‘हामी संकटपूर्ण महाधिवेशनको मुखमा छौँ’
मधु आचार्य
फरकधार / ७ साउन, २०७८

(सम्पादकीय नाेट:१४औँ महाधिवेशनको काउन्टडाउन सुरु हुँदै गर्दा यतिबेला नेपाली कांग्रेसभित्र राजनीतिक सरगर्मी बढेको छ । पार्टी सभापतिदेखि केन्द्रीय समिति, प्रदेश, जिल्ला हुँदै वडास्तरसम्म यतिबेला कांग्रेसलाई महाधिवेशनले छोपेको छ । 



अब कांग्रेसले पाउने नेतृत्व कस्तो होला ? र, महाधिवेशनपछिको कांग्रेस कस्तो होला ? भन्ने प्रश्न जनमानसमा छ । त्यसो त कांग्रेस केन्द्रीय तहका नेताहरुलाई तल्लो तहका नेताले सुझाव पनि दिइरहेका छन् । 

फरकधारको यो शृंखलामा हामीले कांग्रेसका जिल्ला सभापतिहरुसँग महाधिवेशनपछिको कांग्रेस कस्तो हुनुपर्छ ? र, युवा नेतृत्वको सम्भावना के छ ? भनी सोध्ने छौँ । ९औँ महाधिवेशनदेखि नै पार्टीमा सक्रिय भएका काभ्रेपलाञ्चाेक जिल्लाका सभापति  मधु आचार्यलाई हामीले यो शृंखलामा प्रस्तुत गरेका छौँ । )

नेपाली कांग्रेसको तेह्रौं महाधिवेशन ०७२ साल भदौ २६ गते सम्पन्न भएको थियो । कांग्रेसको विधानले एउटा महाधिवेशनदेखि  अर्को महाधिवेशनसम्मको अवधि चार वर्षको मान्छ । त्यसकारण ०७६ फागुन २५ गतेभित्र नयाँ महाधिवेशन भइसक्नुपथ्र्यो । घोषित मितिमा हामी अधिवेशन मज्जाले गर्न सक्थ्यौं । अधिवेशन कार्यतालिकासहित गर्नुपर्छ भनेर महासमितिको बैठकले आवाज उठाएको पनि हो । तर, महासमितिको बैठकमा उठेको आवाजलाई केन्द्रीय कार्यसमितिले सम्मान गर्न सकेन । हाम्रो विधानमा काबुभन्दा बाहिरको अवस्था सिर्जना भएमात्र एक वर्ष कार्यकाल थप्न सक्ने व्यवस्था छ । तर, कुनै पनि काबुबाहिरको अवस्था थिएन, आपत्कालीन अवस्था पनि थिएन । 



विधानको भावनालाई लत्याएर एकवर्षे कार्यकाल, त्यो पनि केन्द्रीय समितिको बहुमतको आडमा थप्ने काम भयो । अप्ठेरो के भयो भने, एक वर्षे कार्यकाल थपिएपछि पनि अधिवेशन गर्ने गम्भीरता देखिएन । अब अहिले पार्टी विधानकै आधारमा भन्ने हो भने, महाधिवेशन गर्ने समय गुज्रिसकेको छ । पार्टी विधानका हिसाबमा हामी भीरबाट तल खसिसक्यौं । तर, भीरबाट लडिसकेपछि पनि एउटा सानो बोट कतै भेटियो भने त्यसलाई अँठ्याएर बाँच्न सकिन्छ कि भनेर जो कोहीले पनि प्रयास गर्छ । अहिले नेपालको संविधानले एउटा असाधारण अवस्था भयो भने ६ महिनासम्म सक्न पाइने छ भनेर दिएको सिस्नुको झाल समातेर हामी अधिवेशन गर्ने तरखरमा लागेका छौं । 

जतिबेला काबुबाहिरको अवस्था थिएन, हामीले त्यही अवस्था छ भनेर लाग्यौं । साँच्चै भन्ने हो भने, अहिलेचाहिँ काबुबाहिरको अवस्था निर्माण भइरहेको छ मुलुकमा । म त भन्छु– यतिबेला चारतारे झण्डा चारवटा समस्याभित्र छौं । 

१) कोभिड महामारी । 
२) तत्कालीन ओली सरकारले सिर्जना गरेको अस्थिरता ।  
३) बाढी–पहिरोलगायतका समस्या । 
४) पार्टीभित्रकै आन्तरिक क्रियाशीलताको विषय । 

यो चारवटा समस्याको बीचमा चार तारे झण्डा छ । देशको अवस्था आपत्कालीन छ र हामीलाई अधिवेशन नगरी नहुने स्थिति छ । अब त हामीलाई विधान र संविधान दुवैले दिँदैन मिति सार्न । अहिले हामी हतपतमा गएर लतपतको अवस्थामा अधिवेशन गर्दै छौं । मैले यसलाई कर्मकाण्डी अधिवेशन भनेको छु । यो हाम्रा लागि सुखद होइन । जसरी आवधिक निर्वाचनलाई लोकतन्त्रको प्राण मानिन्छ, त्यसैगरी पार्टीका लागि आवधिक महाधिवेशन पनि प्राण हो । अनि प्राण खुस्कियो भने के बाँकी रहन्छ ? 

हामी लोकतन्त्रवादी पार्टीले जे कुरामा गम्भीर हुनपर्ने थियो त्यो गम्भीरता नभएका कारण संकटपूर्ण अधिवेशनको मुखमा उभिएका छौं । वास्तवमा हामीले लोकतन्त्र भनेर नेपालमा जुन अभ्यास गरेका छौं, त्यो बहुदलीय लोकतन्त्र हो । बहुदलीय लोकतन्त्रमा दल प्रमुख हुन्छ र दलभित्र लोकतन्त्र प्रमुख हुन्छ अनिमात्र लोकतन्त्र बलियो हुने हो । दलभित्रको लोकतन्त्र अहिले संकटग्रस्त छ । अर्को कुरा, यो महाधिवेशन जो नगरी पनि नहुने र गर्नका लागि महाधिवेशनले खोज्ने विधिप्रक्रिया पनि नपुग्ने ‘अक्कर’मा परेका छौं । यसले कांग्रेसको लोकतान्त्रिक प्रतिष्ठामाथि पहिलोपटक गम्भीर प्रश्न तेर्साइदियो ।

कांग्रेसले महाधिवेशन गर्ने भनेको पार्टीको नाम जोगाउन वा केही मान्छेलाई नेतृत्वमा पुर्याउनका लागि हो ? कांग्रेसजस्तो पार्टीको महाधिवेशन भनेको शुभेच्छा राख्ने र कांग्रेसलाई माया गर्ने आमजनमतको सम्मानका लागि आकर्षणको विषय बन्नुपर्छ भन्ने कुरामा हामी चुकेका छौं । वास्तवमा पार्टीमाथि आमजनताको चासोको अर्थ के हो ? भन्ने कुरामा सचेत बन्नुपर्छ । नेतृत्वमा को पुग्ने भन्ने मात्रले महत्व राख्दैन । पार्टीले हाम्रो जीवनमा परिवर्तनका लागि कस्ता नीति पारित गर्छ ? कस्तो विचार र कार्यनीति यसले पस्किन्छ भन्ने कुरा जनसरोकारको विषय हो । 

नेपाली कांग्रेसको पछिल्लो परिमार्जित विधानमा के कुरा प्रष्ट उल्लेख छ भने, पार्टीले नीति–कार्यक्रमको महाधिवेशन छुट्टै गर्न सक्छ । कि त नेतृत्वले भन्नुप¥यो– योचाहिँ नेता छनोटको महाधिवेशन हो, त्यसको केही समयपछि नीति तथा कार्यक्रमको महाधिवेशन गर्छौं । होइन, यही महाधिवेशनले नै सबै कुराको फैसला गर्छ भनेर गर्ने हो भने पार्टीले नीति तथा कार्यक्रमको बारेमा छलफल गर्न समिति बनाइहाल्न पर्दैन ? त्यो अहिलेसम्म हुन सकेको छैन । त्यो बनाउने अधिकार केन्द्रीय समितिलाई हुन्छ । तर, आजको दिनसम्म हामीले धेरैपटक कराइसक्दा पनि नीति तथा कार्यक्रमको दस्ताबेज बनाउनका लागि कुनै पहल भएको देखिँदैन । त्यो बन्यो भने जिल्लाजिल्लाबाट पनि सुझाव माग्न सकिन्छ, आएको रायबाट राम्रो डकुमेन्ट बन्थ्यो नि त ! त्यसका निम्ति अहिले पूरै आँखा चिम्लिएको छ नेतृत्वले । 
नेपाली कांग्रेस विचार, दर्शनको पार्टी हो भन्ने जनतामा छाप छ । यसको मूल आधार भनेको लोकतन्त्रवाद नै हो । आदर्श, सिद्धान्तको विषयलाई हामीले गौण ठान्न थाल्यौं । सत्तालाई प्राथमिकता दिन थाल्यौं । कुनै पनि पार्टी आदर्श र सिद्धान्तमा अविचलित भएर हिँड्छ भने सत्ता भन्ने कुरा उसलाई पटक–पटक आउँछ । जनताले दिने कुरा दिन्छन्, तर जनतामा कांग्रेसले मेरा लागि मलाई केन्द्रबिन्दुमा राखेर काम गरिरहेको छ भन्ने त पर्नुपर्यो नि ! 

यो महाधिवेशनमा पनि वैचारिक–सैद्धान्तिक पाटोमा ध्यान बिलकुलै गएको देखिँदैन । महाधिवेशनले गर्नुपर्ने कामका हिसाबले ७५ प्रतिशत पनि सकिएको छैन । क्रियाशील सदस्यताको विवाद टुंगिएको छैन । म जिल्ला सभापति भएको हैसियतले भन्दै छु– क्रियाशील सदस्यको विवरण आइसकेपछि त्यसमा गुनासो राख्नुप¥यो भने उजुरी दिन पाउने र जिल्ला सभापतिको संयोजकत्वमा गठित प्रारम्भिक छानबिन समितिले त्यसमा काम गर्छ । आफ्नो जिल्लाभित्रको वडा तहमा, पालिका तहमा के छ भन्ने कुरा जिल्लालाई थाहा हुन्छ, केन्द्रलाई थाहा हुँदैन । अहिले जिल्लालाई विधानतः भएको व्यवस्थालाई अभ्यास नगराएको अवस्था छ । यसो गर्दा ठूलो त्रुटि हुन्छ । यसमा लुकेको नियतमाथि शंका गर्नुपर्ने हुन्छ । 

जिल्लामा गुनासो गर्ने र त्यसमा चित्त बुझेन भने केन्द्रमा गएर छलफल गर्न पाइन्छ । कांग्रेसमा त्यस्ता घटना १० प्रतिशत होलान् । त्यो बाँकी त जिल्लामै समाधान हुन्छ । हामीलाई त्यस्ता समस्या समाधान गर्नका लागि केन्द्रले निर्देशन दिएको छैन । यसको मतलब केन्द्रीय कमिटी बढी हाबी हुन खोज्दै छ । तलको कमिटी जति हाबी हुन्छ पार्टीलाई त्यति फाइदा गर्छ । केन्द्रीय समितिले सबै म हुँ भन्नाले पार्टी विकेन्द्रित हुँदैन । 

पार्टी अहिले विकेन्द्रित हुनुभन्दा पनि केन्द्रीकृत हुँदै छ । यसबीच केन्द्रीय समितिले जिल्लाका अधिकारहरु पनि सबै हस्तक्षेप गरेर हिँडिरहेको छ । कांग्रेसजस्तो लोकतान्त्रिक पार्टीका लागि यो दुर्भाग्य हो, यो कुरा पार्टीलाई सुहाउँदैन । महासमितिको बैठकले निर्णय गरेका कुराहरु केन्द्रीय कमिटीले उल्टाएको छ, महासमितिले गरेको आग्रहलाई केन्द्रीय कार्यसमितिले कानमा तेल हालेर बसेको छ । बहुमतको नाममा आफ्नो कार्यकाल थप्ने गरेको छ । केन्द्रीय समितिको बहुमतले विधानलाई पारित गरेको अहिलेसम्मको कांग्रेसको इतिहास थिएन । अहिले पनि केन्द्रीय समितिको बहुमतकै आडमा होला जिल्ला समितिको प्रारम्भिक छानविन समितिको अधिकार पनि खोसिएको छ । 

सबैभन्दा पहिला अहिले पार्टी केन्द्रीय सभापति जुनजुन घेरामा हुनुहुन्छ, कत्ति पनि ढिला नगरी त्यसबाट बाहिर निस्कनुपर्छ । त्यसले उहाँलाई लोकतान्त्रिक नेता बन्न दिइरहेको छैन । कस्ता सल्लाहकारहरुको सल्लाह लिइरहनुभएको छ, त्यसमा तुरुन्तै पुनर्विचार गरेर गाउँगाउँका साथीहरुले के चाहिरहेका छन् भन्ने कुरालाई उहाँले छाम्नुर्यो । पार्टीको केन्द्रीय सभापतिले प्रदेशप्रदेशका केन्द्रीय पदाधिकारीलाई बोलाएर म केन्द्रीय सदस्यमा लड्छु, मलाई सहयोग गर्नुपर्यो भन्नेसम्मका समाचारहरु आए । कस्तो दुःखको कुरा भने, पार्टीको केन्द्रीय सभापतिले उहाँका पक्षका केन्द्रीय सदस्यहरुलाई बोलाउनुभयो रे ! यस्तो पनि हुन्छ ? केन्द्रीय सभापतिमा लड्छु भन्नेले त आफूसँग सहमति वा असहमति राख्ने सबैलाई बोलाएर एकपटक पुनः मलाई दोहोर्याउने रहर भयो, मेरा आधार यी यी हुन भनेर पो भन्नुपर्छ । 

त्यहाँ कसैले केही जिज्ञासा राखे भने उनीहरुको विचार राख्न पाइयो, आफ्ना जवाफ छन् भने पनि बोल्न पाइयो । केन्द्रीय सदस्य जो–जोलाई उहाँले बोलाउनुभयो, ती मेरा सदस्य होइनन् भनेर उहाँले घोषणा नै गर्नुभयो । उहाँ पार्टी सभापतिको उम्मेदवार मात्र नभई सभापति पनि हो । सबैको सभापति उहाँ नै हो । जसले अधिवेशन नै गराउनुपर्ने छ या ठूलो महोत्सवको रुपमा सम्पन्न हुने महाधिवेशनको नायक नै उहाँ हो । उहाँले नै कित्ताकाट गरेर हिँड्न सुहाउँछ ?
 
पार्टीभित्र उहाँले हस्तक्षेपका लागि आग्रह गर्नुभएको होइन ? विधि मिचिन नदिनु भनेर पो निर्देशन दिनपर्ने हुन्छ त ! महाधिवेशन गर्नुपर्ने नेतृत्वले नै त्यसविपरीत काम गरेपछि कहाँबाट स्वस्थ अधिवेशन हुन्छ ? त्यसकारण स्वच्छ महाधिवेशनमाथि प्रश्न उठिसक्यो । यो उहाँको लागि पनि हितकर होइन, अझ पार्टीका लागि त हुँदै होइन । 

अहिले पनि तल्लो तहमा अन्योल छ । हुन त पार्टी सभापतिले वक्तव्य नै निकालेर महाधिवेशन हुन्छ भन्नु नै उहाँले आफ्नै क्रेडिविलिटिमाथि उठाएको प्रश्न हो । आफूले गर्दै गरेका कामले, विधिले, तयारीले बोल्नपर्ने कुरा वक्तव्यले बोल्नपर्ने होइन नि ! यसको मतलब त साथीहरुलाई महाधिवेशन हुँदैन कि भनेर विश्वास नभएपछि वक्तव्य फ्याँक्नुपरेको होइन ? यो आफैंमा सुखद कुरा भएन् । 

अझै पनि अधिवेशन कुन विधिमा हुने भन्नेबारे छलफल भएको छैन । अधिवेशन गर्ने भन्ने हल्लामा कार्यतालिका आएको छ । केन्द्रीय महाधिवेशन भदौ २० सम्म पुग्नका लागि पनि संविधानले दिँदैन । १९ गतेसम्म सक्ने गरी मिति तोकिएको छ । भोलि सोच्दै नसोचेको अवस्था आइपर्यो भने के गर्ने ? यस्तो पनि हुन्छ ? कम्तीमा एक साताअगाडि सकिने गरी कार्यतालिका बनाउन सकिँदैनथ्यो ? तीन दिनका लागि भनेर बोलाएको बैठक १०÷११ दिन चलेको इतिहास छ । महाधिवेशनले अलिकति समय चाह्यो भने ‘खाए खा नखाए घिच’ भन्ने ? 

प्रजातान्त्रिक प्रक्रियाबाट समाधान खोज्नुभन्दा अन्यथा बाटोबाट समाधान खोज्ने प्रयास भएको देखिन्छ । यहाँ उमेरलाई आधार मानेर पुस्तान्तरको मुद्दा पनि उठेका छन् । अझ परिवारवादको कुरा पनि आएको छ । कांग्रेसमा पुस्तान्तरको कुरा पनि होइन, वंशान्तरणको कुरा पनि होइन अजेन्डासहितको रुपान्तरणको आवश्यकता छ । वैचारिक रुपान्तरणसहित नैतिकताको कुरा सबैभन्दा ठूलो हो । जतिसुकै राम्रो विचार बोके पनि नैतिक रुपमा हराम भइरसकेको छ भने वा नैतिक ताकतको वजन गुमाइसकेको छ भने त्यो सफल हुँदैन् । वैचारिक र नैतिक हिसाबले पनि पार्टीको रुपान्तरण अत्यन्त आवश्यक छ ।

  • प्रकाशित मिति : साउन ७, २०७८ बिहीबार १७:५:३५,   अन्तिम अपडेट : साउन ८, २०७८ शुक्रबार ७:३७:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया