माेरङमा सुन पसल लुट्न आएका लुटेरासँग अत्याधुनिक हतियार एसएमजी

मोरङको सुन्दर हरैचामा अत्याधुनिक हतियार देखाएर लुटपाट गर्ने प्रयास भएपछि सुरक्षाको विषयमा प्रश्न खडा भएको छ । शुक्रबार दिउँसो सुन्दर हरैचा नगरपालिकाको विराटचोकस्थित त्रिवेणी चोकमा रहेको सुन पसलमा एसएमजी देखाएर दिउँसै लुटपाटको प्रयास भएको थियो ।

नेपाली सेनाले मात्रै प्रयोग गर्दै आएको हतियारसहित सुनपसल लुट्नका लागि तीन जना मानिस आएका थिए । उनीहरूले बोकेका हतियार सक्कली नै भएको प्रहरी श्रोतको दावी छ । 

४०-५० उमेर समूहका जस्ता देखिने दुवैले त्रिवेणी चोकको शिवपाञ्चायन ज्वेलर्समा प्रवेश गरी लुटपाटको प्रयास गरेका थिए । ज्वेलर्सको सिसी क्यामरामा कैद दृष्यका अनुसार ज्वेलर्स भित्र प्रवेश गरेका एक जनाले पेस्तोल र अर्को व्यक्तिले झोलाबाट स्वचालित हतियार स्टर्लिङ मेसिनगन (एसएमजी)  निकालेर  र त्यसमा लाग्ने म्यागजिन ‘लोड’ गरेको प्रहरीले जनाएको छ  ।  

म्यागजिन लोड गर्नुले सो हतियार सक्कली नै भएको प्रहरीको दावी छ । तर प्रदेश प्रहरी प्रमुख अरुण कुमार जिसीले भने घटनाको विषयमा छानबिन भइरहेको बताए ।

ज्वेलर्सबाहिर लुटपाट हुन लागेको भन्दै हल्ला भएपछि स्थानीयले ज्वेलर्स अगाडि भीड गरेका थिए । भीड बढेपछि लुटेराहरूले पसलमा लुटपाट गर्न भने नपाएको सुन्दर हरैचाका मेयर शिवप्रसाद ढकालले बताए ।

पसलमा लुटपाट गर्न खोज्ने तीन जना भएको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी जनार्दन जिसीले जानकारी दिएका छन् । उनका अनुसार उनीहरूको खोजी भइरहेको र यसमा जिल्ला, इलाका र प्रदेशको विशेष टिम परिचालित गरिएको छ ।



प्रहरीले ज्वेलर्सको सिसीटिभी क्यामेरामा कैद भएको भिडियोको आधारमा तिनै जनाको पहिचान गर्ने काम समेत भइरहेको छ । 

कसरी आयो लुटेरासँग स्वचालित हतियार ?



स्टर्लिङ मेसिनगन (एसएमजी)  नाम गरेको हतियार स्वचालित हतियारमा पर्छ । यो हतियार प्रायः नेपाली सेना, सशस्त्र प्रहरी र सीमित संख्यामा नेपाल प्रहरीले मात्र प्रयोग गर्ने हतियार हो ।

यो हतियार तत्कालीन जनयुद्धमा माओवादी र विप्लव समूहले समेत प्रयोग गर्ने गर्दथे । प्रति मिनेट ५०० राउन्ड फायर गर्ने क्षमताको यो हतियारमा ३२ राउन्डको म्यागजिन लाग्ने गर्दछ ।

यसले २०० मिटरको दूरीमा असरदार क्षति गर्न सक्छ । यसलाई फोल्ड गर्न सकिने भएकाले झोलाभित्र यो सहजै राख्न मिल्छ । यसमा ९ एमएमको गोली लाग्ने गर्छ । यो हतियार जनयुद्धको क्रममा नेपाली सेनाको ब्यारेक आक्रमण गरी सबैभन्दा पहिले तत्कालीन माओवादीले लुटेका थिए ।

सेनाले समेत प्रयोग गर्ने एसएमजी हतियार यो लुटपाटको प्रयासमा प्रयोग भएको विषयमा नेपाली सेनाले समेत चासो व्यक्त गरेको छ । 
 

  • प्रकाशित मिति : साउन २, २०७८ शनिबार १४:२०:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया