जनता समाजवादी पार्टी (जसपा)को विवादमा निर्वाचन आयोगले कार्यकारीणी सदस्यहरुलाई सशरीर उपस्थित हुन निर्देशन दिएपछि उपेन्द्र यादव पक्षले त्यसको तयारी गरेको छ । आयोगले सोमबारका लागि सबै कार्यकारिणी सदस्यहरुलाई बोलाएको छ ।
त्यसको अघिल्लो दिन आइतबार उपेन्द्र पक्षले आफूनिकट कार्यकारीणी सदस्यलाई ललितपुरको एक रिसोर्टमा राखेर प्रशिक्षण दिएका छन् । आफ्नो पक्षमा बहुमत (३२ जना) कार्यकारीणी सदस्य रहेको सो पक्षको दाबी छ ।
यसअघि तत्कालीन प्रधानमन्त्री केपी ओलीको समर्थनका लागि महन्थ पक्षले आफ्ना निकटका सांसदलाई भक्तपुरको एका रिसोर्टमा राखेको थियो ।
जसपाको ५१ सदस्यीय कार्यकारिणीमा बहुमतका लागि २६ जना आवश्यक पर्छ । आजको बैठकमा ३२ जना सदस्य उपस्थित रहेको यादव पक्षको दाबी छ ।
अध्यक्ष महन्थ ठाकुर पक्षले भने निर्वाचन आयोगको निर्देशनविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेको छ । सो रिटमा सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।
दुवै पक्षलाई आगामी १५ गते उपस्थित हुन सर्वोच्च अदालतले आदेश गरेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।