काङ्ग्रेस जिल्ला सभापतिसँग फरकधार
‘उमेरले होइन विचार र दृष्टिकोणले युवा नेतृत्व छान्नुपर्छ’

(सम्पादकीय नाेट :१४ औँ महाधिवेशनको काउन्टडाउन सुरु हुँदै गर्दा यतिबेला नेपाली कांग्रेसभित्र राजनीतिक सरगर्मी बढेको छ । पार्टी सभापतिदेखि केन्द्रीय समिति, प्रदेश, जिल्ला हुँदै वडास्तरसम्म यतिबेला कांग्रेसलाई महाधिवेशनले छोपेको छ । 

अब कांग्रेसले पाउने नेतृत्व कस्तो होला ? र, महाधिवेशनपछिको कांग्रेस कस्तो होला ? भन्ने प्रश्न जनमानसमा छ । त्यसो त कांग्रेस केन्द्रीय तहका नेताहरुलाई तल्लो तहका नेताले सुझाब पनि दिइरहेका छन् । 

फरकधारको यो शृंखलामा हामीले कांग्रेसका जिल्ला सभापतिहरुसँग महाधिवेशनपछिको कांग्रेस कस्तो हुनुपर्छ ? र, युवा नेतृत्वको सम्भावना के छ ? भनी सोध्ने छौँ । यसै क्रममा नेपाली कांग्रेस तेह्रथुम​ जिल्लाका सभापति  गोविन्द ढुंगाना​लाई हामीले यो शृंखलामा प्रस्तुत गरेका छौँ । )

नेपाली कांग्रेसको १४औँ महाधिवेशनको मुखमै हामी छौँ । यसैबीच महाधिवेशन हुने÷नहुने भन्ने अन्योल हामीबीच छ । नेतृत्व छान्ने बेलामा हामीले नयाँ विचार र दृष्टिकोणसहित कांग्रेसलाई नयाँ जीवन दिने खालको नेतृत्व खोजिरहेका छौँ । 

अहिले कांग्रेसलाई नयाँ जीवन दिनैपर्ने आवश्यकता पनि हामीमाझ छ । कांग्रेसले आफ्नो नीतिगत कुरा पनि परिमार्जन गर्नु छ । आफ्नो सैद्धान्तिक परिवेश परिमार्जन हुनुपर्नेछ । नयाँ परिवेशमा, नयाँ युवा र तरुणहरुको बीचमा कांग्रेसलाई लोकप्रिय बनाउनु पनि छ । 

अर्कोतिर त्यसलाई हाँक्न सक्ने सक्षम नेतृत्व पनि निर्माण गर्नु छ । यो महाधिवेशनले कांग्रेसको नयाँ जीवन दिन सक्छ भन्ने अपेक्षा राखेका छौँ । 



युवा नेतृत्वको बहस 

कांग्रेसमा युवा नेतृत्वको बहस चलिरहेकै छ । युवा भन्नेबित्तिकै उमेर मात्र हेरेर हुँदैन । विचार, दृष्टिकोणले युवा हुनुपर्यो । जस्तो गिरिजाबाबुले ८६ वर्षमा पार्टी चलाइरख्नुभएको थियो । राष्ट्र चलाउनुभएको थियो । मुख्य कुरा सोच र चिन्तनको हो । 



नयाँ उमेर समूहको युवालाई भन्न खोजेको होइन, नयाँ विचार दिन सक्ने, नयाँ चुनौतीलाई फेस गर्न सक्ने, मुलुकभित्रका सबैखाले मान्छेहरुलाई लिएर जानसक्ने आवश्यकता छ । 

राष्ट्रिय एकता, सहकार्य र सद्भावसहित पार्टीलाई अघि बढाउन सक्ने, नेतृत्व आवश्यक छ । त्यसरी नै क्षमता बनाएर आउन सक्ने युवालाई अघि लिएर जानुपर्छ भन्ने दृष्टिकोण हामीले राखेका छौँ । 

परिवारवादको बहस 

कांग्रेसमा आइरहेको परिवारवाद भन्ने अतिवादी कुरा हो । सक्षम मान्छे छ भने परिवारका कुरा गरिनुहुँदैन । परिवार त एउटा लोगो पनि हो । हामीले बिपी, गणेशमान, महेन्द्रनारायण निधिलाई बिर्सन मिल्छ र ? उहाँहरु हाम्रो आदर्श नै हुनुहुन्छ । 

तर, उहाँका सन्तान राजनीतिमा कतिको काबिल छन्, राजनीतिलाई नयाँ दिशा दिएका कतिको काम गर्न सक्छन् भन्ने कुरा पनि हेरिनुपर्छ । भोलि उहाँहरु नयाँ परिवेशमा आउँदै हुनुहुन्छ । उहाँहरुको क्षमता हेरिनुपर्छ । अहिले परिवारवाद भनेर भन्नु अतिवादी कुरा हो । 

क्रियाशील विवाद र महाधिवेशनको चटारो

नेपाली कांग्रेसको नेतृत्वले महाधिवेशन आउनुभन्दा ६ महिनाअघि नै क्रियाशील विवाद सकिसक्नुपथ्र्यो । सधैँभरि अद्यावधिक गर्न विषय हो । हाम्रो विधानमा भए पनि व्यवहारमा त्यसलाई ल्याउन सकेनौँ । 

महाधिवेशनको मुखमा आएर मात्र क्रियाशीलता बाँड्ने, क्रियाशीलबाटै सबै मतदाता आउने भएकाले पहुँचवालाले जबरजस्ती गरेको पनि देखिन्छ । मेरो जिल्लामा विवाद नरहे पनि यसमा विधि, पद्धतिभन्दा बाहिर रहेर क्रियाशील सदस्यता बाँडेको देखिन्छ । मलाई लाग्छ, अबको दुई–चार दिनभित्र पार्टीले यो समस्या समाधान गरेर अघि बढ्छ । 

कसरी गर्ने महाधिवेशन ? 

यतिबेला महाधिवेशन गर्नैपर्ने संवैधानिक र वैधानिक संकट हामीबीच छ । सँगसँगै कोभिड, बाढी–पहिरोलगायतको चुनौती पनि छ । नेपाली कांग्रेसले अहिले चाहेर सरकारमा गएको होइन । मुलुकको परिस्थिति बिग्रँदै जाँदा सम्हाल्नुपर्ने अवस्था आएका कारणले सरकारमा गएको हो । 

हाम्रो सभापतिको पनि सरकारमा अहिले नै सहभागी हुने चाहना थिएन । यो व्यवस्थाको प्रतीक हो, मुलुकलाई असजिलो पर्दा कांग्रेसले जिम्मेवारी लिनुपर्छ । अहिले ज्यादै क्रिटिकल अवस्थामा सरकारको जिम्मेवारी लिएका छौँ । एकातिर कोभिडको महामारी छ, मान्छेहरुको आर्थिक अवस्था तहसनहस भएको अवस्था छ । 

अर्कोतिर बाढी–पहिरोलगायतबाट मान्छेहरु प्रताडित छन् । यिनीहरु सबैलाई कन्ट्रोल गर्दै, विकास र समृद्धिको पाटोलाई गम्भीर भएर सोच्नुपर्ने बेला छ । सँगसँगै आउँदो तीनै तहको निर्वाचन पनि कांग्रेसले नै गर्नुपर्ने अवस्था छ । त्यसकारण राष्ट्रिय सहमति कायम गरेर सबै दललाई साथ लिएर अभिभावकत्व भूमिका कांग्रेसले लिनुपर्नेछ । 

अर्को जोखिम भनेको हाम्रो पार्टीको वैधानिकताको विषयमा हो । अहिलेको निर्धारित मितिमा त हाम्रो महाधिवेशन नहुने नै भयो । देशव्यापी रुपमा कोरोनाको लहर छ । 

एउटा वडामा पनि न्यूनतम ४–५ सय मान्छे भेला गर्नुपर्ने छ । अहिलेचाहिँ महाधिवेशन गर्ने सम्भावना कम छ । यसको वैधानिकताको विषयमा कानुनविद्हरुसँग पार्टीको नेतृत्वले सरसल्लाह गरेर कसरी वैधानिकता कायम राख्ने भन्नेमा जोड दिनुपर्नेछ । 

तत्कालै भदौमा महाधिवेशन गर्नसक्ने अवस्थाचाहिँ देखिएको छैन । हामीले धेरै सोचेर काम गर्नुपर्ने अवस्था छ । नेतृत्व साँच्चै गम्भीर हुनुपर्छ । नेतृत्वले सत्तामोह हुनेभन्दा पनि कांग्रेसको अवसर हो भन्ने सोचेर यो अवसरको सदुपयोग आवश्यक छ ।

( ढुंगाना​ नेपाली कांग्रेस, तेह्रथुम​​का सभापति हुन् ) 

यही सिरिजमा यसअघि प्रकाशित अन्य जिल्ला सभापतिका यी विचार पनि पढ्नुहाेस्–

‘वंशको आशीर्वाद होइन, कर्मको हिसाबमा नेतृत्व छनोट हुनुपर्छ’– चितवन सभापति

‘१४ औँ अधिवेशनबाटै युवाहरु आउँछन् भन्ने मैले देखेको छैन’– सर्लाही सभापति

‘पाका नेतृत्वसँगै पुस्तान्तरण जरुरी छ’– सिन्धुली सभापति

शेरबहादुरजी, रामचन्द्रजीहरुले धेरै अवसर पाउनुभयो, दोस्रो पुस्तालाई नेतृत्व दिनुपर्ने बेला आएको छ- धनुषा सभापति

‘अर्काको फेरो समाएर नेतृत्वमा पुग्न सकिँदैन’– दोलखा सभापति

पार्टीको वैधानिकताका लागि पनि त्याग गर्न सक्नुपर्छ– रामेछाप सभापति

युवामा क्षमता देखिनुपर्यो, अनि मात्र नेतृत्वमा दाबी गर्नुपर्छ – पर्सा सभापति

चार वर्षमा हुनुपर्ने महाधिवेशन पाँच वर्षमा पनि गर्न नसक्ने यो कस्तो नेतृत्व ?—नुवाकोट सभापति

‘कांग्रेसको इतिहास संरक्षण गर्ने नेतृत्व आवश्यक छ’— काठमाडाै‌ं सभापति

‘हामी संकटपूर्ण महाधिवेशनको मुखमा छौँ’— काभ्रेपलान्चाेक सभापित

‘नयाँ नेतृत्व, नयाँ विचार, नयाँ ढंग, नयाँ कार्यक्रमका साथ कांग्रेस अगाडि बढ्नुपर्छ’— सिन्धुपाल्चाेक सभापति

‘युवाहरुले धारणा नबदल्ने हो भने नेतृत्वमा आउँदैनन्’— भक्तपुर सभापत

  • प्रकाशित मिति : साउन १८, २०७८ साेमबार १८:२५:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया