स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसविरुद्धको खोप कार्डको प्रमाणीकरणका लागि थप तीन अस्पताल तोकेको छ ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा मात्रै खोप कार्ड प्रमाणीकरण हुँदै आएकामा आजदेखि पाटन अस्पताल, सशस्त्र प्रहरी बल अस्पताल बलम्बु र सिभिल अस्पतालबाट पनि खोप कार्ड प्रमाणीकरण गर्न थालिएको स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका निर्देशक डा. तारानाथ पोखरेलले जानकारी दिए ।
उनले शुक्रराज अस्पतालमा खोप कार्ड प्रमाणीकरणका लागि भिड भएकाले थप तीन अस्पतालबाट पनि प्रमाणीकरण आजैदेखि गरिएको जानकारी दिए ।
थप तीन अस्पतालबाट खोप प्रमाणीकरण गर्न थालेपछि शुक्रराज अस्पतालमा भिड कम भएको छ । यसअघि शुक्रराज अस्पतालबाट मात्र खोप प्रमाणीकरण हुने भएपछि विदेश जानेको भिड रहेको थियो ।
खोप लगाइसकेपछि वैदेशिक रोजगारमा जाने र विदेशमा अध्ययन भ्रमणमा जाने विद्यार्थीलाई खोप लगाइसकेपछि खोप कार्डको प्रमाणीकरण अनिवार्य लिनुपर्ने व्यवस्था सरकार र विभिन्न देशले गरेका छन् । उनले चाँडै नै अनलाइनबाट खोप कार्ड प्रमाणीकरण गर्ने तयारीसमेत गरिएको जानकारी दिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।