कोभिड नियन्त्रणमा सहयोग गर्न निजी क्षेत्रलाई प्रधानमन्त्री देउवाको आह्वान

प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड-१९ को महामारी नियन्त्रणमा सहयोग गर्न निजी क्षेत्रलाई आह्वान गरेका छन् । 

बुधबार नेपाल उद्योग परिसंघको १८ औँ वार्षिक साधारण सभामा प्रधानमन्त्री देउवाले नेपाललाई कोभिड–१९ महामारीबाट मुक्त गर्नका लागि उद्योगी तथा व्यापारीहरुले सहयोग गर्नुपर्ने धारणा राखे । 

देउवाले कोभिड–१९ महामारीको समस्या समाधान गर्नु सरकारको कर्तव्य भएको उल्लेख गर्दै महामारी नियन्त्रणमा उद्योगी, व्यापारीहरुले हातेमालो गरे छिट्टै मुक्त हुन सकिने भन्दै सहयोगका लागि आह्वान पनि गरे । 

देउवाले भने, ‘कोभिडको जो समस्या छ, त्यो समस्या समाधानका निम्ति नेपालका उद्योगपति व्यापारीहरुले सहयोग गर्नुपर्छ भन्ने मेरो धारणा छ । म यहीँबाट फेरि उहाँहरुलाई अनुरोध र आह्वान गर्दछु कि, नेपालमा जो महामारी फैलिएको छ, यो सरकारको कर्तव्य हो । यसलाई पालना गर्नुपर्दछ । साथै तपाईहरुले पनि हातेमालो गरिदिनुभयो भने हामी छिट्टै यो महामारीबाट मुक्त हुन सक्छौँ भन्ने मलाई आशा छ ।’

प्रधानमन्त्री देउवाले वर्तमान अर्थमन्त्री मिहिनेती भएको टिप्पणी गर्दै अर्थमन्त्रीले नेपालको अर्थतन्त्रलाई सुधार गर्नेमा विश्वास गरे । उनले भने, ‘हाम्रो अर्थमन्त्रीजी अत्यन्त मिहिनेती हुनुहुन्छ । मलाई विश्वास छ, उहाँले नेपालको अर्थतन्त्रलाई पहिलेको भन्दा माथि उठाएर नेपालको आर्थिक अवस्थामा सुधार गर्नुहुनेछ । उहाँले सक्नुहुन्छ पनि । अत्यन्तै मिहिनेती हुनुहुन्छ उहाँ । भिजन पनि भएको व्यक्ति हो उहाँ ।’

प्रधानमन्त्री देउवाले कोभिड-१९ महामारीको कारण धराशायी बनेको अर्थतन्त्रको समुन्नत विकासको लागि निजी क्षेत्र र सरकारले हातेमालो गर्नुपर्नेमा जोड दिए । 





  • प्रकाशित मिति : साउन ६, २०७८ बुधबार १७:४३:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया