संसारका कतिपय देश जनसंख्या वृद्धिको समस्याले ग्रस्त छन् त चीन, जापानलगायतका केही देश भने घट्दो जन्मदरले चिन्तित छन् । विकसित मुलुकमा नागरिकहरु कमभन्दा कम सन्तान अर्थात् एक वा दुई बच्चा पाएपछि सन्तुष्ट हुन्छन् । बेलायत, अमेरिका, क्यानडा, फ्रान्सजस्ता मुलुकका नागरिक यस्तै सोच्छन् । बच्चा जन्मेपछि हुने अधिक खर्च, तिनको देखभालमा दिनुपर्ने समय, भविष्यलगायतका कारण दम्पत्तिहरु कम बच्चा वा बच्चै नपाउने सम्मको निर्णयमा पुगेको पनि देखिन्छ ।
यसैबीच बेलायतका प्रधानमन्त्री बोरिस जोनसन सातौं सन्तानको पिता बन्ने सम्भावना बढेर गएको छ । बेलायतजस्तो देशको शीर्ष कार्यकारीको सात सन्तान ! कतिपय मानिसलाई यो समाचार अपत्यारिलो पनि लाग्न सक्छ । जोनसनकी पत्नी क्यारी गर्भवती छिन् । र, डिसेम्बरमा उनले आफ्नो दोस्रो सन्तानलाई जन्म दिने सम्भावना छ ।
क्यारीले आफ्नो इन्स्टाग्राममा आफू गर्भवती भएको खुलासा गरेकी हुन् । उनले इन्स्टाग्राममै यो वर्ष ‘मिसक्यारिज’ भएको पनि उल्लेख गरेकी छन् । यही कारण हुनेवाला बच्चाको नाम उनले ‘रेनबो बेबी’ दिएकी छन् । उनले पहिलो सन्तान गत वर्ष अप्रिलमा जन्माएकी थिइन् ।
प्रधानमन्त्री जोनसनसँग उनको यही वर्षको जनवरीमा लन्डनस्थित वेस्टमिन्स्टर क्याथाड्रलमा आयोजना गरिएको सानो समारोहमा औपचारिक विवाह भएको थियो । आफू गर्भवती भएको जानकारी दिँदै क्यारीले इन्स्टाग्राममा लेखेकी छन्, ‘यो वर्षको सुरुआतमा मेरो गर्भपात भयो, यसबाट मेरो मन खुबै दुख्यो । अविश्वसनीय ढंगमा पुनः गर्भवती हुन पाउँदा मैले आफूलाई धन्य महसुस गरेकी छु ।’
रेनबो बेबी नाम यस्तो बच्चालाई दिइन्छ जसको परिवारमा पहिलो मिसक्यारिज हुन्छ वा बच्चाको निकै कम उमेरमा निधन हुन्छ । क्यारीले आफूले मिसक्यारिज हुँदा निकै पीडा र छटपटी भोगेको बताएकी छन् । गर्भवती भएपछि हल्का महसुस गरेको उनी बताउँछिन् । यही कारण पनि उनले आफू गर्भवती भएको कुरा सार्वजनिक गरेकी हुन् ।
प्रधानमन्त्री जोनसन अहिले ५७ वर्षका भए । यो उमेरमा उनी सातौं सन्तानको पिता बन्न लागेका छन् । क्यारी जोनसनकी तेस्री पत्नी हुन् । उनले आफ्ना बच्चाहरुका बारेमा खुलेर कतै बोलेका छैनन् । क्यारीसँग विवाह हुँदा उनी गर्भवती भएको दुई महिना पुगिसकेको थियो ।
विवाह र सन्तानबारे विवाद
प्रधानमन्त्रीजस्तो पदमा पुगेको व्यक्तिले एउटालाई छाड्दै अर्कोसँग लगनगाँठो कसेको भन्दै विरोध हुने गरेको छ । त्यतिमात्र होइन क्यारीसँग विवाह गर्दा जोनसनको उमेर ५६ वर्ष थियो । क्यारी भने केवल ३३ वर्षकी थिइन् । दुईबीचको उमेर अन्तरलाई लिएर पनि आलोचना भएको थियो । मिडियाले उनलाई यसबारे प्रश्न गर्दा उनी उत्तर नदिई बसेका थिए ।
त्यतिमात्र होइन, जोनसनलाई एक पटक ‘एक्स्ट्रा म्यारिटल अफेयर’ले पनि विवादमा तानिदिएको थियो । त्यसबारे उनले झुटो बयान दिएपछि कन्जरभेटिभ पार्टीले बर्खास्तसमेत गरेको थियो ।
उनले दुई पटक विवाह गरे, तर कुनैसँग पनि टिक्न सकेनन् र डिभोर्स दिए । उनका कति सन्तान होलान् भन्ने उत्सुकतामा पत्रकारहरु सोधिरहन्छन्, तर उनी जवाफ दिँदैनन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।