लेखराज भट्ट : माओवादी बन्न सर्वोच्चमा रिट, एमालेको स्थायी समिति बैठकमा उपस्थित
फाइल तस्बिर

आफू नेकपा माओवादी केन्द्रकै सांसद रहेको भन्दै सर्वोच्च अदालतमा पार्टीको निर्णयविरुद्ध रिट दिएका नेता लेखराज भट्ट नेकपा एमालेको स्थायी समिति बैठकमा सहभागी भएका छन् । 

नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकीकरण भएर बनेको नेकपालाई सर्वोच्च अदालतले फुटाइदिएपछि एमालेमै रहने निर्णय गरेका तत्कालीन माओवादी नेता लेखराज भट्ट अहिले आफू माओवादीकै सांसद रहेको दाबी गरिरहेका छन् । 

साउन १३ गते आफूहरु माओवादीमै रहेको दाबी गर्दै सांसद पद पुनःस्थापनाको मागसहित रिट लिएर सर्वोच्च पुगेका भट्ट आज एमालेको स्थायी समिति बैठकमा उपस्थित भएका हुन् । तर, उनीसँगै रिट हालेका पूर्वमाओवादी तथा अहिलेका एमाले नेता टोप बहादुर रायमाझी भने बैठकमा गएका छैनन् । 

आजको एमाले बैठकमा पूर्वमाओवादी नेताहरु राम बहादुर थापा बादल र भट्ट सहभागी छन् । बादलले आफू माओवादी भएको दाबी गरेका छैनन् । तर, भट्ट आफू माओवादी भएको दाबी गर्दागर्दै एमाले बैठकमा सहभागी भएका हुन् । 

नेकपाको एकीकरण बदर भएसँगै माअ‍ोवादी छाडेर एमाले बनेका नेताहरु भट्ट, रायमाझी, प्रभु साह र गौरीशंकर चौधरीले आफूहरुले पार्टी त्याग नगरेकाले सांसद पद बहाली हुनुपर्ने भन्दै सर्वोच्चमा साउन १३ गते रिट दायर गरेका छन् । 





  • प्रकाशित मिति : साउन १७, २०७८ आइतबार १७:१:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया