काङ्ग्रेस जिल्ला सभापतिसँग फरकधार
‘कांग्रेसमा अब अग्रजलाई सम्मान, युवालाई काम’

(सम्पादकीय नाेट :१४ औँ महाधिवेशनको काउन्टडाउन सुरु हुँदै गर्दा यतिबेला नेपाली कांग्रेसभित्र राजनीतिक सरगर्मी बढेको छ । पार्टी सभापतिदेखि केन्द्रीय समिति, प्रदेश, जिल्ला हुँदै वडास्तरसम्म यतिबेला कांग्रेसलाई महाधिवेशनले छोपेको छ । 

अब कांग्रेसले पाउने नेतृत्व कस्तो होला ? र, महाधिवेशनपछिको कांग्रेस कस्तो होला ? भन्ने प्रश्न जनमानसमा छ । त्यसो त कांग्रेस केन्द्रीय तहका नेताहरुलाई तल्लो तहका नेताले सुझाब पनि दिइरहेका छन् । 

फरकधारको यो शृंखलामा हामीले कांग्रेसका जिल्ला सभापतिहरुसँग महाधिवेशनपछिको कांग्रेस कस्तो हुनुपर्छ ? र, युवा नेतृत्वको सम्भावना के छ ? भनी सोध्ने छौँ । यसै क्रममा नेपाली कांग्रेस  संखुवासभाका सभापति  दीपनकुमार श्रेष्ठ​लाई हामीले यो शृंखलामा प्रस्तुत गरेका छौँ । )

मुख्यतः यतिबेला नेपाली कांग्रेसको अगाडि कम्युनिस्ट अतिवादबाट मुलुकलाई जोगाउनुपर्ने जिम्मेवारी छ । अर्को कुरा, जुन स्वास्थ्य संकट हामीले भोगिरहेका छौँ, त्यसलाई पनि चिरेर अघि बढ्नुपर्ने छ । 

साथै, नेपाली जनताको समृद्धि र विकासको चाहनालाई पूरा गर्नुपर्ने दायित्व पनि हामीमाझ छ । यी सबै कुरालाई समीक्षा गर्दै हामीले महाधिवेशन पनि गर्नै पर्ने संवैधानिक बाध्यता छ । किनभने नेपालको सन्दर्भमा सबैभन्दा ठूलो डेमोक्रेटिक पार्टी कांग्रेस नै हो । अहिले देखिएका यी सबै समस्यालाई चिर्न सक्ने नेतृत्व हामीले खोजिरहेका छौँ । 

पार्टीभित्र जति पनि असन्तुष्ट सदस्यहरु हुनुहुन्छ, उहाँहरुलाई समेट्न सक्ने खालको नेतृत्व नै आजको आवश्यकता हो । कांग्रेसका नेता–कार्यकर्ताले चाहेको नेतृत्व त्यही खालको हो । कसको मान्छे, को मान्छे भन्दा पनि सबैखाले समस्यालाई मिलाएर जान सक्ने नेतृत्व सबैले चाहिराखेका छौँ । 



महाधिवेशन पनि अन्योलमै छ । कांग्रेसजस्तो ऐतिहासिक पार्टी अधिवेशन नै गर्न नसकेको भन्ने अवस्थाबाट माथि उठ्नुपर्ने छ । अधिवेशन गराउनै पर्छ । किनभने यदि हामीले वडा तहदेखि माथिसम्मकै सबै गर्न सकेनौँ भने पनि विकल्पबारे सोच्नुपर्छ । महाधिवेशनबारे विभिन्न अड्कल र अनुमानका कुराहरु आइरहेका छन् । अरु विकल्पकहरुबारे खुल्ला रुपमा छलफल गरेर महाधिवेशन सम्पन्न गराउनै पर्ने आजको आवश्यकता पूरा गर्नुपर्छ ।

युवा नेतृत्वको बहस



युवा नेतृत्वको बहस पनि लामो समयदेखि कांग्रेसमा चलिरहेको छ । जिम्मेवारी प्राप्त गरिसकेपछि त्यसलाई बहन गर्ने क्षमता युवामा छ । त्यस्ता युवा पार्टीमा नभएको हुँदै होइन । परिपक्व छैनन् पनि हुँदै होइन । तथापि, हामीले अग्रजहरुको सम्मान गरेर अघि बढ्न सक्ने मान्छेको खोजीमा लाग्नुपर्छ । ‘अग्रजलाई सम्मान, युवालाई काम’ भन्ने नारा यस अघिदेखि नै चलेको हो । त्यसलाई आत्मसाथ गरेर अघि बढ्नुपर्छ । त्यसकारण अग्रजहरुको सम्मान गरेर युवाहरुलाई प्रशस्त भूमिका दिन सक्ने नेतृत्व यो महाधिवेनले चयन गनुपर्छ । 

कांग्रेसमा परिवारवाद

कांग्रेसमा परिवारवादको कुरा आउँछ । तर, त्यो समस्याका रुपमा रहेको देखिँदैन । पार्टीमा व्यक्तिगत र पारिवारिक योगदान गर्ने प्रशस्त छन् । परिवारको सन्दर्भमा कुरा गर्दै जाँदा कोइराला परिवार वा गणेशमानको परिवारलाई जोड्न खोजिएको हो । तर, त्यहाँ पनि त्यस्तो समस्या म देख्दिनँ । उहाँहरुको पनि आफ्नै लगानी र इतिहास पार्टीभित्र छ । उहाँहरुले आफ्नो रगत र पसिना पार्टीभित्र बगाउनुभएको छ । यसलाई नै परिवारवाद भन्न मिल्दैन । 
 
कसरी गर्ने महाधिवेशन ?

कांग्रेस महाधिवेशनको मुखमा यतिबेला पार्टीलाई सत्ताको थप ठूलो जिम्मेवारी काँधमा आएको छ । साथै, कोभिड–१९ महामारी, बाढी–पहिरोलगायतका समस्या पनि हामीले भोगिरहेका छौँ । अब यसका बीचमा हामी कोरोनाको कारणले नियमित तरिकाले अनि खुल्ला रुपले महाधिवेशन गर्न सक्दैनौँ भने विकल्पहरुमा छलफल हुन ढिला भइसक्यो । विभिन्न प्रविधिमार्फत पनि हामी अघि बढ्न सक्नुपर्छ । 

अर्को कुरा विधानतः कसरी पार्टीलाई जोगाइराख्ने भन्ने सन्दर्भ पनि छ । वडा अधिवेशन सम्पन्न गरिसकेपछि हामीले जति निर्वाचित गर्छौं ती प्रतिनिधिहरुले पालिकाको प्रतिनिधि छान्ने परिस्थिति सिर्जना गर्न सक्नुपर्छ । पालिका स्तरबाट प्रदेश र प्रतिनिधिसभा क्षेत्रको अधिवेशन गर्ने परिस्थिति निर्माण गर्न सक्यौँ भने हामी सफल हुन्छौँ । 

प्रदेशहरुको जिल्लामै भेला भएर निर्वाचन गर्न सकिने सम्भावना छ । त्यो पनि गर्न सक्दैनौँ भने १३ औँ महाधिवेशनको प्रतिनिधिहरुबाटै विशेष महाधिवेशन गर्नेतिर पनि सोच्नुपर्छ । संवैधानिक संकटबाट पार्टीको जुन प्रश्न उठिरहेको छ, त्यसबाट पार पाउनका लागि केही न केही त गर्नै पर्छ । नेतृत्व अघि बढ्छ भने हामी अधिवेशन गराउन तयार छौँ । तर, त्यसो गर्न सकिँदैन भने भिन्न विकल्पबारे सोच्नुपर्छ । नेताहरुलाई हामीले बारबार यसबारे सचेत गराइरहेका छौँ । 

नेतृत्व गम्भीर नबन्ने ? 

माथिका सबै विषयलाई दृष्टिगत गर्दै कांग्रेसको नेतृत्व गम्भीर मात्र होइन निकै गम्भीर हुनुपर्ने बेला आएको छ । अरुभन्दा पनि हामीसँग यतिबेला समय नै बाँकी छैन । निर्वाचन आयोगमा पनि हामीले कम्तीमा क्रियाशील सदस्यताको अन्तिम नामावली दिएर १९ दिनभित्र वडाको अधिवेशन गर्छौं भनेका छौँ । त्यहीकारण पनि छिटोभन्दा छिटो अधिवेशन गर्नुपर्ने अवस्था छ । निर्वाचन आयोगसँग पनि कुराकानी भइरहेको छ भन्ने हामीले जानकारी पाएका छौँ । 

भदौभित्र वडाको अधिवेशन सम्पन्न गरेर भए पनि संवैधानिक संकटबाट जोगाउनुपर्छ । भदौदेखि वडाको अधिवेशन सुरु गर्यौं भने कात्तिक–मंसिरसम्म महाधिवेशन गर्न सक्छौँ । जसका लागि नेतृत्वको इच्छाशक्ति चाहियो, इच्छाशक्ति भएपछि हामीले महाधिवेशन गर्नै पर्छ र सक्छौँ भन्ने पनि मलाई लाग्छ ।

( श्रेष्ठ​ नेपाली कांग्रेस, संखुवासभाका सभापति हुन् ) 

यही सिरिजमा यसअघि प्रकाशित अन्य जिल्ला सभापतिका यी विचार पनि पढ्नुहाेस्–

‘उमेरले होइन विचार र दृष्टिकोणले युवा नेतृत्व छान्नुपर्छ’–तेह्रथुम सभापति

‘वंशको आशीर्वाद होइन, कर्मको हिसाबमा नेतृत्व छनोट हुनुपर्छ’– चितवन सभापति

‘१४ औँ अधिवेशनबाटै युवाहरु आउँछन् भन्ने मैले देखेको छैन’– सर्लाही सभापति

‘पाका नेतृत्वसँगै पुस्तान्तरण जरुरी छ’– सिन्धुली सभापति

शेरबहादुरजी, रामचन्द्रजीहरुले धेरै अवसर पाउनुभयो, दोस्रो पुस्तालाई नेतृत्व दिनुपर्ने बेला आएको छ- धनुषा सभापति

‘अर्काको फेरो समाएर नेतृत्वमा पुग्न सकिँदैन’– दोलखा सभापति

पार्टीको वैधानिकताका लागि पनि त्याग गर्न सक्नुपर्छ– रामेछाप सभापति

युवामा क्षमता देखिनुपर्यो, अनि मात्र नेतृत्वमा दाबी गर्नुपर्छ – पर्सा सभापति

चार वर्षमा हुनुपर्ने महाधिवेशन पाँच वर्षमा पनि गर्न नसक्ने यो कस्तो नेतृत्व ?—नुवाकोट सभापति

‘कांग्रेसको इतिहास संरक्षण गर्ने नेतृत्व आवश्यक छ’— काठमाडाै‌ं सभापति

‘हामी संकटपूर्ण महाधिवेशनको मुखमा छौँ’— काभ्रेपलान्चाेक सभापित

‘नयाँ नेतृत्व, नयाँ विचार, नयाँ ढंग, नयाँ कार्यक्रमका साथ कांग्रेस अगाडि बढ्नुपर्छ’— सिन्धुपाल्चाेक सभापति

‘युवाहरुले धारणा नबदल्ने हो भने नेतृत्वमा आउँदैनन्’— भक्तपुर सभापत

 

 

  • प्रकाशित मिति : साउन १९, २०७८ मंगलबार १८:३९:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया