जसपामा सांसद तानातान, ठाकुर समूहकै बाटोमा उपेन्द्र समूह

सत्ता परिवर्तनसँग जनता समाजवादी पार्टी (जसपा) भित्रको परिस्थिति फेरिएको छ। ओली सरकारमा सहभागी हुन हिजो ठाकुर समूहले जुन खेल खेलेको थियो, अहिले यादव समूहले त्यही खेलमा छ।  

ओली सरकारमा मन्त्री बनाउने अफर गरेर ठाकुर–महतो समूहले उपेन्द्र पक्षका केही सांसदलाई तानेका थिए। अहिले यादव समूह अहिले ठाकुर समूहलाई कमजोर बनाउन लागि परिरहेको छ।

ठाकुर समूहले गरेको सुरु खेल ओली सरकारलाई टिकाउनका लागि रचिएको थियो भने अहिले देउवा सरकारलाई बचाइराख्न सांसद तान्ने खेल भइरहेको छ। 

यसअघि ठाकुर समूहमा लागेका केही सांसद उपेन्द्र समूहलाई सघाउन तयारी भइसकेका छन्। 

को-को जाँदैछन् उपेन्द्र समूहमा ? 

देउवालाई प्रधानमन्त्री बनाउन महत्वपूर्ण भूमिका खेलेको उपेन्द्र समूह सरकारमा जाने निश्चित भइसकेको छ। उपेन्द्र समूह सरकारमा जाने तय भएपछि ठाकुर समूहका सांसद उतातिर ढल्किन थालिसकेका छन्। 



स्रोतका अनुसार अहिलेसम्म ४ जना सांसदले ठाकुर समूह छाड्ने निश्चित भइसकेको छ। ती हुन्– प्रमोद साह, रानी मण्डल र अमृता अग्रहरि र नरमाया ढकाल।  

जसपाका एक नेताका अनुसार यसको अलावा ठाकुर समूहका अरु पनि केही सांसदहरु यादव समूहसँग ‘डिल’ गरिरहेका छन्। सौदाबाजी मिल्नसाथ यो संख्या अझ बढ्नेछ।



ठाकुर पक्षबाट कम्तिमा आधा दर्जन सांसद लिएर यादव समूहमा जान लागेको ठाकुर समूहलाई छोड्न लागेका एक सांसदको दाबी छ। 

ठाकुर समूहबाट यादव समूहमा लागेका जसपाका सांसद प्रमोद साह लोकतन्त्र र संघीयता बचाउन यादव यादवलाई साथ दिन लागेको बताउँछन्। आफूहरुलाई ठाकुर समूहले कुनै मान्यता नदिएको गुनासो उनको छ।  

खेलको सुरुवात ठाकुर समूहबाटै 

गत साल पार्टी एकता हुँदा यादवको समाजवादी पार्टी र ठाकुरको राष्ट्रिय जनता पार्टी(राजपा) सँग १७–१७ जना सांसद थिए। दुई समूहका एक–एक जना सांसद निलम्बनमा परेकाले १६–१६ जना सांसद थिए। ओली सरकारलाई समर्थन गर्न किन नगर्ने भन्ने विषयमा विवाद भएपछि जसपा दुई धारमा बाँडियो। 

ओली सरकारमा सहभागी हुने बेलासम्म ठाकुर समूहले आफ्नो पक्षमा २० जना सांसद पुर्‍याएको थियो। यादव समूहमा रहेका सांसदलाई मन्त्रीको लोभ देखाएर ठाकुर–महतो समूहले आफ्नो समूहमा तानेको थियो। 

केहीदिन अघिसम्म उपेन्द्र समूहमा रहेका पाँच जना सांसदलाई ठाकुर समूहले आफ्नो पक्षमा उभ्याएको थियो। ठाकुर समूहले त्यो बेला उमाशंकर अरगरिया, बिमल श्रीवास्तव, रुहीनाज, रेनुका गुरुङ र कलुदेवी विश्वकर्मालाई उपेन्द्र समूहबाट तानेको थियो। 

जुन बेला यी सबै सांसदलाई आश्वासन थियो–मन्त्री वा राम्रो ठाउँ। यही प्रलोभनमा परी उनीहरुले उपेन्द्रको साथ छाडेका थिए। 

अडान र एजेण्डा छैन, शक्तिको पछि

राजनीति गर्नका लागि कुनै सिद्धान्त, विचार नभएको र शक्ति र सत्ताको पछि मात्रै लागेका ओरोप मधेस केन्द्रीत दलका नेतालाई लाग्दै आएको छ। 

कयौँ पटक उनीहरुले  यो आरोपलाई पुष्टि पनि गरिरहेका छन्। सत्ताकै कारण मधेसवादी दलमा फुट आएका थुप्रै उदाहारण छन्। 

सत्ताको राजनीति मात्रै हुने पार्टीमा लामो समय साथ दिएका सहकर्मीलाई धोका दिने, गुट परिवर्तन गर्ने जस्ता गतिविधि धेरै हुने विश्लेषक चन्द्रकिशोर बताउँछन्। 

उनका अनुसार नेपाली राजनीतिमा यसको सुरुवात ०५१ सालमा मनमोहन अधिकारी सरकार भएदेखि  भएको हो। ‘राजनीतिमा मुख्य कुरा प्रतिबद्धता, विश्वसनीयता र अडान हुन्छ, यही कारणले स्वच्छ राजनीति हुने गर्छ’ चन्द्र किशोर भन्छन्,  ‘तर जब अदृश्य कारणको नेताहरुलाई प्रभाव पर्छ तब यस्तै चीजको विकास हुनेगर्छ।’ 

यो मधेसको कमजोर राजनीतिको परिणाम पनि भएको उनको तर्क छ। मधेस मामिलाका जानकार समेत रहेका चन्द्रकिशोर तीन वटा कारणले मधेशको राजनीति कमजोर हुँदै गएको बताउँछन्। पहिलो सत्ताको राजनीति, दोस्रो भू–राजानीति र तेस्रोमा व्यक्तिगत स्वार्थ हावी। 

सांसदको अंक गणित 

३२ सांसद रहेको जसपामा देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै राष्ट्रपति समक्ष पेश गरीएको दावीमा १२ जनाले मात्रै हस्ताक्षर गरेका थिए। २० जना ठाकुर पक्षमै थिए। 

यही समर्थनले ठाकुर पक्ष बलियो देखिएको थियो। ठाकुर पक्षका केही सांसदहरु ओली सरकारमा मन्त्री बन्न नपाएपछि रुष्ट थिए। जसको फाइदा अहिले उपेन्द्र समूहले लिन खोजिरहेको छ। 

यता जसपा आधिकारिकता विवाद पनि निर्वाचन आयोगमा पुगेको छ। यो टुंगो नलागेसम्म सरकारमा सहभागी नहुने तयारी उपेन्द्र समूहको छ। तर संसदीय दलमा पनि आफ्नो बहुमत बनाउनका उपेन्द्र समूह प्रयासरत छ।
 

  • प्रकाशित मिति : साउन २, २०७८ शनिबार १८:२४:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया