कति आयो र कति आउँदै छ नेपालमा कोरोना खोप ?

नेपालमा कोरोनाविरुद्धको खोप आउने क्रम जारी छ । हालसम्म कोभिसिल्ड, भेरोसेल तथा कोभ्याक्स कार्यक्रम अन्तर्गत अमेरिकाबाट जोनसन एन्ड जोनसनको खोप नेपालमा आयात भएको छ । 

हालसम्म नेपालमा आयात भएकामध्ये १० लाख कोभिसिल्ड भ्याक्सिन खरिद गरेको हो । चीनबाट पनि ४० लाख डोज नेपालले खरिद गर्ने सहमति गरेको छ । 

हालसम्म कुनकुन खोप कति डोज आयो ?

कोभिसिल्ड 
कोभिसिल्ड खोप २४ लाख ३८ हजार नेपाल भित्रिएको छ । जसमा पहिलो चरणमा भारतले अनुदान स्वरुप १० लाख प्रदान गरेको थियो । त्यस्तै, भारतीय सेनाले नेपाली सेनालाई अनुदान स्वरुप १ लाख डोज कोभिसिल्ड प्रदान गरेको हो । 

यसै क्रममा भारतबाट २० लाख डोज कोभिसिल्ड खरिद गर्ने सहमति भएको थियो । जसअन्तर्गत भारतले १० लाख डोज मात्रै नेपाललाई उपलब्ध गराएको छ । 

बाँकी १० लाख भने विभिन्न कारण देखाई उपलब्ध गराउन नसक्ने बताएको थियो । ३ लाख ४८ हजार डोज भने कोभ्याक्स सुविधा अन्तर्गत नेपाल भित्रिएको हो । 



कतिजनाले पाए हालसम्म कोभिसिल्ड ?
नेपालमा पहिलो पटक भारतबाट आयातीत १० लाख तथा पछिल्लो पटक ल्याइएको गरी हालसम्म कोभिसिल्डको पहिलो चरणको खोप १८ लाख २८ हजार ४ सय ८४ जनाले प्राप्त गरेका छन् । दोस्रो चरणको खोप ४ लाख ६० हजार ७ सय ३४ जनाले पाइसकेका छन् । 

भेरोसेल
चीनमा उत्पादित यो खोप नेपालमा पहिलो पटक ८ लाख डोज अनुदान स्वरुप भित्रियो । चीनले पुनः नेपाललाई १० लाख डोज खोप अनुदानमा प्रदान ग¥यो । यसै सिलसिलामा नेपालले सहयोग स्वरुप १० लाख डोज भेरोसेल प्राप्त गर्यो । 



चिनियाँ भेरोसेलको ७ लाख ८३ हजार ३ सय २३ जनाले पहिलो डोज प्राप्त गरिसकेका छन् । त्यस्तै, ६ लाख ४२ हजार ३ सय ९६ जनाले पूर्ण डोज लगाएका छन् । अहिले लगाउँदै आइएको भेरोसेल भने ५५ वर्ष वा सोभन्दा माथि उमेर समूहका व्यक्तिले पाएका हुन् । उनीहरुले पहिलो डोज लगाएका छैनन् । 

विद्यालय, विश्व विद्यालयका प्राध्यापक तथा कर्मचारी, सार्वजनिक यातायातमा काम गर्ने चालक तथा सहचालक, नेपाल सरकारले तोकेको अत्यावश्यक सेवामा संलग्न व्यक्ति तथा खोप अनिवार्य गरेका देशमा जाने नेपालीलाई यस पटक भेरोसेल वितरण गर्न लागिएको हो । 

जोनसन एन्ड जोनसनको (जोन्सेन खोप)
अमेरिकाको जोनसन एन्ड जोनसन कम्पनीद्वारा निर्मित जोन्सेनको खोप नेपाल आइपुगेको छ । कोभ्याक्स सुविधा अन्तर्गत १५ लाख ३४ हजार डोज खोप नेपाल आइपुगेको हो । अमेरिकी राजदूत र्यान्डी बेरीले नेपाललाई उक्त खोप हस्तान्तरण गरेका हुन् । 

यसको थप डोज नेपालमा आउने कुनै टुंगो नभएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । कोभ्याक्स सुविधा अन्तर्गत आएको उक्त खोप ५० देखि ५४ वर्ष उमेरका व्यक्तिलाई लगाइने छ । कोभिडको पहिलो डोज नै नपाएका, पूर्ण र अतिरिक्त अपांग व्यक्ति, नेपालमा बसोबास गरिरहेका शरणार्थी, स्वास्थ्यकर्मी तथा सरसफाइकर्मीले यो लगाउन पाउने छन् । 
 
कहाँबाट कति खोप आउँदैछ ?
नेपालका लागि जापान सरकारले १६ लाख एस्ट्राजेनेका खोप उपलब्ध गराउने भएको छ । कोभ्याक्स सुविधा अन्तर्गतको उक्त खोप नेपाल आउन लागेको हो । जपानका विदेशमन्त्री तोसिमित्सु मोटेगीले मंगलबार उक्त घोषणा गरेका हुन् । खोप मध्य जुलाईदेखि अगस्ट अन्त्यसम्ममा आइपुग्ने बताइएको छ ।
 
नेपालका लागि जापानी राजदूत किकुटा युटाकाले खोप अनुदान नेपाल र जापान बीचको लामो मैत्री सम्बन्धको प्रतिबिम्ब रहेको बताएका छन् । जापानबाट आउने खोप ६५ वर्षमाथि उमेर समूहका व्यक्तिलाई दिइने भएको छ । 

मंगलबार निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रको नाममा सम्बोधन गर्ने क्रममा उक्त जानकारी दिएका हुन् । चार महिनाअघि पहिलो चरणको खोप लगाएका बृद्धबृद्धाले जापानबाट अस्ट्राजेनेका खोप आएपछि मात्रै दोस्रो डोज लगाउन पाउने भएका छन् । 

अन्य थुप्रै देशबाट खोप आउने कुरा भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारी बताउँछन् । उनी भन्छन्, ‘जोन्सेनको थप डोजका लागि पनि पहल भइरहेको छ, त्यस्तै रसियन खोप स्पुतनिक, स्विट्जरल्यान्ड, युरोपका देशहरु, अस्ट्रेलिया, डेनर्माकबाट पनि खोप ल्याउने तयारी भइरहेको छ ।’ 

उनका अनुसार, चीनबाट साप्ताहिक रुपमा ४० लाख डोज खोप आउने वितरण हुँदै जाने छ । अन्य देश तथा निर्माता कम्पनीबाट करोडौं डोज खोप भित्रिने क्रममा रहेको उनले जानकारी दिएका छन् ।

कुन खोप कति मात्रामा आउने भन्ने यकिन तथ्यांक बताउन नसकिए पनि विस्तारै खोप आयात सहज हुँदै गएको अधिकारीले बताएका छन् । कुनै कोभ्याक्स सुविधा अन्तर्गत त कुनै सरकारले किनेर वितरण गर्ने उनले जानकारी दिए । 

  • प्रकाशित मिति : असार ३०, २०७८ बुधबार १८:२०:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया