनीले उत्पादन गरेको खोप लगाएकालाई मात्र भिषा दिने भनेको थियो। 

चीन सरकारको निर्देशनमा काठमाडौंस्थित चिनियाँ दूतावासले भनेको छ,– ‘दूतावासले ती भिषा आवेदकहरुलाई सहजीकरण गर्नेछ, जसले चीनमा निर्मित कोभिड–१९ विरुद्धको खोप लिएको प्रमाणपत्रसहित निवेदन दिएका हुनेछन्।’

चीनले नेपालमा मात्र नभएर अन्य देशलाई पनि यही आशयको पत्र पठाइसकेको छ। यस्तो पत्रपछि चीनले अनुदानमा दिएको ८ लाख डोज खोप चीन पढ्न जाने विद्यार्थी, चीनसँग व्यापार गर्ने व्यापारी, चीनको सीमा नजिकका स्थानीयलाई लगाइएको थियो। 

अनुदानमा आएको थप १० लाख डोज खोपमा पनि चीनसँग सीमा जोडिएका क्षेत्रका बासिन्दालाई प्राथमिकतामा राखेर खोप दिएको थियो।

युरोपियन युनियनले आफ्नो युनियनमा आवद्ध देशभित्र उत्पादन गरिएका खोप लगाएकालाई मात्र युरोपमा प्रवेश दिने निर्णय गर्यो। इयुमा आवद्ध देशले यस्तो निर्णय गरेपछि युरोप जानेहरू मर्कामा परेका छन्। 



इयुले भारतमा सेरम इन्स्ट्यिुटले उत्पादन गरेको कोभिशिल्ड खोपलाई मान्यता नदिने निर्णय गरेको छ। भारतीय खोपको विश्वास नरहेको भन्दै यस्तो निर्णय गरेको थियो।

इयुको चिकित्सा कार्यालयले युरोपेली आयोगलाई भारतीय लगायतका केही खोप लगाएकालाई यूरोप प्रवेशमा अनुमति नदिने सिफारिस नै गरेको थियो। 



त्यस्तै युएईले पनि आफ्नो देशले प्रयोगको अनुमति दिएको कम्पनीको खोप लगाएकालाई मात्र प्रवेश अनुमति दिने जनाएको छ। युएईको स्वास्थ्य मन्त्रालयले फाइजर–बायोटेक, स्पुतनिक–५, सिनोफार्म, अक्सफोर्ड–अस्ट्राजेनेका खोपलाई मात्र मान्यता दिएको छ। जसले गर्दा युएईमा वैदेशिक रोजगारीका लागि जाने तयारीमा रहेका धेरै नेपाली अन्योलमा परेका छन्। 

त्यस्तै कुवेतले पनि नेपालबाट कामदार लगेको छैन। नयाँ भिषा पनि जारी गरेको छैन। कुवेतले पनि आफ्नो देशले अनुमोदन गरेको खोप लगाएकालाई मात्र प्रवेश अनुमति दिने नीति लिएको छ। कुवेतले अक्सफोर्ड–अस्ट्राजेनेका, फाइजर, मोडर्ना र जोनसन एन्ड जोनसनलाई अनुमति दिएको छ।

यो खोप लगाएका बाहेकलाई मान्यता नदिने कुवेतको तयारी छ। खोप नलगाएकाको भिषा सेप्टेम्बरदेखि नवीकरण नगर्ने कुवेतले प्रष्ट पारेको छ। 

त्यस्तै साउदी अरबले पनि खोप नलगाएकालाई प्रवेश निषेध गरेको छ। उसले  खोप नलगाएका यात्रुलाई नबोक्न एयरलाइन्स कम्पनीहरूलाई निर्देशनात्मक आदेश जारी गरिसकेको छ। 

साउदी प्रवेश गर्ने यात्रुले बोर्डिङ पास लिने बेला खोप लगाएको प्रमाणपत्र पेस गर्नुपर्ने हुन्छ। बिनाखोप काम गरेको भेटिएमा जरिवाना, निलम्बनदेखि डिपोर्टसम्म गर्नसक्ने नीति साउदी सरकारले ल्याएको छ। 

कतिपय खोप उत्पादन देशहरूले आफ्नो क्षेत्रमा उत्पादन भएको खोप लगाएकालाई मात्र प्रवेश दिने नीति बनाइरहेका छन्। जसले गर्दा नेपालजस्तो अर्को देशको खोप प्रयोग गर्नुपर्ने मुलुकका नागरिकलाई निकै समस्या परिरहेको जनस्वास्थ्यविद् डा. बाबुराम मरासिनी बताउँछन्। 

‘यो अवस्था आउनु भनेको हाम्रो लागि दुर्भाग्यको कुरा हो। यसमा नेपाल कडा रूपमा प्रस्तुत हुन सक्नुपर्छ’ मरासिनीले डा.भने, ‘नेपालले सबै देशसँग गम्भीर रूपमा समीक्षा गरेर अगाडि बढ्नुपर्छ।’ 

विदेश घुम्न भ्याक्सिन पासपोर्ट अनिवार्य

अमेरिका लगायत अन्य ठूला देशले आफ्नो देशमा घुम्न आउने पर्यटकका लागि भ्याक्सिन पासपोर्ट अनिवार्य गरेका छन्। उनीहरूले खोपबारे जानकारी दिनेगरी स्मार्टफोन एप विकास गरेका छन्। आफ्नो देशमा घुम्न आउनेका लागि डिजिटल स्वास्थ्य प्रमाणपत्र देखाएर मात्र प्रवेश दिन थालेका हुन्। 

कागजपत्र बोकेर हिड्न नसकिने भन्दै ति देशले प्रविधिमा आधारित स्मार्टफोनको विकास गरेका हुन्। धेरै जसले देशले कोभिड भ्याक्सिनलाई अनिवार्य गरेसँगै नेपालले पनि त्यसलाई अनुसरण गरेको छ। 

विदेश यात्राका लागि सहज होस भनेर सरकारले खोप कार्डमा सम्पूर्ण जानकारी दिने गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संसारभर नै कोभिड खोप लगाएकालाई मात्र भिषा दिने प्रक्रिया थालेको भन्दै त्यही अनुसार नेपालले पनि तयारी गरेको जनाएको छ। 

वैदेशिक रोजगारीमा जानेलाई अनिवार्य खोप

अधिकांश नेपालीहरू वैदेशिक रोजगारीका लागि खाडी मुलुक जान्छन्। ती मुलुकहरूले समेत खोप अनिवार्य गरेका छन्। विदेशमा रहेका नेपालीले विदेशमै खोप लगाइरहेका छन्। अब नेपालबाट जानेले भने खोप लगाए मात्र जान पाउनेछन्।

खाडी मुलुकहरू कतार, साउदी अरब, युएई, मलेसिया लगायतका देशले उक्त देशमा प्रयोग अनुमति दिएको खोप लगाएकालाई मात्र भिषा दिने प्रष्ट पार्दै आएका छन्। नेपालमा हालसम्म कोशिल्डि, भेरोसेल खोप मात्र लगाइएको छ। 

अमेरिकाले अनुदानमा दिएको १५ लाख डोज जोनसन एण्ड जोनसन खोप केहीदिनबाट लगाइनेछ। कतार बाहेका खाडी मुलुकले आफ्नो देशले मान्यता दिएको खोप लगाएकोलाई मात्र भिसा दिने गरेको नेपाल वैदेशिक रोजगार व्यवसायी संघका कार्यवाहक अध्यक्ष कमल तामाङले बताए।

डब्लूएचओले मान्यता दिएको जुनसुकै खोप लगाएपनि सबै देशले अनुमति दिनुपर्नेमा केही देशले यस्तो खालको निर्णय गरेको उनको भनाइ छ। 

कतारले भने अहिले खोप भन्दा पनि १४ दिन क्वारेन्टिन बस्नुपर्ने अनिवार्य व्यवस्था गरेको छ। त्यो बाहेक, युएई, साउदी अरब मलेसिया, कुवेत लगायतका खाडी मुलुकले आफ्नो देशले अनुमति दिएको खोप लगाएकालाई मात्र मान्यता दिएको उनको भनाइ छ। 

ती देशको यस्तो खालको निर्णयले निकै समस्या भइरहेको कार्यवाहक अध्यक्ष तामाङले बताए। ‘डब्लुएचओलाई मान्ने। तर, उसले अनुमति दिएको खोपलाई मान्दैनौं भन्नु कतिको जायज हो ? यो ठूला देशको खोप राजनीति हो’ उनी भन्छन्। 

यो समस्या समाधानका लागि राज्यले नै सम्बन्धित देशसँग प्रष्ट कुरा गर्नुपर्ने उनको भनाइ छ। ‘खोप नपाएका कारण वैदेशिक रोजगारीमा जानेहरूलाई फर्काइएको छ। यसका लागि सरकारले नै अग्रसर हुनुपर्थयो। तर, यहाँ खोप भन्दासत्ताको खेल मात्र भइरहेको छ।’ तमाङ भन्छन्।

खोप अनिवार्य नगर्न डब्लुएचओको आग्रह

विश्व स्वास्थ्य संगठनल (डब्लुएचओ) ले विदेश यात्राका लागि खोपलाई अनिवार्य नगर्न आग्रह गरेको छ। सबै देशमा खोप पुगिनसकेको र समान रुपमा वितरण समेत नभइसकेको अवस्थामा अन्तर्राष्ट्रिय यात्रामा खोपलाई अनिवार्य नगर्न डब्लुएचओले आग्रह गरेको हो। 

विश्वभर अझै पनि खोपको सहज वितरण हुन नसकेको भन्दै डब्लुएचओले यात्रामा खोप अनिवार्य गर्न नहुने बताएको छ।

डब्लुएचओका स्वास्थ्य आपतकालिन कार्यक्रमका कार्यकारी निर्देशक डा. माइकल रियानले आफ्नो देशमा उत्पादन भएको खोप लगाएकालाई मात्र अनुमति दिन्छु भन्नु तर्कसंगत नरहेको बताए। 

उनले सञ्चार माध्यमसँग कुरा गर्दै डब्लुएचओले अनुमति दिएका सबै खोप लगाएकालाई हरेक देशले निर्वाध प्रवेश दिनुपर्ने बताए। त्यो खोप लगाएकालाई यात्रामा रोक लगाउन नहुने प्रष्ट पारे। 

बुधबारदेखि खोप अभियान 

चीनबाट खरिद गरेको ८ लाख डोज र अमेरिकाले कोभ्याक्स सुविधामार्फत दिएको १५ लाख डोज बुधबारदेखि लगाइँदैछ। चीनबाट खरिद गरिएको भेरोसेल खोप विदेश जाने नेपालीले पनि लगाउन पाउनेछन्। खोप अनिवार्य गरेका देशमा जाने नेपालीले भेरोसेल लगाउन पाउने स्वास्थ्य सेवा विभागले जनाएको छ। 

भेरोसेल खोप ५५ वर्ष र सो माथिका उमेर समूहलाई समेत लगाइनेछ। विश्वविद्यालय, विद्यालयका प्राध्यापक, शिक्षक र कर्मचारीहरु, सार्वजनिक यातायातमा कार्यरत चालक र सहचालकलाई समेत पहिलो डोज दिइनेछ। 

यस्तै एक डोज मात्र लगाए पुग्ने जानेसन एण्ड जोनसन खोप ५० देखि ५४ वर्ष उमेर समूहलाई लगाइने छ। खोप पूर्ण र अति अशक्त अपाङ्गता (वर्ग क र ख) भएका नागरिकहरु, नेपालमा बसोबास गरिरहेका शरणार्थी र यसअघि खोप लगाउन छुटेका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी र सरसफाईकर्मीहरुलाई समेत खोप दिने निणर्य स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको छ। 

अमेरिकाबाट सोमबार मात्र १५ लाख ३४ हजार ८५० डोज खोप नेपाल आइपुगेको थियो।   

  • प्रकाशित मिति : असार २९, २०७८ मंगलबार १९:११:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया