ओलम्पिकमा नेपाली महिला खेलाडीको वर्चस्व

खेलकुदको विश्व महामेला हो, ओलम्पिक । ओलम्पिकको २०२० संस्करण यस वर्ष टोकियोमा आयोजना हुन लागिरहेको छ । यो विभिन्न देशहरुबाट छानिएर आएका उत्कृष्ट खेलाडीहरुले आफ्नो कौशल देखाउने स्थल हो । नेपालबाट यस महाकुम्भमा भाग लिन पाँच जना खेलाडीले जापान प्रस्थान गरेका छन् । ओलम्पिकमा प्रतिस्पर्धा गर्ने पाँच खेलाडीमध्ये चार महिला छन् । 

खेलकुदको महाकुम्भमा पुरुष खेलाडीलाई पछि पार्दै विभिन्न विधामा चार महिलाले नेपालका तर्फबाट प्रतिस्पर्धा गर्ने भएका छन् । पौडीकी गौरिका सिंह, जुडोमा सोनिया भट्ट, सुटिङकी कल्पना परियार र एथ्लेटिक्सकी सरस्वती चौधरीले नेपालको प्रतिनिधित्व गर्दै ओलम्पिक खेल्ने भएका हुन् । एलेक्स शाह एक मात्र पुरुष प्रतिस्पर्धी हुन् । उनले पनि पुरुष पौडीमा प्रतिस्पर्धा गर्ने छन् । 

यो वर्ष पाँच जना खेलाडीमध्ये चार जनाले राष्ट्रको नाम कत्तिको चम्काउलान् यसै भन्न सकिन्न । खेलमा उनीहरुको प्रदर्शनले नै त्यो कुरा तय गर्ने छ । 

गौरिका सिंह (पौडी)

१८ वर्षीया गौरिका परिवारसहित लन्डनमा बस्छिन् । नेपालको प्रतिनिधित्व गर्दै विभिन्न प्रतियोगितमा चर्चा बटुल्न सफल पात्र हुन् गौरिका । यस पटक पनि ओलम्पिकमा नेपालको प्रतिनिधित्व उनले गर्ने मौका पाएकी छन् । लन्डनमा प्रशिक्षण लिँदै आएकी उनले लामो समय नेपालको नाम देशविदेशमा फैलाउँदै आएकी छन् । सागको ३५ वर्षे इतिहासमा एकै विधामा चारवटा स्वर्ण हात पार्ने गौरिका पहिलो खेलाडी हुन् । 

आठ वर्षको उमेरमा पौडीमा करिअर सुरु गरेकी गौरिकाले एकपछि अर्को गर्दै सफलता हात पार्दे आएकी छन् । नेपाल बाहिर बस्ने भएकाले धेरैले उनको नागरिकताबारे चासो राखेको पाइन्छ । तर, जब उनी पदक हात पार्छिन् तब त्यो नेपालको नाममा समर्पित गर्छिन् । सागमा पहिलो स्वर्ण जित्दा पनि उनले उक्त पदक राष्ट्रको नाममा समर्पित गरेकी थिइन् । उनले चारवटा स्वर्ण जित्दै गर्दा गोल्डेन गर्ल, जलपरीजस्ता उपनामहरु उनलाई दिइयो । लन्डनमा बस्दै ओलम्पिकको तयारी गर्दै आएकी गौरिकाले २०१६ मा ब्राजिलमा भएको ओलम्पिकमा नेपालको प्रतिनिधित्व गरेकी थिइन् । अब उनले यस पटक कस्तो प्रदर्शन गर्ने हुन् भन्ने निकै चासोको विषय बनेको छ । 



उनले यस वर्षको ओलम्पिकमा नेपालको झन्डा बोक्ने पनि तय भएको छ । ओलम्पिकले यो वर्ष एकजना पुरुष र एक महिलाले सम्बद्ध राष्ट्रको झन्डा बोक्ने निर्णय गरेपछि नेपालको झन्डा दुवै पौडी खेलाडीले बोक्ने निश्चित भएको हो । 

सोनिया भट्ट (जुडो) 



जुडोकी खेलाडी सोनिया भट्टले ‘वाइल्ड कार्ड’बाट ओलम्पिक खेल्ने मौका पाएकी हुन् । उनलाई प्रशिक्षक सूर्यनारायण श्रेष्ठले ओलम्पिक तयारी गराएका हुन् । हरेक खेलाडीको जस्तै उनको पनि ओलम्पिक खेल्ने ठूलो सपना रहेको टोकियो प्रस्थानपूर्व मिडियामा बताएकी थिइन् । उनले १३औं दक्षिण एसियाली खेलकुद (साग)मा ४८ केजीमुनि तौल समूहमा कास्य पदक जितेकी थिइन् । 

सोनियाले विश्व जुडो च्याम्पियनसिपमा एक बाउट पनि जितेकी थिइन् । उनी नेपालका लागि जुडोमा विश्व च्याम्पियनसिपमा पहिलो बाउट जित्ने खेलाडी हुन् । उनले २०१९ मा मोरक्कोमा भएको विश्व जुडो च्याम्पियनसिपमा ४८ केजीमुनि तौल समूहमा प्रतिस्पर्धा गरेकी थिइन् । उक्त खेलमा मोजाम्बिककी खेलाडीलाई पराजित गर्दै इतिहास रचेकी थिइन् । 

उनले ओलम्पिकमा पनि ४८ केजीमुनि तौल समूहमा प्रतिस्पर्धा गर्ने छिन् । १३औं सागपछि भने उनी पुलिस क्लब एकेडेमीमा प्रशिक्षण गरिरहेकी थिइन् । हालै उनी पुलिस क्लबमा आबद्ध पनि भएकी छन् । 

कल्पना परियार (सुटिङ) 

नेपाली सेनाकी खेलाडी कल्पना परियारले यस पटक ओलम्पिकमा नेपालको प्रतिनिधित्व गर्ने भएकी छन् । उनले वाइल्ड कार्डबाट ओलम्पिक खेल्न पाएकी हुन् । कल्पनाले ओलम्पिकमा १०० मिटर एयर राइफलमा प्रतिस्पर्धा गर्ने भएकी छन् ।

उनीसँगै सुटिङको लागि त्रिभुवन आर्मीकी अर्की खेलाडी सुस्मिता नेपालले पनि प्रशिक्षण गरिरहेकी छन् । उनीहरु दुवैजना ओलम्पिक छात्रवृत्तिअन्तर्गत रहेर प्रशिक्षण गर्दै आएका हुन् । उनीहरु दुवैजनालाई प्रशिक्षक असिम यादव गुरुङले प्रशिक्षण गराएका हुन् ।

उनले यसअघि एसियन गेम्स, एसियन च्याम्पियनसिप, दक्षिण एसियाली खेलकुदमा प्रतिस्पर्धा गरिसकेकी छन् । हालसम्म नेपालका तर्फबाट सातजना खेलाडीले सुटिङमा प्रतिस्पर्धा गरिसकेका छन् । कल्पना भने आठौं खेलाडीका रुपमा प्रतिस्पर्धामा उत्रने भएकी हुन् । २०१६ को रियो ओलम्पिकयता नेपालले हरेक ओलम्पिकमा सुटिङ विधामा प्रतिस्पर्धा गर्दै आएको छ । यस वर्ष कल्पनाको प्रदर्शन कस्तो रहला भन्ने प्रश्नको जवाफ भने उनले आफ्नो खेलबाट नै दिनु पर्ने छ । 

सरस्वती चौधरी (एथ्लेटिक्स) 

त्रिभुवन आर्मी क्लबकी खेलाडी सरस्वती चौधरीले अन्तिम अवस्थामा आएर ओलम्पिक खेल्न जाने मौका पाएकी हुन् । गोपीचन्द्र पार्कीको नाम अन्तिम समयमा काटिएपछि सरस्वती जापान जाने भएकी हुन् । उनले १०० मिटर दौडमा प्रतिस्पर्धा गर्ने छिन् । 

असार १६ गते राष्ट्रिय खेलकुद परिषद्मा सदस्य सचिव रमेशकुमार सिलवाल, ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ र एथ्लेटिक्स संघका अध्यक्ष राजीवविक्रम शाहीले संयुक्त विज्ञप्ति निकाल्दै गोपीचन्द्र पार्कीको सहभागिता सम्भव नभएको भनेपछि सरस्वती जाने पक्का भएको हो । 

स्कुले जीवनदेखि नै उनी दौडमा सहभागी हुन थालेकी हुन् । उनी २०७० सालपछि भने व्यावसायिक रुपमा दौडन थालिन् । क्षेत्र, राष्ट्र हुँदै उनले अब अन्तर्राष्ट्रिय प्रतिस्पर्धा खेल्ने तय भएको हो । उनी पहिले एपीएफ क्लबमा आबद्ध खेलाडी हुन् । उनले २०१९ को वल्र्ड च्याम्पियनसिपबाट अन्तर्राष्ट्रिय प्रतियोगितामा डेब्यु गरिन् । विभागीय टोलीमा समावेश भएपछि भने उनको प्रदर्शन निकै सुधारिएको छ । 

उनी २०७२ सालमा एपीएफमा आबद्ध भएकी हुन् । त्यहाँ दुई वर्ष बसिन् । २०७४ सालमा भने उनी त्रिभुवन आर्मी क्लबमा आबद्ध भइन् । उनले १२औं र १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगितामा पनि सहभागिता जनाइसकेकी छन् । 

  • प्रकाशित मिति : साउन ३, २०७८ आइतबार १६:४४:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया