बढ्न थाले कोरोनाका बिरामी, उपत्यकाका अस्पतालमा अत्यधिक चाप

देशभर क्षेत्रगत रुपमा लागु भएको निषेधाज्ञा खुकुलो हुँदै गएसँगै नेपालमा कोरोना भाइरसको संक्रमण दिनानुदिन उकालो लाग्न थालेको छ । संक्रमित थपिने क्रम बढेसँगै त्यसको प्रत्यक्ष प्रभाव काठमाडौं उपत्यकाका अस्पतालहरुमा देखिन थालेको छ । 

बिस्तारै संक्रमितको संख्या बढ्न थालेपछि काठमाडौं उपत्यकाका अस्पतालहरुमा कोरोना संक्रमित बिरामीको चाप बढ्दै गइरहेको छ ।

 टेकु अस्पतालमा आज आइसियूमा २२ जना बिरामी रहेका छन् । टेकु अस्पतालमा आज कुल ९२ जना कोरोना संक्रमित बिरामी रहेका छन् । अस्पतालमा आइसियू बेड भरिभराउ हुन थालेका छन् । दैनिक १५ जनासम्म बिरामी थपिने गरेको टेकु अस्पतालका सूचना अधिकृत नवराज गौतमले जानकारी दिए । 

संक्रमण बढेसँगै अस्पतालमा चाप महसुस हुन थालेको उनले बताएका छन् । २४ वटा आइसियूमा २२ जना आइसियू भने भरिएका छन् । त्यस्तै सामान्य बेडमा ५४ जना बिरामी र भेन्टिलेटरमा १६ जना बिरामी रहेका छन् । 

आइसियूमा रहेका बिरामीको अवस्था भने सिकिस्त रहेको छ । अस्पतालमा भर्ना भएका बिरामीमा सञ्चो हुने बिरामीको संख्या भने उच्च रहेको टेकु अस्पतालका सूचना अधिकारी नवराज गौतमले जानकारी दिएका छन् । ‘बिस्तारै बिरामी बढ्दा चाप बढ्न थालेको हो । दोस्रो लहरमा जस्तो मृत्युदर भने छैन ।’
‘अस्पताल भरिन लागेको र अब जुनसुकै बेला पनि अस्पताल भरियो अब राख्न सक्दैनौं भन्न पर्ने अवस्था आउन सक्छ’, उनले थपे ।

सशस्त्र प्रहरी अस्पताल, बलम्बुमा पनि कोभिड बिरामीको चाप महसुस हुन थालेको छ । अस्पतालमा हाल १६३ जना कोभिडका बिरामीहरुको उपचार भइरहेको छ । दैनिक १२ देखि १५ जनासम्म बिरामी भर्ना भइरहेको डाक्टर प्रविन नेपालले जानकारी दिएका छन् । 



बिरामीको संख्या बिस्तारै बढ्दै गएकाले अब पुनः चाप महसुस हुन थालेको उनको भनाइ छ । अस्पतालमा २० वटा आइसियू बेड रहेको छ । जसमध्ये धेरै जसो आइसियू वार्डमा अहिले पनि कोभिडका बिरामी रहेका छन् । 
डा. नेपालले भने, २ देखि ३ बेड मात्रै आइसियूमा अन्य रोगका बिरामी रहेका छन् । कोभिडका बिरामी पुनः बढ्न थालेपछि अब फेरि आइसियू बेड थप्न पर्ने अवस्था आउन थालेको उनले बताए । 

काठमाडौंका विभिन्न १२ अस्पतालमा अहिले कोभिडका बिरामी रहेका छन् । सशस्त्र प्रहरी अस्पताल, वीरेन्द्र सैनिक अस्पताल, वीर अस्पताल, ट्रमा सेन्टर, नेपाल प्रहरी अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, त्रिवि शिक्षण अस्पताल, पाटन अस्पताल, निजामती कर्मचारी अस्पताल, भक्तपुर अस्पताल, राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र र धुलिखेल अस्पतालमा कोरोना बिरामीको उपचार भइरहेको छ । 



वीरेन्द्र अस्पतालमा अहिले १०९ जना कोरोना बिरामी छन् । वीर अस्पतालमा १०९ जना, प्रहरी अस्पतालमा ६८, त्रिवि शिक्षण अस्पतालमा १२४ जना, पाटन अस्पतालमा १६० जना, निजामती कर्मचारी अस्पतालमा ३७ जना, भक्तपुर अस्पतालमा २६ जना राष्ट्रिय आयुर्वेद तथा अनुसन्धान केन्द्र कीर्तिपुरमा ९७ जना, धुलिखेल अस्पतालमा ४८ जना बिरामी रहेका छन् । 
काठमाडौं उपत्यकामा मात्र १ हजार ३३ जना बिरामी अस्पताल भर्ना भएका छन् । 

आइसियू भरिएको अवस्था रहेकाले अब जुनसुकै बेला पनि तेस्रो लहरले नेपालमा घण्टी बजाउन सक्ने अवस्था रहेको विज्ञहरु बताउँछन् । जनस्वास्थ्यविद् बाबुराम मरासिनीले अब चाडवाड बढेसँगै कोरोनाको त्रास पनि नेपालमा बढ्ने आशंका गरेका छन् । 

मरासिनी भन्छन्, ‘भारतमा तेस्रो लहर फैलिएको एक हप्तामा नेपालमा पनि सुरु हुन्छ । नेपालका अस्पतालभन्दा पनि सर्वसाधारणले अत्यधिक मात्रामा सचेतना अपनाउनु पर्छ ।’ सबै सार्वजनिक क्षेत्रहरुमा जनस्वास्थ्यको मापदण्ड अपनाउनु अपरिहार्य रहेको उनको भनाइ छ ।  

मत्युदर घट्यो, नयाँ भेरियन्टको पनि लक्षण उस्तै
संक्रमण फैलिए पनि मृत्युदर भने बिस्तारै कम भएको विशेषज्ञहरुले बताएका छन् । पछिल्लो समय अस्पताल भर्ना भएका बिरामीहरुमा मृत्युदर भने निकै कम रहेको तथ्याङ्कमा देख्न पाइन्छ । विज्ञका भनाइले पनि सोही कुरालाई पुष्टि गरेको छ ।
 
काठमाडौंमा सबैभन्दा बढी कोरोना संक्रमितको उपचार भइरहेका अस्पताल टेकु तथा बलम्बुमा आएका बिरामीमा पनि लक्षण फरक भेटिएको छैन । डेल्टा भेरियन्ट तथा अन्य नयाँ भेरियन्टको चर्चा सुनिए पनि लक्षण भने पहिलेका संक्रमितमा जस्तै रहेको विज्ञले बताएका छन् । 
 
नेपालमा पछिल्लो समयमा फैलिएको डेल्टा भेरियन्ट भने पनि संक्रमितमा पहिलेका संक्रमितको जस्तै लक्षण देखिएको सशस्त्र प्रहरी अस्पतालका डाक्टर प्रवीन नेपालले बताए । उनले भने, ‘पहिलो र दोस्रो लहरमा जुन लक्षण देखिएको थियो, अहिले देखिएकामा पनि लक्षण खासै फरक छैन ।’ 

डा. नेपालका अनुसार पुराना लक्षणहरु नै अहिलेका नयाँ बिरामीमा पनि रहेको बताए । अस्पताल भर्ना भएका बिरामीमा पनि आइसियूका बिरामी बाहेकका बिरामी छिट्टै घर फर्किने अवस्था रहेको उनले बताए । डा. नेपाल भन्छन्, ‘केही बिरामी सिकिस्त भए पछि मात्र अस्पताल आउँछन्, तिनीहरुमा मात्र मृत्युको भय हुने गरेको छ ।’ 

  • प्रकाशित मिति : साउन १७, २०७८ आइतबार १३:८:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया