शहीद स्मारक ए डिभिजन लिग असोज पहिलो सातादेखि आयोजना हुँदै छ । अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्माछिरिङ शेर्पाले चार क्लबको ज्ञापनपत्रले फरक नपर्ने भन्दै निर्धारित समयमा नै लिग सुचारु हुने बताए ।
ए डिभिजन लिग खेल्ने १४ क्लब मध्येका चार क्लबले मंगलबार लिग रोक्न अखिल नेपाल फुटबल संघ (एन्फा)लाई ज्ञापन पत्र बुझाएसँगै लिग अन्योल हुनसक्ने आशंका उत्पन्न भएको थियो ।
ललितपुरका चार क्लबले कोरोना महामारीले अक्रान्त बनाएको परिस्थितिमा लिग सञ्चालन गर्न कठिन हुने भन्दै लिग रोक्न मंगलबार अखिल नेपाल फुटबल संघ (एन्फा)का महासचिव इन्द्रमान तुलाधरलाई ज्ञापन पत्र बुझाएका थिए ।
सोही विषयलाई लिएर विभिन्न टिकाटिप्पणी भइरहेको अवस्थामा एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पाले कुनै क्लबले लिग रोक्न दिएको ज्ञापन पत्रले केही फरक नपर्ने भन्दै निर्धारित मितिमा नै लिग हुने बताए ।
शहीद स्मारक ए डिभिजन लिग २०२१ असोज ३ गतेदेखि आयोजना गर्ने तालिका एन्फाले यसअघि नै जारी गरेको छ । एन्फाले यसअघि नै पदाधिकारीहरूसँगको छलफलबाट असोज पहिलो सातादेखि गर्ने बताइसकेको थियो ।
सोही बैठकबाट ए डिभिजन लिगका लागि खेलाडी दर्ता साउन १५ गतेदेखि खुला पनि गरेको थियो । अध्यक्ष शेर्पाले चार क्लबको सहभागिता हुनेमा आशावादी रहेको र आइतबार छलफल हुने बताए । लिगमा सहभागी नभए लिग नियमावली अनुसार कारबाही हुने अध्यक्ष शेर्पाले बताए ।
असोजदेखि हुने लिगमा बी डिभिजन लिगबाट बढुवा भएको सातदोबाटो युथ क्लब सहित १४ क्लबले प्रतिस्पर्धा गर्दैछन् । अघिल्लो सिजनमा लिगको पुछारमा रहेर लिग टुङ्ग्याएको सरस्वती यो सिजनमा हुने छैन ।
शीर्ष डिभिजन लिग करिब ६ महिना सञ्चालन गर्ने तयारी रहेको छ । फरक ढाँचामा सञ्चालन गर्न लागिएको लिगमा पहिलो चरणमा सबै क्लबले एक आपसमा प्रतिस्पर्धा गर्नेछन् भने त्यसपश्चात शीर्ष ८ टोली उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।