मध्यपश्चिम विश्वविद्यालयमा प्रहरीको दैनिक निगरानी

सुर्खेतको वीरेन्द्रनगरमा रहेको मध्यपश्चिम विश्वविद्यालयमा प्रहरीको दैनिक निगरानी बढ्न थालेको छ । विश्वविद्यालयका उपकुलपति नन्द बहादुर सिंह, क्याम्पसमा अध्यापन गराइराखेका प्राध्यापक तथा संयुक्त विद्यार्थी संगठनहरूको आपसी विवादका कारण क्याम्पसमा केही दिनयता तनाव सिर्जना भएको छ । विश्वविद्यालय प्रशासनले थालेका सम्पूर्ण कार्यक्रम ठप्प रहेका छन् । विश्वविद्यालयले तय गरेको परीक्षासम्म हुन सकिरहेका छैनन् ।

क्याम्पस परिसर तथा मुल गेट नजिक विद्यार्थी तथा आन्दोलित प्राध्यापकहरूको दैनिक भीड देखिन्छ । उनीहरू आफ्ना माग पुरा नभए आन्दोलनलाई अझ कडा रूपमा लैजाने चेतावनी दिँदै आएका छन् ।

संयुक्त विद्यार्थी संगठनहरूले १८ बुँदे माग सार्वजनिक गरेर क्याम्पसका सम्पूर्ण संकायमा तालाबन्दी गरेका छन् । उपकुलपतिको कार्यशैलीप्रति प्राध्यापकहरूले पनि आफ्ना १५ बुँदे मागसहित तालाबन्दी, अनशन तथा धर्नाका कार्यक्रम सार्वजनिक गरेका छन् ।

आन्दोलनमा सहभागी प्राध्यापक सिंहराज गुरुङले आफ्ना मागहरूलाई क्याम्पस प्रशासनले ध्यान नदिए थप सशक्त आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने बताए । तत्काल आफ्ना १५ बुँदे मागहरूको सम्बोधन गर्नुपर्ने उनको भनाइ छ । 

क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूको भविष्य अन्योलमा परेको स्थानीयहरू बताउँछन् । तर आन्दोलनको श्रृंखलाबाट आफूहरू एक रति पनि पछाडि नहट्ने कुरामा अडिग रहेको विद्यार्थी नेतृ तिर्सना हमालले जानकारी दिइन् । हमालका अनुसार आफ्ना मागहरू जाहेज रहेको र तत्काल वार्ताको प्रक्रियामा क्याम्पस प्रशासनले चासो दिनुपर्ने जिकिर गरिन् ।

दैनिक विद्यार्थीहरूको उपस्थिति हुनुपर्ने ठाउँमा प्रहरीको सुरक्षा घेरामा आन्दोलन गर्नुपर्ने अवस्थाको सिर्जना भएको छ । तत्काल सरोकारवाला निकायले ध्यान दिन जरुरी देखिन्छ ।  
 





  • प्रकाशित मिति : साउन १२, २०७८ मंगलबार १५:४०:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया