विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको समस्या समाधान गर्न सरकारले प्रधानमन्त्री कार्यालयका वरिष्ठ सचिव बैकुण्ठ अर्याल संयोजक रहने गरी जाँचबुझ समिति गठन गरेको छ ।
प्रधानमन्त्री एवं कुलपति कार्यालयले हिजो बिहीबार सचिव अर्यालको अध्यक्षतामा जाँचबुझ समिति गठन गरेको हो । समितिमा ८ सदस्यीय भएको बताइएको छ । समितिलाई प्रतिवेदन पेश गर्न समय १५ दिनको समय दिइएको छ ।
संयुक्त संघर्ष समितिका सहसंयोजक डा.विष्णु पोखरेलले समिति गठन भएको चर्चा सुने पनि औपचारिक रूपमा जानकारी नआएको बताए ।
प्रतिष्ठानमा चिकित्सक, विद्यार्थी, कर्मचारी तथा नर्सहरूले आन्दोलन थालेको एक महिना बितिसकेको छ ।
वार्ताका लागि उपकुलपतिको आह्वान
विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शुद्धीकरणको माग राख्दै आन्दोलनरत कर्मचारी, विद्यार्थी र चिकित्सकहरूलाई उपकुलपति ज्ञानेन्द्र गिरीले वार्ताका लागि आह्वान गरेका छन् ।
उनले सार्वजनिक अपिल मार्फत वार्ताको आह्वान गर्दै १२ बुँदे मागहरूप्रति संस्थागत धारणा पनि व्यक्त गरेका छन् ।
उनले प्रतिष्ठानलाई सवल र सक्षम बनाउने उद्देश्यले उठान गरिएको मागहरू पुरा नगर्ने मनसाय नरहेको भन्दै अपिलमा भनेका छन्,‘आउनुहोस, छलफलमा बसौँ । शुद्धीकरण अभियान मेरो पनि हो, तपाईं हामी एकजुट भएर प्रतिष्ठानलाई दक्षिण एसियाकै नमुना प्रतिष्ठानका रूपमा विकास गर्ने अभियानमा समाहित हौँ ।’
उनले सुशासन प्रवर्द्धन सम्बन्धी नीति तर्जुमा गरी कार्यान्वयनमा लाग्ने पनि प्रतिवद्धता जनाएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।