के गठबन्धन बैठकमा चित्रबहादुर केसीले प्रधानमन्त्री देउवालाई साँच्चिकै ‘चेतावनी’ दिएका हुन् ?

सत्ता साझेदार पाँच दलीय गठबन्धनको बैठक बुधबार विहान बालुवाटारमा बसेपछि बैठकमा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रधानमन्त्री शेरबहादुर देउवालाई आफूले गठबन्धन छोड्न सक्ने चेतावनी दिएको समाचार बाहिरिएका छन् ।

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले यसअघि जस्तै यसपटक पनि गठबन्धनको बैठकमा संघीयता र अमेरिकी आर्थिक सहायता एमसिसीबारे प्रश्न उठाएको बताइएको छ । यति मात्र होइन, केसीले गठबन्धनको बैठकमा स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठबारे पनि प्रश्न गरेको समाचार बाहिरिएका छन् । 

केसीले सरकार अहिले एमसिसी पारित गर्न बढी इच्छुक देखिएको तर कोरोनाभाइरस संक्रमणबाट नेपालीहरुको मृत्यु भइरहेको सम्बन्धमा खासै चासो नदिएको विषयमा पनि बाहिर आएको छ । 

हामीले गठबन्धनको बैठकमा के चित्रबहादुर केसीले साँच्चिकै प्रश्न उठाएका हुन् त भन्ने विषयमा बैठकमा सहभागी नेकपा एमाले वरिष्ठ नेता माधवकुमार नेपालका प्रतिनिधि डा. विजय पौडेललाई प्रश्न गरेका थियौँ । 

प्रश्न सुनेलगत्तै डा. पौडेलले भने, ‘यो विषयमा बैठकमा केही कुरा नै भएको थिएन । बाहिर कसरी हल्ला आयो भन्ने मलाई थाहा छैन ।’

गठबन्धनको बैठकमा नेपाली कांग्रेसका नेता तथा सरकार सन्चालनका लागि चुस्त बनाउन बनाइएको कार्यदलका सदस्य पूर्णबहादुर खड्का पनि थिए । हामीले उनलाई पनि आजको बैठकमा चित्रबहादुर केसीले के प्रधानमन्त्री देउवालाई गठबन्धनबाट आफ्नो पार्टी बाहिरिने चेतावनी दिएका हुन् भनेर प्रश्न गरेका छौँ ।



‘आजको बैठकमा यस्तो विषयमा केही पनि कुरा भएको होइन,’ खड्काले फरकधारलाई भने, ‘आज सबै नेताहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई सुझाव दिनु भएको हो ।’ खड्काले आजको बैठकमा सरकारलाई थप प्रभावकारी बनाउने विषयमा छलफल भएको पनि बताए । 

‘मन्त्रिपरिषद् विस्तार छिटो गर्ने भन्ने पनि आज छलफल भएको छ,’ उनले भने, ‘तर, ठ्याक्कै यही दिन गर्ने भन्नेबारे चाहिँ कुरा भएको छैन ।’



यति भनिसकेपछि खड्का चित्रबहादुर केसीले आज उठाएको विषयमा केन्द्रित भए ।

‘आजको बैठकमा उहाँले निकै राम्रो कुरा गर्नु भएको छ,’ खड्काले भने, ‘उहाँले सरकार जनताप्रति जवाफदेयी हुनुपर्छ भन्ने कुरा मात्र होइन, यो सरकारले कसरी राम्रो गर्न सक्छ भन्ने विषयमा पनि बोल्नु भएको थियो ।’

खड्काका अनुसार आजको बैठकमा केसीले संघीयता र एमसिसीबारे कुरै गरेका थिएनन् ।

‘सरकारको समीक्षा गर्न र आगामि रणनीति बनाउन बोलाइएको बैठक भएकाले पनि हुनुपर्छ, उहाँले यस विषयमा बोलेको मैले सुनिनँ,’ खड्काले भने, ‘बाहिर अहिले जे चर्चामा आएको छ, त्यो यत्तिकै हल्ला आएको हो ।’

तर, केसीले सरकारलाई समर्थन गर्ने वा नगर्ने विषयमा चाहिँ आफ्नो धारणा राखेको खड्काले बताएका छन् ।

‘हो, उहाँले सरकारले राम्रो काम नगर्दा आफूहरु प्रतिपक्षमा बस्ने चाहिँ बताउनु भएको थियो,’ खड्काले बताए, ‘तर, यस्तो हुनुमा सरकारको कामबारे व्यापक समीक्षा हुने पनि उहाँले बताउनु भएको हो ।’

‘हामी सरकारमा सहभागी हुँदैनौँ, यो सरकारलाई हाम्रो समर्थन छ,’ केसीको भनाइलाई खड्काले उद्धृत गरे, ‘तर, सरकारको गुण दोषका आधारमा हामीले यो समर्थन गरिरहने वा हामी प्रतिपक्षमा बस्ने भन्ने कुरा निर्धारण गर्छ । अहिले सरकारलाई समर्थन हामीले गरेका छौँ भनेको सरकारले नराम्रो गर्दा पनि हामीले समर्थन गरिरहन्छौँ भन्ने चाहिँ होइन ।’

केसीले आफूहरुले प्रतिगमन परास्त गर्न देउवालाई प्रधानमन्त्रीमा समर्थन गरेकाले र गठबन्धनमा सहभागी भएकाले सरकारले चनाखो भएर देश र नेपालीका लागि काम गर्नु पर्ने पनि बैठकमा बताएको खड्काले जानकारी दिएका छन् ।

  • प्रकाशित मिति : साउन १३, २०७८ बुधबार १३:१:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया