प्रदेश १ की सामाजिक विकासमन्त्री उषाकला राईले कोभिड १९ को तेस्रो लहरको पूर्वतयारीमा जुट्न निर्देशन दिएकी छन् । विज्ञहरुले कोरोनाको तेस्रो लहरमा बालबालिका बढी जोखिममा रहने बताएकाले सोहीअनुसारको तयारीमा जुट्न उनले निर्देशन दिएकी हुन् ।
कोभिड–१९ को सम्भावित तेस्रो लहरको पूर्वतयारी सम्बन्धमा आयोजना गरिएको भर्चुअल बैठकमा सामाजिक विकासमन्त्री राईले हामी तयारी अवस्थामै थिएनौँ भन्ने छुट कसैलाई नहुने भन्दै बेलैमा तयारीमा लाग्नुपर्ने बताइन् ।
बैठकमा स्वास्थ्य महाशाखा प्रमुख सागर प्रसार्इं, १४ वटै जिल्ला समन्वय समितिका प्रमुखहरु, सदरमुकामका पालिकाका प्रमुखहरु, प्रमुख जिल्ला अधिकारीहरु, अस्पताल र स्वास्थ्य कार्यालयका प्रमुखहरुको सहभागिता रहेको थियो ।
सो बैठकमा उनले समस्या र चुनौतीको सबैले मिलेर मात्रा समाधान गर्न सकिने बताइन् । मन्त्री राईले अस्पतालको क्षमताअनुरुप कोरोना संक्रमित बालबालिकाको उपचारका लागि छुट्टै उपचार केन्द्र सञ्चालनका लागि पनि तयारी भइरहेको बताइन् ।
प्रत्येक जिल्लामा गठित डिसिसएमसीले आफ्नो जिल्लाभित्रका सबै पालिकाहरुको अवस्था, आवश्यकता पहिचान गरी सम्पूर्ण जानकारी र माग सामाजिक विकास मन्त्रालयमा तत्काल पेस गर्न मन्त्री राईले निर्देशन दिइन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।