एसइईको नतिजा साउन २५ गतेभित्र सार्वजनिक गर्ने तयारी

राष्ट्रिय परीक्षा बोर्ड सानो ठिमीले माध्यमिक शिक्षा परीक्षा (एसइई) को आन्तरिक मूल्यांकनको नतिजा यही साउन २५ गतेभित्र सार्वजनिक गर्ने भएको छ ।  

यही साउन २५ गतेभित्रमा ०७७ को एसइई नतिजा सार्वजनिक गर्ने गरी अहिले तीव्र रूपमा काम भइरहेको परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) का परीक्षा नियन्त्रक रुद्र अधिकारीले बताए ।   

सबै जिल्लाबाट विद्यार्थीको मूल्यांकन नतिजा आएर इन्ट्री सकेर नम्बर रुजु गर्ने काम भइरहेको बताउँदै उनले कुनै प्राविधिक कठिनाइ नआए आगामी शुक्रबारभित्र विद्यार्थीको नतिजा रुजु गरिसक्ने र त्यसको एक साताभित्रमा नतिजा सार्वजनिक गर्ने उनले बताए । 

कार्यालयका अनुसार ०७७ सालको एसइई परीक्षाका लागि पाँच लाख १७ हजार विद्यार्थीले रजिस्ट्रेसन फारम भरेका थिए । दोस्रो लहरको कोभिड–१९ संक्रमण बढ्दै गएपछि गरिएको निषेधाज्ञाका कारण गत वैशाख २७ गते एसइई परीक्षा स्थगित भएको थियो । 

गत जेठ १३ देखि भौतिक रूपमा एसइई परीक्षा सञ्चालन गर्ने गरी बोर्डले तालिका सार्वजनिक गरे पनि कोभिडकै कारण परीक्षा हुन नसकेपछि जेठ १७ गते बसेको मन्त्रिपरिषद् बैठकले आन्तरिक मूल्यांकनबाट नतिजा प्रकाशित गर्ने निर्णय गरेको थियो ।

बोर्डले एसइईको विद्यार्थी मूल्यांकन, नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधि, २०७८ जारी गर्दै सैद्धान्तिकतर्फ कुनै पनि विषयमा ८० प्रतिशत वा सोभन्दा बढी प्राप्तांक प्राप्त गर्ने विद्यार्थीको विषयगत शिक्षकले के कारण उक्त नम्बर दिइएको हो भनेर कारण खुलाउनुपर्ने जनाएको छ । 



कोभिडकै कारणले ०७६ सालको एसइई परीक्षाको नतिजा  पनि आन्तरिक मूल्यांकनबाट प्रकाशित गरिएको थियो ।



  • प्रकाशित मिति : साउन १३, २०७८ बुधबार १९:५४:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया