जनकपुरधाम विमानस्थल : ४२ करोडको कन्ट्रोल टावर सात महिनामै भत्कियो

जनकपुरधाम विमानस्थलमा ४२ करोड रुपैयाँको लागतमा निर्माण गरिएको कन्ट्रोल टावर केही महिनामै क्षतिग्रस्त बनेको छ । नयाँ प्रविधिमार्फत निर्माण भएको कन्ट्रोल टावर सात महिनामै भत्किन थालेको हो । 

४ हजार १३४ वर्गमिटरमा फैलिएको नयाँ टर्मिनल भवन पूर्ण रूपमा स्टिल तथा सिमेन्ट ब्लकले निर्माण गरिएको छ । यो बिलकुलै नयाँ प्रविधि हो । जुन नेपालका अन्य विमानस्थलहरूमा प्रयोग गरिएको छैन । तर, निर्माण सम्पन्न भएको केही दिनमै कन्ट्रोल टावर क्षतिग्रस्त हुँदा यसको गुणस्तरीयता माथि प्रश्न उठेको छ । 

यस सम्बन्धमा विमानस्थलका प्रमुख किरण गौतमले हावाहुरीका कारण कन्ट्रोल टावरको सिमेन्ट ब्लक उप्केको हुनसक्ने भन्दै यसको पुनर्निर्माण ठेकेदार कम्पनीले नै गर्ने जानकारी दिए । उनले एक वर्षसम्म मर्मत सम्भारको काम ठेकेदार कम्पनीले गर्नुपर्ने सम्झौता रहेको बताए । 

६ कठ्ठा क्षेत्रफलमा स्टिल स्ट्रक्चरको टर्मिनल भवन र ६० फिट बराबरको ६ तल्ले कन्ट्रोल टावर निर्माण गरिएपनि टावरको माथिल्लो भाग केही दिनमै क्षतिग्रस्त बनेको छ । २०६९ साल कातिक महिनामा १८ करोडको लागतमा नयाँ टर्मिनल भवन निर्माण गर्न तत्कालीन पर्यटन तथा नागरिक उड्डयनमन्त्री पोष्ट बहादुर बोगटीले शिलान्यास गरेका थिए । 

डेढ वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी पप्पु एण्ड एनके कन्स्ट्रक्सन तथा नागरिक उड्डयन प्राधिकरणबीच २०६९ असोज १५ गते सम्झौता भएको थियो । प्राविधिक समस्या, रकम अभाव लगायतका कारण देखाउँदै टर्मिनल भवन निर्माणको समय पटक–पटक थप्दै ८ वर्ष पुर्याइएको थियो । 

नागरिक उड्ययन प्राधिकरणले २०६९ सालमा पप्पु कन्स्ट्रक्सनसँग डेढ वर्ष भित्रै निर्माण सम्पन्न हुने गरी सम्झौता गरेको थियो । १८ करोडको लागतमा निर्माण गर्ने सम्झौता गरिए पनि विभिन्न बहाना देखाउँदै पटक–पटक गरेर म्याद थप गरे पनि निर्माण सम्पन्न हुन सकेन ।



प्राधिकरणका आयोजना प्रमुख नलविक्रम थापाले पप्पु कन्सट्रक्सनसँग दक्ष जनशक्ति नरहेका कारण निर्माण कार्यमा ढिला सुस्ती भएको बताए । अन्ततः २०७४ सालमा पप्पुसँगको सम्झौता रद्द गरियो । यद्यपि आधा काम पप्पुले नै गरेका कारण २१ करोड २७ लाख रुपैयाँ भुक्तानी गरिएको थियो ।

त्यसपछि, बाँकी काम र फिनिसिङ्ग गर्नका लागि २१ करोड २७ लाख ७ हजार ७३० रुपैयाँको लागतमा थेगिम गाल्वा उमा एण्ड कम्पनी जेभीसँग सम्झौता गरियो । पप्पुको सम्झौता रद्द गरेर नयाँ निर्माण कम्पनीसँग सम्झौता गरिएपछि १ वर्षमा काम सम्पन्न गर्नुपर्नेमा नयाँ कम्पनीले पनि काम गर्न सकेन । र, पछि १७ महिनाको थप म्याद उसले पाएको थियो । 



जनकपुरधाम विमानस्थलको नयाँ टर्मिनल भवनको तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले २०७७ मंसिर २३ गते उद्घाटन गरेका थिए ।

  • प्रकाशित मिति : असार ३०, २०७८ बुधबार १५:५४:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया