टोकियो ओलम्पिकमा नेपालको उपलब्धि सहभागितामै सीमित

जापानको टोकियामा जारी ३२ औँ संस्करणको ग्रिष्मकालीन ओलम्पिकमा नेपालको यात्रा समाप्त भइसकेको छ । 

एथ्लेटिक्स खेलाडी सरस्वती चौधरी शुक्रबार बिहान पहिलो चरणबाटै बाहिरिएसँगै नेपालको ओलम्पिक यात्रा समाप्त भएको हो । 

जारी ओलम्पिकमा नेपालको तर्फबाट ४ खेलका ५ खेलाडीले अनिवार्य कोटा वा वाइल्ड कार्ड मार्फत् सहभागी हुने अवसर पाएका थिए ।

यसपटक पनि ओलम्पिकमा नेपालको यात्रा सधैंको जस्तै सहभागितामै सीमित बन्यो । कुनै पनि खेलाडीले पहिलो चरण पार गर्न सकेनन् । 

नेपाली खेलाडीले दोस्रो चरणको यात्रा तय गर्न नसके पनि सुटिङकी कल्पना परियार र पौडीबाज गौरिका सिंह र एलेक्स शाहले भने राष्ट्रिय कीर्तिमान राखे ।

नेपालले पहिलोपटक सन् १९६४ मा टोकियो ओलम्पिक खेलेको थियो ।  ओलम्पिक सहभागितामा ६ दशक लामो यात्रा तय गर्दा पनि नेपाल केवल सहभागिता मै सीमित रह्यो ।



सन् १९८८ को सोल ओलम्पिकमा नेपालका विधान लामाले कास्य पदक हात पारेका थिए । उनी सहभागी भएको तेक्वान्दोलाई प्रदर्शनी खेलका रूपमा समावेश गरिएको हुँदा त्यसलाई आधिकारिक गणना भने गरिएको छैन । 

नेपालले ओलम्पिकको लामो यात्रा तय गरेको भए पनि हालसम्म दुई खेलाडीले मात्र छनोट चरण पार गरेर प्रतियोगितामा सहभागिता जनाएका छन् । 



छनोट चरण पार गरेर तेक्वान्दो खेलाडी संगिना वैद्यले सन् २००४ र दिपक विष्टले सन् २००८ को ओलम्पिक खेलेका थिए । 

टोकियो ओलम्पिकमा नेपालको प्रदर्शन 

कल्पना परियार 

सुटर कल्पनाको ओलम्पिक यात्रा छनोट चरणमै सीमित बने पनि उनी राष्ट्रिय कीर्तिमान  सुधार गर्न भने सफल भइन् ।

वाइल्ड कार्ड मार्फत पहिलो पटक ओलम्पिकमा सहभागिता जनाउने अवसर पाएकी कल्पनाले महिला १० मिटर एयर राइफलमा प्रतिस्पर्धा गरेकी थिइन् ।
उनले ६१६.८ अंक जोड्दै राष्ट्रिय कीर्तिमानमा सुधार गरिन् । कल्पनाले १३ औँ दक्षिण एसियाली खेलकुद(साग)मा ६१४.५ अंक जोड्दै राष्ट्रिय कीर्तिमान कायम गरेकी थिइन् । 

राष्ट्रिय कीर्तिमान सुधार गर्ने क्रममा उनले पहिलो सिरिजमा १०२.२, दोस्रोमा १०५.४, तेस्रोमा १०१.०,चौथोमा १०४.१, पाँचौमा १०३.४ र छैटोँ तथा अन्तिम सिरिजमा १००.७ अंक जोडिन्। 

कल्पना ५० जना सहभागी छनोट चरणमा ४६ औँ स्थानमा रहिन् । 

सोनिया भट्ट

जुडोकी सोनियाको ओलम्पिक यात्रा पनि पहिलो चरणबाट अघि बढ्न सकेन । वाइल्ड कार्ड मार्फत प्रतियोगितामा पहिलोपटक सहभागिता जनाउने अवसर पाएकी उनले महिला ४८ केजी मुनिको तौल समूहमा प्रतिस्पर्धा गरेकी थिइन् । 

अन्तिम ३२ अन्तर्गत भएको खेलमा सोनिया विश्व वरियतामा नवौँ स्थानमा रहेकी रुसी खेलाडी डोल्गोभा इरिनासँग इप्पोनका आधारमा पराजित भएकी हुन् । उनले १ मिनेट १६ सेकेन्डमै खेल गुमाउन पुगिन् ।

एलेक्सजेन्डर शाह (एलेक्स)  

पौडीबाज एलेक्सले अनिवार्य कोटा अन्तर्गत पहिलोपटक ओलम्पिकमा सहभागिता जनाउने अवसर पाएका हुन् । हिट चरणबाटै बाहिरिए पनि उनले राष्ट्रिय कीर्तिमान भने कायम गर्न सफल भए । 

पुरुष १०० मिटर फ्रि स्टायलमा सहभागिता जनाएका एलेक्सले ५३.४१ सेकेन्डको समय निकाल्दै राष्ट्रिय कीर्तिमान सहित हिट वान जित्न सफल भए । एलेक्सले आफ्नै नाममा रहेको ५५.३८ सेकेन्डको राष्ट्रिय कीर्तिमानमा सुधार गरेका हुन् । ७१ जना सहभागी रहेको हिट चरणमा उनी ५१ औँ स्थानमा रहे । 

गौरिका सिंह 

पौडीबाज गौरिकाले अनिवार्य कोटा अन्तर्गत दोस्रोपटक ओलम्पिकमा सहभागिता जनाउने अवसर पाएकी हुन् । हिट चरणबाटै बाहिरिए पनि उनी राष्ट्रिय कीर्तिमान भने कायम गर्न सफल भइन् ।

महिला १०० मिटर फ्रि स्टायलमा सहभागी भएकी गौरिकाले १:००: ११  सेकेन्डको समय निकाल्दै हिट वानको तेस्रो स्थान रहँदै राष्ट्रिय कीर्तिमान कायम गर्न सफल भइन्।

गौरिकाको यो कीर्तिमान लङ कोर्ष (५० मिटरको पौडी पोखरीमा) हो । उनले आफ्नै नाममा रहेको १:००: ६२ सेकेन्डको कीर्तिमान सुधार गरेकी हुन् ।  

गौरिकाले यो कीर्तिमान सन् २०१९मा भएको १८औँ संस्करणकोे फिना विश्व च्याम्पियनसिपमा कायम गरेकी थिइन् ।
 
सर्ट कोर्ष (२५ मिटरको पौडी पोखरी) मा पनि राष्ट्रिय कीर्तिमान गौरिकाकै नाममा छ । उनले १३ औँ दक्षिण एसियाली खेलकुद (साग) मा ५८.१३ सेकेन्डको समय निकाल्दै यो राष्ट्रिय कीर्तिमान कायम गरेकी थिइन् । 

यसअघि उनले सन् २०१६ को रियो ओलम्पिकमा पनि सहभागिता जनाएकी थिइन्।

सरस्वती चौधरी 

सरस्वतीले अनिवार्य कोटा मार्फत पहिलोपटक ओलम्पिकमा सहभागिता जनाउने अवसर पाएकी हुन् । अरू खेलाडीले जस्तै उनले पनि पहिलो चरण पार गर्न सकिनन्।उनी महिला १०० मिटर दौड अन्तर्गत प्रारम्भिक चरणमा दोस्रो हिटको आठौँ स्थानमा रहिन् ।  

१२.९१ सेकेन्डको समय निकालेकी सरस्वतीले आफ्नै प्रदर्शनमा पनि सुधार गर्न सकिनन् । यो स्पर्धामा उनको उत्कृष्ट प्रदर्शन १२.५५ सेकेन्डको छ । 

महिला १०० मिटर दौडमा राष्ट्रिय कीर्तिमान भने देवीमाया पनेरुको नाममा छ । उनले १९९९ को साग गेम्समा १२.२९ सेकेन्डको कीर्तिमान कायम गरेकी थिइन् । 

  • प्रकाशित मिति : साउन १५, २०७८ शुक्रबार १४:३५:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया