पछिल्लो समय पार्टीमा देखिएको विवाद समाधान गर्ने र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गर्ने विषयमा छलफल गर्न नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आज विष्णु पौडेलसँग भेटघाट गर्दैछन् ।
यसअघि बिहीबार पौडेलले एमाले नेता सुवास नेम्वाङसँग भेट गरेका थिए ।
बिहीबार दिउँसो भएको डेढ घन्टा भेटघाटमा आफूले नेपालसँग पार्टी एकताबारे कुरा गरेको नेम्वाङले फरकधारलाई जानकारी दिएका थिए । उनका अनुसार नेपाललाई उनले ओलीसँग भेट्न अनुरोध पनि गरेका थिए ।
‘म त्यसका लागि तयार छु,’ नेपाललाई उद्धृत गर्दै नेम्वाङले सुनाए, ‘तर, त्यसभन्दा अगाडि म अरु केही कमरेडहरुलाई भेट्न चाहन्छु र छलफल गर्न चाहन्छु ।’
यही सिलसिलामा नेपाल र पौडेलबीच आज भेटघाट हुने भएको हो ।
केही दिनयता अस्वस्थ भएर घरमै आराम गरिरहेका पौडेल र नेपालबीच आज हुने भेटमा पनि पौडेलले नेपाललाई ओलीसँग भेटका लागि अनुरोध गर्ने उनीनिकट एक नेताले बताए ।
‘अब पार्टीमा ओली र नेपाल भेटेर पछिल्ला विवाद र समाधानका विषयमा छलफल गरे पार्टी एक हुन्छ, यही कुरा अहिले दोस्रो तहका नेताहरुले उहाँहरुलाई भनिरहनु भएको छ,’ पौडेलनिकट एक नेताले भने, ‘यही अनुरोध गर्नकै लागि उहाँहरुले भेट्ने तय भएको हो ।’
यसअघि अहिले जारी भएको विवाद समाधान गर्न अध्यक्ष ओलीले शनिबारसम्मको अल्टिमेटम दिएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।