भिआइपी पाहुनालाई गिज्याउने धनगढी एयरपोर्ट सडक

लामो समयदेखि स्तरोन्नती नहुँदा धनगढी एयरपोर्ट सडकको अवस्था निकै दयनीय बनेको छ। सडकका सयौँ ठाउँमा खाल्डाखुल्डी छन्। मोहनपुर–गेटा एयरपोर्ट सडकको यो दुर्दशाले यही बाटो भएर आउजाउ गर्नेहरु सास्ती खेप्न बाध्य छन्। 

यो सडक विगत ७ वर्षदेखि मर्मत हुन सकेको छैन। वर्षौदेखि सडकको बीचमा रहेकाद खाल्डाखुल्डीले धनगढी विमानस्थलको शोभालाई बिगारिदिएको छ।  

विमानस्थल जानुपर्दा त्यो बाटो सम्झिँदै तनाब हुने स्थानीयको गुनासो छ। ‘धनगढी विमानस्थल गेटा जाँदा पि सडकमा परेका खाल्डाखुल्डीले निकै दिक्दार बनाउँछ’ धनगढीका महेश रोकाया भन्छन्, ‘आफन्तलाई एयरपोर्ट छोड्न मोटरसाइकलमा जाँदा सडकमा भरिएको पानीले यात्रा नै झुर बनाइदिन्छ।’ 

सडकको बीचका यस्ता खाल्डाखुल्डीले सवारी साधनलाई समेत थोत्रो बनाउने उनको भनाइ छ। सुदूरपश्चिम आउने एक मात्रै विमानस्थल गेटा आउजाउ गर्ने सडकको हालत बेहालले त्यहाँबाट आउजाउ गर्ने भिआइपीलाई गिज्याइरहेको स्थानीय हरेन्द्र चौधरी बाउँछन्। 

‘यो सडक भएर प्रधानमन्त्रीदेखि प्रदेश सरकारका मुख्यमन्त्री, मन्त्रीका गाडी दिनहुँ हुइँकिन्छन्, तर बनाउन कसैलाई चासो छैन’ चौधरीको गुनासो छ। 

सडकमा परेका खाल्डाखुल्डीले सवारी दुर्घटनाको डर उत्तिकै भएको भनी चौधरी चिन्ता व्यक्त गर्छन्। 



 ‘यो सडकमा सवारी चाप निकै हुन्छ,’ उनले भने, ‘दुर्घटनाको डर उत्तिकै छ।’ सडक मर्मतसम्भारका लागि अहिलेसम्म कसैले चासो नदेखाएको गु्नासो उनको छ।

काठमाडौंबाट नेता तथा मन्त्रीहरु विमानस्थलमा ओर्लँदा यही बाटो भएर सयौं नेता तथा कार्यकर्ता स्वागतका लागि फूलमाला लिएर पुग्छन्। 



यति हुँदा पनि यक्त बाटो उनीहरुको नजरमा पर्न नसकेको स्थानीय रविन्द्र जोशी बताउँछन् मोहनपुरदेखि गेटा विमानस्थल सम्मको २.१ किलोमिटर कालोपत्रे सडक जीर्ण बनेको हो।  ‘यो सडकको अवस्थाका बारेमा सबै जानकार छन्, तर कसैले आवाज उठाउँदैन’ जाशीको गुनासो छ।  वर्षायाममा भनी परेर ती खाल्डामा जमेपछि झन बाटो हिडिनसक्नु हुने स्थानीयको गुनासो छ। 

आर्थिक वर्ष २०७०÷०७१ मा निर्माण गरिएको यो कालोपत्रे सडक त्यसपछि  मर्मत नभएको सडक डिभिजन कार्यालय महेन्द्रनगरका सूचना अधिकारी इञ्जिनियर लक्ष्मणदत्त जोशीले जानकारी दिए। 

‘यो सडक निर्माण भएदेखि मर्मतसम्भार भएको छैन,’ उनले भने, ‘सडक हरेक वर्ष नियमित मर्मतसम्भार हुनुपर्ने हो।’ 
तीन वर्षदेखि यस सडक अहिले डिभिजन कार्यालय महेन्द्रनगर मातहत नभएको जोशीले बताए। ‘हामीसँग अहिले यो सडक छैन, हामीले केही गर्न पनि सक्दैनौँ’ जोशीले भने। 

धनगढी उपमहानगरपालिकाका इञ्जिनियर दीपराज भट्ट भने उक्त सडक मर्मतको जिम्मा डिभिजन कार्यालय महेन्द्रनगरकै भएको दावी गर्छन्।  

‘मोहनपुर–एयरपोर्ट सडक निर्माण डिभिजन कार्यालय महेन्द्रनगरले गरेको हो’ भट्ट भन्छन्, ‘मर्मत।, सम्भार पनि उसैको जिम्मा थियो।’

 पछिल्लो समय उक्त सडक मर्मतको माग गर्दै उपमहानगरपालिकाले सडक डिभिजन कार्यालयलाई पत्राचार गरेको भट्टले जानकारी दिए। 

स‘डक मर्मत गरिदिन भनेर हामीले डिभिजन कार्यालय महेन्द्रनगरलाई पत्राचार गर्‍यौँ, तर उसले मर्मतका लागि बजेट छैन भनेपछि रोकिएको हो।’  उनी सुनाउँछन्। 

उपमहानगरपालिकाले आफ्नै बजेटले सामान्य मर्मत सम्भार गर्ने भने पनि गरेको छैन। ‘कसैले चासो नदेखाएपछि मोहनपुर–एयरपोर्ट सडकलाई हामीले सामान्य मर्मतसम्भार गर्ने भएका छौँ’ भट्टले भने–‘यो सडकलाई चौडा गर्ने र पूर्णरुपमा जिम्मा कसले लिने भन्ने कुरा अहिलेसम्म टुंगो लागेको छैन।’ 

सडक संघीय सरकार वा प्रदेश सरकारले जिम्मा नलिए स्थानीय सरकारले लिने बताउँदै उनले भने,‘हामीलाई आधिकारिक रुपमा जिम्मा लिन भनेपछि हामी लिन्थ्यौँ, तर कसले जिम्मा लिने भन्ने अहिलेसम्म टुंगो लगाइएको छैन।’

उक्त सडक मर्मतका लागि प्रदेश सकारलाई आग्रह गर्दा पनि वास्ता नगरेको आरोप धनगढीका नगर प्रमुख नृपबहादुर वडको छ। 

‘हामीले मर्मत सम्भारका लागि प्रदेश सरकारसँग आग्रह गर्‍यौँ, सरकारले सुनेन’ उनले भने, ‘पटक–पटक आग्रह गर्दा पनि नसुनेपछि यसपटक भने हामी आफैँले मर्मत सम्भार गर्ने भएका छौँ।’ मोहनपुर–एयरपोर्ट सडकलाई एक लेयर कालोपत्रे गरेर मर्मत सम्भार गरिने उनले जानकारी दिए। 

सडक निर्माणका लागि आरोप प्रत्यारोप मात्र हुने गरेको छ। निर्माणमा कसैले पनि वास्ता गरेको छैनन्।

  • प्रकाशित मिति : साउन ७, २०७८ बिहीबार १०:५३:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया