प्रधानमन्त्री देउवालाई हरिबोल गजुरेलको आग्रह : दोस्रो गिरिजा बन्नुस्

नेकपा माओवादी केन्द्रका सांसद हरिबोल गजुरेलले प्रधानमन्त्री शेर बहादुर देउवालाई पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको जस्तै छवि बनाउने अवसर आएको बताएका छन् । 

शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद गजुरेलले नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले नेपाली राजनीतिमा राम्रो छवि बनाएर गएको उल्लेख गर्दै वर्तमान प्रधानमन्त्री देउवालाई पनि त्यो अवसर आएको बताएका हुन् । 

गजुरेलले देउवा पटक पटक प्रधानमन्त्री भएकाले विगतका अनुभवहरुको समीक्षा गर्दै राष्ट्रलाई नयाँ दिशामा लानका लागि पनि अनुरोध गरे ।  संविधानको रक्षा र संविधानको संशोधन गर्नका लागि वर्तमान सरकारले अग्रणी भूमिका खेल्नेमा उनले विश्वास व्यक्त गरे । 

गजुरेलले भने, ‘उहाँले अब फेरि गिरिजाप्रसाद कोइरालाले जो छवि बनाएर जानुभयो, त्यो छवि उहाँले कायम गर्नुपर्छ । इतिहासको समीक्षा गरेर कहाँ कहाँ त्रुटी भए, उहाँ  पटक पटक प्रधानमन्त्री हुनुभयो, धेरै अनुभव पनि छ, समीक्षा गरेर यो राष्ट्रलाई नयाँ दिशातिर लानका लागि र यो संविधानको रक्षाको लागि र संविधानलाई अझ पूर्णता दिनको लागि यसको कतिपय प्रावधानहरु जो अहिले हामी आवश्यकता महशुस गरिरहेका छौँ, त्यसलाई संशोधन गर्नका लागि पनि उहाँको अग्रणी भूमिका हुनेछ ।’

सांसद गजुरेलले संघीयताको गलत अभ्यास भएको भन्दै संविधानको मर्म अनुसारको संघीयताको अभ्यास हुनुपर्नेमा जोड दिए । उनले वर्तमान सरकारको कार्यकालमा शान्ति प्रक्रियाका बाँकी कामहरु पूरा हुने अपेक्षा गरिएको पनि बताए । 

गजुरेलले भने, ‘संघीयता अहिले उपहास भएको छ । के संघीयता छ ? अहिले संघीयता अभ्यास भइराखेको छ ? बनावटी संघीयता अभ्यास भइरहेको छ । वास्तविक संविधानको मर्म अनुसारको संघीयताको अभ्यास हुनुपर्यो । र, शान्ति प्रक्रियाका बाँकी कामहरु जो लम्बिदै गएका छन्, यसलाई टुंग्याउनु पर्यो । उहाँको यो कार्यकालमा नेपाली जनताले यी कुराहरु अपेक्षा गरेका छन् । र, सुशासन र भ्रष्टाचारमुक्त समाजको अपेक्षा गरेका छन् । भ्रष्टाचारका धेरै कुराहरु उठे । कुशासनका धेरै अभ्यासहरु भए त्यसलाई फेरि ट्रयाकमा ल्याउनको लागि सफल हुनुहोस् ।’



गजुरेलले जनताले सुशासन र भ्रष्टाचारमुक्त समाजको अपेक्षा गरेको उल्लेख गर्दै सरकारले भ्रष्टाचार र कुशासनको अन्त्य गर्नुपर्ने बताए । 



  • प्रकाशित मिति : साउन ८, २०७८ शुक्रबार १७:२८:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया