जसपाबाट देउवा सरकारमा को–को बन्दै छन् मन्त्री ?

सर्वोच्च अदालतको आदेशपछि प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार बनेको आधा महिनाभन्दा बढी भइसकेको छ ।

सर्वोच्च अदालतको फैसलापछि प्रधानमन्त्री देउवाले २९ असारमा नयाँ सरकार गठन गर्दै चार सदस्यीय मन्त्रिमण्डल विस्तार गरेका थिए । 

कांग्रेस–माओवादीसहित जसपा र एमालेका माधव नेपाल समूहको समर्थनमा नेपाली कांग्रेस सभापति देउवामा नियुक्त भएका थिए ।

कांग्रेस सभापति देउवा प्रधानमन्त्री बनेको तीन साता भइसकेको छ । तर, मन्त्रिमण्डल भने अझै विस्तार गर्न सकेका छैनन् । यहीकारण चाँडै मन्त्रिमण्डल विस्तार गर्न उनीमाथि दबाब बढेको छ । 

स्रोतका अनुसार चौतर्फी दबाब बढेपछि प्रधानमन्त्री देउवाले आइतबार (भोलि) कांग्रेस, माओवादी केन्द्र र जसपाका केहीलाई समेटेर मन्त्रिपरिषद् विस्तार गर्ने सम्भावना छ । 

भोलि मन्त्रिमण्डल विस्तार हुने छनक पाएपछि जसपा अध्यक्ष उपेन्द्रले आज संसदीय दलको नेता चयन गर्दै छन् । स्रोतका अनुसार प्रधानमन्त्री देउवाकै आग्रहमा जसपा अध्यक्ष उपेन्द्र यादवले कसको नेतृत्वमा सरकारमा जाने भन्ने निक्र्योल निकाल्नको लागि आज छलफल गर्न लागेका हुन् ।



को–को बन्दै छन् मन्त्री ?

प्रधानमन्त्री देउवा नेतृत्वमा बनेको सरकार तत्कालै फेरबदल नहुने भएपछि गठबन्धनमा रहेका अधिकांश दल सरकारमा जान आतुर छन् । 



यता, गठबन्धनमा रहेका सबै दल सरकारमा जाने भएपछि मन्त्रालायको भागबण्डा मिलाउनमा देउवालाई जति सकस भइरहेको छ, उतिकै सहभागी हुने दलहरुलाई आफ्नो पार्टीबाट मन्त्री छान्नमा कठिनाइ भइरहेको छ । 

यही कारणले अहिलेसम्म मन्त्रिमण्डल विस्तार हुन सकिरहेको छैन । कांग्रेस–माओवादीसहित अझ बढी चुनौती जसपामा देखिएको छ । 

जसपा अध्यक्ष उपेन्द्र यादवले धेरैलाई मन्त्री बनाउने आश्वासन दिएर ल्याए पनि अहिले भने जसपाले जम्मा पाँचवटा मन्त्रालय मात्रै पाउने भएको छ । जुन कारणले झन् विवाद चुलिएको छ । सबैको मनत्री बन्ने चाहनाका कारण जसपाबाट सरकारमा जानेहरुको नाम टुंगो लगाउन सकिएको छैन । 

यसको बाबजुद पनि उपेन्द्र समूह आजै संसदीय दलको नेता चयन गरेर अब हुने मन्त्रिमण्डल विस्तारमा सहभागी हुने तयारीमा छ । जसपा स्रोतका अनुसार अध्यक्ष उपेन्द्र यादवकै नेतृत्वमा सरकारमा जाने तयारी छ ।

जसपाले पाँचवटा मन्त्रालय पाए, उपेन्द्र यादवसहित महेन्द्र यादव, राम साह, इस्तियाक राइन मन्त्री बन्ने लगभग पक्काजस्तै छ । बाँकी एउटामा मृगेन्द्रसिंह यादव र रेणु यादवबीच लडाइँ चलिरहेको छ । 

उच्च स्रोतका अनुसार यसमा पनि महिला आरक्षणको कुरा चलिरहेको हुनाले रेणु यादवले बाजी मार्ने बढी सम्भावना रहेको छ ।

मन्त्री बन्ने प्रलोभनमा उपेन्द्रलाई साथ दिनेहरु अहिले छैनन् चर्चामा पनि

३ साउनमा देउवाले विश्वासको मत लिँदा १६५ सांसदहरुको विश्वासको मत पाएका थिए । सुरुमा प्रधानमन्त्री देउवालाई माओवादी, एमालेका माधव नेपाल समूह र जसपाका उपेन्द्र समूहले विश्वासको मत दिने घोषणा गरेका थिए । 

जुन बेला उपेन्द्र समूहलाई जम्मा १२ सांसदको मात्रै समर्थन थियो । तर, देउवा सरकार बन्ने निश्चित भइसकेपछि यो संख्या अझ बढ्यो । 

कारण– यही बीचमा खेलियो, सांसद तानातानको खेल । अर्थात् जसपाका महन्थ ठाकुरको नेतृत्वमा रहेको अर्को समूहबाट उपेन्द्र समूहले करिब आधा दर्जन सांसदलाई आफ्नो कित्तामा तान्न सफल भए । ती सबैलाई एउटै आश्वासन थियो– मन्त्री बनाउने । 

जुन आश्वासनमा ती सांसदहरुले ठाकुर समूह त्यागे, अहिले उपेन्द्र समूहमा ती सांसदहरुको मन्त्रीमा चर्चा पनि छैन । युले जसपामा फेरि विवाद उत्पन्न हुने सम्भावना बढ्दै गएको चर्चा छ ।

  • प्रकाशित मिति : साउन १६, २०७८ शनिबार १६:४५:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया