नेपालमा काेराेनाका तीन खाेप: भेराेसेल, काेभिसिल्ड र जाेनसनमा कुन सुरक्षित, कुन विश्वसनीय र किन ?

नेपालमा वितरण गरिएका कोभिसिल्ड, भेरोसेल र जोनसनको खोपमा कुन बढी उपयुक्त होला भन्ने प्रश्न उठ्न थालेको छ । यसको उत्तर कुनै एक भ्याक्सिनको पक्षमा देखिँदैन । जोनसन एन्ड जोनसनको एक डोजवाला खोपबारे थुप्रै अड्कल र अनुमान गर्न थालिएको छ । कतिपय खोप केन्द्रमा त मानिसहरु जोनसनको खोप नलगाई फर्किएको समेत पाइएको छ । कसैले कुन भनेका छन् त कसले कुन ! यतिसम्म कि, कतिपय चिकित्सक पनि यही सबैभन्दा राम्रो भन्न सकिरहेका छैनन् । 

यस विषयमा विभिन्न व्यक्तिका आ–आफ्नै धारणा र अनुमान छन् । तर, सरुवारोग विशेषज्ञ, महामारीविद्जस्ता स्वास्थ्यकर्मीले भने एउटै विचार व्यक्त गरेको पाइन्छ । 

 

कोभिसिल्ड

नेपालमा आयात गरिएको पहिलो कोभिड भ्याक्सिन कोभिसिल्ड हो । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)बाट स्वीकृति प्राप्त यो खोप भारतको पुणेस्थित सिरम इन्स्टिच्युटले उत्पादन गरेको हो । यो खोपको १० लाख डोज पहिलो चरणमा नेपाल आएको थियो । 

अहिलेसम्म यो खोपको ३४ लाख ४८ हजार डोज नेपाल आइसकेको छ । नेपालमा कोभिसिल्ड १८ लाख २८ हजार ४ सय ८४ जनाले पहिलो डोज लगाइसकेका छन् । त्यस्तै चार लाख ६० हजार ७ सय ३४ जनाले दोस्रो डोज पनि पाइसकेका छन् । 



यो खोपको विश्वासनीयतामा अहिलेसम्म प्रश्न उठेको पाइँदैन । परीक्षण गरेर नै नेपाल पठाइएको हुनाले यसको विश्वास गर्न लायक रहेको बताउँछन् शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका विशेषज्ञ डा. शेरबहादुर पुन । 

पहिलो पटक यो खोप लगाउँदा मानिसहरुलाई जिउ दुख्ने, ज्वरो आउने जस्ता लक्षणहरु देखिएको थियो । यो ‘भाइरल भेक्टर भ्याक्सिन’ हो । यसको निर्माण गर्दा एरिनो भाइरसलाई प्रयोग गरिन्छ । शरीरभित्र कोरोना भाइरसको केही अंश प्रवेश गराई विभिन्न प्रविधिबाट प्रतिरोधात्मक क्षमता निर्माण गर्न यसले मद्दत गर्छ । ‘नन रिप्लिकेटिभ भाइरल भेक्टर’ मा आधारित यस खोपले शरीरमा प्रोटिन निमार्णमा सहयोग गर्छ ।  



त्यस्तै, खोप विकासको अर्को प्रविधिमा भाइरसलाई निष्क्रिय पारिन्छ । तर, त्यसो गर्दा केमिकल तथा विभिन्न रसायनको प्रयोग गरी सुरक्षित बनाइन्छ । भारत बायोटेकबाट उत्पादित र भारतको नियमनकारी निकायले आपत्कालीन प्रयोगका लागि अनुमति दिएको कोभ्याक्सिन नामक यो प्रविधिमा आधारित भ्याक्सिन हो । भारतको नेसनल इन्स्टिच्युट अफ भाइरोलोजीमा कोरोना भााइरसको एक नमूना प्रयोग गरी यो खोपको विकास गरिएको हो ।   

दुई दशक पुरानो यस कम्पनीले १६ थरिका खोप बनाई १२३ देशमा आपुर्ति गरिसकेको बिबिसीको एक रिपोर्टमा जनाइएको छ । तर, यो खोपको तेस्रो चरणको परीक्षण र यसको विकासक्रमबारे प्रश्नहरु उठेका थिए । 

यसबारे डा. पुन भन्छन्, ‘विश्वसनीय छ । यसको प्रयोग विभिन्न देशहरुमा परीक्षणपछि मात्रै गरिएको छ । सोही अनुरुप नेपालमा पनि यसको प्रयोग गरिएको हो ।’

 

भेरोसेल 

चीनमा उत्पादित यो खोप नेपालमा २८ लाख डोज आयात भइसकेको छ । चिनियाँ भेरोसेलको पहिलो डोज १४ लाख ८० हजार २ सय ४६  जनाले प्राप्त गरिसकेका छन् । त्यस्तै, ६ लाख ८२ हजार ७ सय ९० जनाले यस खोपको दोस्रो डोज पनि प्राप्त गरिसकेका छन् । यसको ४० लाख डोज सरकारले चीनसँग खरिद गरेको हो । 

यो खोपको विश्वसनीयताबारे भने डा. पुन भन्छन्, ‘यो खोपले कोभिसिल्डको जस्तो जिउ दुख्ने, ज्वरो आउनेजस्ता असर देखाएको छैन ।’ भेरोसेल भाइरसलाई निष्क्रिय बनाएर बनाइएको भ्याक्सिन हो । यसमा कोरोना भाइरसका किटाणुहरुलाई निष्क्रिय बनाएर शरीरमा प्रवेश गराइन्छ । 

यो खोप नेपालमा प्रभावकारी देखिएको छ । अन्यको तुलनामा धेरै मानिसले भेरोसेल लगाइसकेका छन् । डा. पुन भन्छन्, ‘यसको असर कस्तो छ अथवा अहिलेसम्म कत्तिको प्रभावकारी भएको छ भन्ने सामान्य कुराहरु थाहा भइसकेको छ । यसलाई नेपालमा अहिलेसम्म लगाइएका खोपहरुमा सफल मान्न सकिन्छ ।’

 

जोनसन एन्ड जोनसनको खोप 

संसारमा अहिलेसम्म कोभिडविरुद्ध लगाउन मिल्नेमध्ये जोनसन एन्ड जोनसनको खोप पनि एक हो । अमेरिकाको जोनसन एन्ड जोनसन कम्पनीद्वारा उत्पादित यो खोपको १५ लाख ३४ हजार डोज नेपालले कोभ्याक्स सुविधा अन्तर्गत प्राप्त गरेको हो । यसलाई डब्ल्यूएचओले पनि लगाउन अनुमति दिइसकेको छ । यसलाई अमेरिकी एफडीएबाट पनि संसारभरि लगाउन मिल्ने अनुमति दिइएको हो ।

नेपालको स्वास्थ्य मन्त्रालयबाट पनि १८ वर्षमाथिका सर्वसाधरणमा यो खोप लगाउने अनुमति दिएको छ । यसले पछिल्लो समय नेपाली बजार राम्रै तताएको छ । यो खोप अन्यभन्दा फरक खालको छ । यो खोप एक डोज मात्रै लगाए हुने भएका कारण यसको प्रभावकारिताबारे चर्चा चुलिएको हो । 

यो खोपका कारण न्युरोलोजिकल डिसअर्डर जस्ता समस्या आउने कुराहरु पछिल्लो समय नेपाली बजारमा धेरै सुनियो । यसबारे डा. पुन भन्छन, ‘यो खोप धेरै मानिसमा लगाउँदा निकै कममा समस्या देखिएको हो । देश अनुसार रिपोर्ट फरक आउँछ । सबैमा यही प्रकारको लक्षण देखिन्छ भन्ने हुँदैन ।’ यो खोपको सुरक्षितताबारे डब्ल्यूएचओले नै प्रमाणित गरिसकेको छ । 

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका  प्रमुुख कन्सलटेन्ट फिजिसियन डा. विमल शर्मा पनि यो खोपलाई एकदमै सुरक्षित मान्छन् । उनले स्वास्थ्य मन्त्रालयबाट बिहीबार सार्वजनिक गरिएको एक भिडियोमा यो कुरा खुलाएका हुन् । 

 

नेपालमा सीधै बाहिरबाट आयातीत खोप लगाउनु कत्तिको सुरक्षित ?

सरुवा रोग विशेषज्ञ डा. पुनका अनुसार, नेपालमा आएका कुनै पनि खोप कम प्रभावकारी या बढी प्रभावकारी भन्ने हुँदैन । उनी भन्छन्, ‘नेपालमा आएका सबै खोप सम्बद्ध देशहरुमा परीक्षण गरेर लगाउन अनुमति पाएका मात्रै छन् ।’ तीनै वटा खोप डब्ल्यूएचओले प्रयोग अनुमति दिएका छन् । जसका कारण यो यी सबै खोपकोे प्रयोग ढुक्क भएर गर्न सकिने चिकित्सकहरु बताउँछन् । 

‘आपत्कालीन प्रयोगका लागि अनुमति प्राप्त भएका कारण यी खोपहरु प्रयोगमा ल्याउनु असुरक्षित हुँदैन,’ डा. पुनले भने । यी खोपहरु निर्माणका क्रममा विभिन्न चरणका परीक्षण हुने गर्छ । परीक्षण सफल भएपछि तथा अनुमति प्राप्त भएपछि खोप सर्वमान्य भएको पुनको भनाइ छ । यदि अन्य किसिमका रोगका नियमित खोपहरु भएको भए नेपाल सरकारले निश्चित प्रावधान तथा ऐनमा आधारित मापदण्दहरु पालना गर्नुपर्ने हुन्थ्यो । 

डा. पुन भन्छन्, ‘यो खोप विभिन्न चरणका परीक्षणहरुबाट सफल भएर तथा विश्व स्वास्थ्य संगठनले प्रयोग अनुमति दिएका कारण प्रयोगमा सुरक्षित मानिएको हो ।’ 

तीनैवटा खोप उत्तिकै प्रभावकारी छ । यसमा शंका नगरी जतिसक्दो धेरैले खोप लगाउनुपर्नेमा डा. पुनले विशेष जोड दिन्छन् । तेस्रो लहर कहिले आउने हो भन्ने त्रासका बीच खोप अपरिहार्य भएका कारण तीनवटामध्ये जुनसुकै खोप लगाए पनि हुने उनले बताएका छन् ।

अहिलेको समयमा खोप अपरिहार्य रहेको चिकित्सक तथा जनस्वास्थ्यविद्हरुको भनाइ छ । जनस्वास्थ्यविद् डा. बाबुराम मरासिनी पनि खोपलाई जतिसक्दो सहज बनाउनुपर्ने बताउँछन् । उनी भन्छन्, ‘खोप अपरिहार्य छ । यसले संक्रमण नियन्त्रणमा निकै महत्वपूर्ण भूमिका निर्वाह गर्छ ।’ तेस्रो लहरको खतरा अझै नसकिएका कारण खोप लगाउने कार्यलाई जतिसक्दो तीव्र बनाउन उनले सरकारसँग अनुरोध गरेका छन् । 

  • प्रकाशित मिति : साउन ८, २०७८ शुक्रबार १७:२९:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया