अर्थतन्त्रलाई अलिकति नयाँ दिशामा लैजाने कोसिस गर्दैछु : जनार्दन शर्मा
फरकधार / १४ साउन, २०७८

अर्थमन्त्री जनार्दन शर्माले मन्त्रालयबाट मौद्रिक नीति ल्याउन रोकिएको भन्ने समाचारमा कुनै सत्यता नरहेको स्पष्ट पारेका छन् । आर्थिक पत्रकार संघ नेपाल, नाफिजका पदाधिकारी तथा कार्यसमिति सदस्यहरु सँगको भेटघाटको क्रममा मन्त्री शर्माले राष्ट्र बैंक स्वायत्त संस्था भएकोले त्यस्तो निर्देशन जारी नगरिएको जानकारी दिए । 

राष्ट्र बैंकका गभर्नरलाई देशको आर्थिक क्रियाकलाप, जनताको अपेक्षा र लाभग्राहीहरुको पूर्वनिर्धारित कार्यक्रममा कुनै किसिमको नकारात्मक असर नपर्ने गरी मौद्रिक नीति ल्याउन मात्र भनेको शर्माले बताए । 
 
श्वेतपत्रको सम्बन्धमा राखिएको जिज्ञासामा मन्त्री शर्माले कसैलाई गल्ती देखाउन नभई आफूले जिम्मेवारी लिँदा अर्थतन्त्रको वास्तविक चित्र कस्तो थियो भनेर जनतालाई जानकारी दिन मात्र खोजिएको स्पष्ट पारे । उनले भने, ‘यो कुनै फिल्म खेल्ने कुरा होइन, भिलेनलाई पछारेर हिरोले जितेको देखाउनलाई, म त्यस्तो अभियानमा छैन । आफूले देखेको कुरा भन्ने हो । जे छ त्यही प्रष्ट राख्ने हो ।’

आफूलाई अहिले जनताका अपेक्षाहरुको भारीले त्रसित बनाएको भन्दै मन्त्री शर्माले थपे, ‘मसँग काम गर्ने धेरै समय छैन । धेरै गर्न सकिने अवस्था पनि छैन । तर, विषयविज्ञ एवं तपाईहरु सबैको सुझाव र जनताको आवाज दुवै कुरा मिसाएर अर्थतन्त्रलाई केही न केही मात्रामा फरक दिशा दिने सोचेको छु, त्यो म गर्छु ।’ मन्त्री शर्माले उपभोक्तावादी अर्थतन्त्रलाई उत्पादनमुखी अर्थतन्त्रमा बदल्ने हिसाबले पहलकदमी अघि बढाइने सोच रहेको बताए । 



कार्यक्रममा आर्थिक पत्रकार संघका अध्यक्ष मोदनाथ ढकालले श्रमजीवी पत्रकारहरुको श्रम शोषण गर्ने मिडिया हाउसलाई सरकारी सुविधा रोक लगाउने खालको व्यवस्था गर्न सुझाव दिए । उनले पत्रकारहरुको लागि आर्थिक राहतभन्दा सामाजिक सुरक्षाका कार्यक्रम ल्याउनुपर्नेमा जोड दिए । 



  • प्रकाशित मिति : साउन १४, २०७८ बिहीबार १७:३४:४३,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया