काङ्ग्रेस जिल्ला सभापतिसँग फरकधार
‘पार्टीको वैधानिकताका लागि पनि त्याग गर्न सक्नुपर्छ’

(सम्पादकीय नाेट :१४औँ महाधिवेशनको काउन्टडाउन सुरु हुँदै गर्दा यतिबेला नेपाली कांग्रेसभित्र राजनीतिक सरगर्मी बढेको छ । पार्टी सभापतिदेखि केन्द्रीय समिति, प्रदेश, जिल्ला हुँदै वडास्तरसम्म यतिबेला कांग्रेसलाई महाधिवेशनले छोपेको छ । 

अब कांग्रेसले पाउने नेतृत्व कस्तो होला ? र, महाधिवेशनपछिको कांग्रेस कस्तो होला ? भन्ने प्रश्न जनमानसमा छ । त्यसो त कांग्रेस केन्द्रीय तहका नेताहरुलाई तल्लो तहका नेताले सुझाव पनि दिइरहेका छन् । 

फरकधारको यो शृंखलामा हामीले कांग्रेसका जिल्ला सभापतिहरुसँग महाधिवेशनपछिको कांग्रेस कस्तो हुनुपर्छ ? र, युवा नेतृत्वको सम्भावना के छ ? भनी सोध्ने छौँ । यसै क्रममा रामेछाप जिल्लाका नेपाली कांग्रेसका सभापति  लवश्री न्याैपानेलाई हामीले यो शृंखलामा प्रस्तुत गरेका छौँ । )

नेपाली कांग्रेसको १४ औं महाधिवेशनको काउन्टडाउन सुरु भइसकेको छ । अब हामी पार्टीभित्र भर्खरका युवालाई प्राथमिकता दिएर अघि बढ्नपर्ने पक्षमा छौं । पार्टीको इतिहासलाई ध्यानमा राखेर विचार–सिद्धान्त बोक्न सक्ने र गति दिन सक्ने उम्मेदवारलाई प्रमुख प्राथमिकतामा राख्नुपर्छ । हाम्रो चाहनाले मात्र सबै कुरा हुँदैन । नीति–निर्माण गरिरहेका शीर्षस्थहरुको कस्तो धारणा हो भन्ने कुरा पनि महत्वपूर्ण हुन जान्छ । म एउटा जिल्लाको नेतृत्व गरिरहेको सभापतिको हैसियतले पार्टीलाई नयाँ ढंगबाट चलाउन सक्ने नेतृत्वको खोजीमा छु भन्ने प्रष्ट विचार राख्छु । 

कांग्रेसमा युवा नेतृत्व

कांग्रेसमा लामो समयदेखि युवा नेतृत्वको बहस उठिरहेको छ । यसमा मेरो स्पष्ट धारणा भनेको युवा र बुढाहरुको सम्मिश्रणबाट पार्टी अघि बढ्नुपर्छ भन्ने नै हो ।भोलिको मुलुकको नेतृत्व हाँक्ने त अन्ततः युवाहरुले नै हो । युवाको जोश र बुढाको होस मिसाएर पदाधिकारी छनाेट गर्ने हो भने साँच्चै राम्रो हुन्छ । 



नेपाली कांग्रेसमा परिवारवाद हावी भयो भन्ने अर्को बहस पनि लामो समयदेखि जारी छ । परिवारवाद हेर्नभन्दा पनि विचारले पार्टीको प्रतिनिधित्व गर्नुपर्छ भन्ने मेरो धारणा छ । जुन परिवार कांग्रेस र समग्र देशको राजनीतिमा लागेको छ, त्यो परिवारले नै पार्टी चलाउने हो । सत्ता पनि त्यसै गरी चलाउने हो । नेपाली कांग्रेसको इतिहासमा हिजो कोइराला परिवारले नेतृत्व गर्यो । त्यसपछि किसुनजी, सुवर्ण शमशेरलगायतले नेतृत्व गर्नुभयो । त्यो बेलामा पनि परिवारवाद हाबी भयो भनियो । अहिले शेरबहादुर देउवाले पार्टीको नेतृत्व गरिरहनुभएको छ । हामीलाई परिवारवाद हाबी भयो भन्ने भान अहिलेसम्म परेको छैन । तर, परिवारको ट्याग लाउँछ भने उनीहरुको तपस्या र त्याग पनि त बढी होला नि ? त्यो विषयमा पनि ध्यान दिन जरुरी छ । 

महाधिवेशन कसरी गर्ने ?



अहिलेको परिस्थिति हेर्ने हो भने, तत्काल अधिवेशन होला जस्तो मलाईचाहिँ लाग्दैन । केन्द्रीय समितिले पनि पहिल्यै नै गर्नुपर्ने काम गरेन, गर्नै सकेन । मैले नेतृत्व गरिरहेको रामेछापमा पनि गाउँगाउँमा कोरोना भाइरसको महामारी कायमै छ । ४०÷५० जना काम गरेर बसिरहेको ठाउँमा पनि कोरोनाको हाहाकार छ । त्यसकारण समस्या त छ, तर अहिलेको आधुनिक प्रविधि प्रयोगबाट पनि गर्न त सकिन्छ ।

पार्टीमा एकता कायम हुुनु सबैभन्दा बढी आवश्यक काम हो । एकता नै नभई पार्टी कसरी अगाडि बढ्ला ? त्यसमा निम्ति केन्द्रीय नेताहरुले अब यो पार्टीलाई वैधानिकताको लागि पनि त्याग गर्न सक्नुपर्छ । होइन भने, अहिलेको महाधिवेशन गर्ने उपयुक्त अवस्था छैन । दोस्रो कुरा, बाढी–पहिरो जस्ता प्रकोपको डर पनि उत्तिकै छ । नेपाली जनता अहिले विभिन्न समस्या भोगिरहेका छन् । यो अवस्थामा कांग्रेसले महाधिवेशन गर्नुभन्दा संवैधानिक दृष्टिकोणबाट कसरी हुन्छ शीर्ष नेताहरु मिलेर वैधानिकता जोगाउनतिर लाग्नुपर्छ । अहिले नै ठूलो महाधिवेशनमा गइहाल्नुपर्छ जस्तो मलाई लाग्दैन । मेरै जिल्लामा धेरै ठाउँमा अधिवेशन हुन नसक्ने सम्भावना बढ्दै गएको छ । पार्टी साथीहरु के भन्छन् भने– स्थानीय तहको चुनावसम्म पार्टीको वैधानिकता जोगाउनेतिर मात्र सोच्नुपर्छ । 

सुझाब

पार्टीभित्र अहिले विशेष महाधिवेशन गरेर अघि बढ्ने बहस पनि चल्नुपर्ने बेला आइसकेको छ । अहिले त विशेष महाधिवेशन गरेर अघि बढ्दा भइगयो नि ! अनलाइन सिस्टमबाट विशेष महाधिवेशन गरेर पार्टीको नयाँ विधान र संरचना अनुसार पद बाँडबाँट गर्नेतिर नेतृत्वले सोच्नुपर्ने बेला आइसकेको छ । 

कांग्रेसका अधिकांश नेता–कार्यकर्ता अहिले केन्द्रमुखी भएर बसेका छन् । यिनीहरु गाउँमा गएर कोरोना लाग्यो भने वा एकजना मान्छेको मृत्यु भयो भने कांग्रेसले कोरोना ल्याएर मान्छेको मृत्यु भयो भन्नेसम्मको आरोप खेप्नुपर्छ । अहिले त झनै सत्तामा पुगेको नेपाली कांग्रेसले यस्ता विषयमा ध्यान बढी नै दिनु आवश्यक छ । जनताको भावना अनुसार शासन गर्ने पार्टी भएकाले कांग्रेसले जनताको आवाज सुन्नुपर्छ । पार्टीले पहिलो प्राथमिकतामा जनतालाई राख्नुपर्छ । जनतालाई महामारीबाट जोगाउने कामलाई प्राथमिकता दिनुपर्छ । खोपको व्यवस्था चाँडो हुनुपर्छ । महाधिवेशनको रटान लगाएर मात्रै कांग्रेस अघि बढ्न सक्ने छैन । 

समाधानको बाटो 

म आफू लामो समयदेखि पार्टीमा सक्रिय रहेर राजनीति गरेको मानिस हुँ । मेरो अनुभवले अहिले अलिक फरक तरिकाबाट पार्टी चल्नुपर्ने देख्छ । नेपाली कांग्रेसले बिपी कोइरालाको नीति अवलम्बन गर्नुपर्यो । उहाँको नीति भनेको कस्तो हो भने, वामपन्थीसँग कहिल्यै पनि सहकार्य गरेर अघि बढ्न सकिँदैन । अहिले वामपन्थीले किस्तीमा राखेर हाम्रा सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाएका छन् ।

यसबाट पनि कांग्रेस बढी सजग हुनुपर्ने अवस्था छ । कांग्रेसले आफ्नै खुट्टामा उभिने प्रयत्न गर्नुपर्छ, वामपन्थीसँग सहकार्य गरेर हुँदै हुँदैन । वामपन्थीको विचार छुट्टै छ, स्तर छुट्टै छ । हामीले विचारको प्रतिनिधित्व गर्छौं भने उनीहरुले नेपाली जनतालाई दास बनाउन खोज्छन् । यो तथ्यलाई त केपी शर्मा ओलीको साढे तीन वर्षे कार्यकालले देखाइसकेको छ । 

उनीहरुले सत्ता पाउँदा कुनै पनि हालतमा राम्रो नगर्ने रहेछन् भन्ने अब बुझिसकियो । त्यसकारण नेपाली कांग्रेस यतिबेला जनताप्रति उत्तरदायी हुनुपर्यो । विकास निर्माणका कुरा अघि बढाउनुपर्यो, कोभिडको अन्त्य गर्नुपर्यो, प्राकृतिक विपद्मा परेका जनतालाई राहत दिनुपर्यो । कांग्रेसले आफू एक्लै चुनावमा भाग लिएर राजनीतिमा स्थापित हुनुपर्यो भन्ने मेरो धारणा छ । मुख्य कुरो, कांग्रेसले कम्युनिस्टसँग सहकार्य गर्नै हुँदैन ।

(न्याैपाने नेपाली कांग्रेस, रामेछापका सभापति हुन् ।) 

यही सिरिजमा यसअघि प्रकाशित अन्य जिल्ला सभापतिका यी विचार पनि पढ्नुहाेस्–

युवामा क्षमता देखिनुपर्यो, अनि मात्र नेतृत्वमा दाबी गर्नुपर्छ – पर्सा सभापति

चार वर्षमा हुनुपर्ने महाधिवेशन पाँच वर्षमा पनि गर्न नसक्ने यो कस्तो नेतृत्व ?—नुवाकोट सभापति

‘कांग्रेसको इतिहास संरक्षण गर्ने नेतृत्व आवश्यक छ’— काठमाडाै‌ं सभापति

‘हामी संकटपूर्ण महाधिवेशनको मुखमा छौँ’— काभ्रेपलान्चाेक सभापित

‘नयाँ नेतृत्व, नयाँ विचार, नयाँ ढंग, नयाँ कार्यक्रमका साथ कांग्रेस अगाडि बढ्नुपर्छ’— सिन्धुपाल्चाेक सभापति

‘युवाहरुले धारणा नबदल्ने हो भने नेतृत्वमा आउँदैनन्’— भक्तपुर सभापति

 

 

  • प्रकाशित मिति : साउन ११, २०७८ साेमबार १८:४३:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया