पाकिस्तान विरुद्ध ३ खेलको एक दिवसीय सिरिज अन्तर्गत तेस्रो तथा अन्तिम खेलमा घरेलु टोली इङ्ल्यान्ड विजयी भएको छ । उसले मंगलबार भएको खेलमा ३ विकेटको जित हात पारेको हो ।
जितसँगै इङ्ल्यान्डले सिरिजमा क्लिनस्विप राख्न सफल भएको छ ।
पाकिस्तानले दिएको ३३२ रनको बलियो लक्ष्य इंग्ल्यान्डले ४८ ओभरमा ३ विकेट गुमाउँदै पुरा गर्याे । उसका लागि जेम्स भिन्सले शतकीय पारी खेले । ९५ बलको सामना गरेका उनले ११ चौकाको मद्दतमा १०२ रन प्रहार गरे ।
लेविस गेग्रोरीले ६९ बलमा ६ चौका र ३ छक्काको मद्दतमा ७७ रनको योगदान दिए । ज्याक क्राउलीले ३९ र कप्तान बेन स्टोक्सले ३२ रन जोडे ।
पाकिस्तानका लागि हारिस राउफले ४, शादब खानले २ र हसन अलीले १ विकेट हात पारे ।
यसअघि बर्मिङ्घममा टस हारेर ब्याटिङको निम्तो पाएको पाकिस्तानले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै ३३१ रनको बलियो योगफल तयार पारेको थियो ।
उसका लागि कप्तान बाबर अजामले १५८ रनको उत्कृष्ट पारी खेले । १३९ बलको सामना गरेका उनले १४ चाैका र ४ छक्का प्रहार गरे ।
मोहम्मद रिजवानले ५८ बलमा ८ चौकाको मद्दतले ७४ रनको योगदान दिए । इमान उल हकले ७३ बलमा ७ चौकाको मद्दतले ५६ रन प्रहार गरे ।
इंग्ल्यान्डका लागि ब्रेडन कार्सेले ५, साकिब महम्मदले ३, म्याट पार्किनसनले १ विकेट हात पारे ।
इंग्ल्यान्डले पहिलो खेल ९ विकेट र दोस्रो खेल ५२ रनले आफ्नो पक्षमा पारेको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।