logo-img

राष्ट्रियसभामा नारायणकाजी : दार्चुला घटनादेखि संसद विघटन प्रकरणबारे यस्तो धारणा

सत्तारुढ नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा राष्ट्रियसभा सदस्य नारायणकाजी श्रेष्ठले जयसिंह धामी बेपत्ता प्रकरणमा भारतीय एसएसबीहरुकै संलग्नता भएको भन्दै भारतले नेपाली जनतासँग सार्वजनिक क्षमायाचना गर्नुपर्ने बताएका छन् । 

बुधबार राष्ट्रियसभा बैठकको बिशेष समयमा बोल्दै सांसद श्रेष्ठले अहिलेसम्मको प्रमाणको आधारमा दार्चुलाका जयसिह धामी बेपत्ता प्रकरणमा भारतीय एसएसबीहरुको संलग्नता रहेको उल्लेख गर्दै यस घटनाको निम्ति भारत सरकारले नेपाली जनतासँग सार्वजनिक रुपमा क्षमा याचना गर्नुपर्ने बताए ।

श्रेष्ठले भने, ‘म यस प्रकारको अमानवीय, उत्पीडनकारी र क्रुर कार्यको घोर निन्दा एवं भत्र्सना गर्दछु । यसका निम्ति भारतले अविलम्ब नेपाल र नेपाली जनतासँग सार्वजनिक क्षमायाचना गर्न माग गर्दछु । दोषी व्यक्तिहरूमाथि तत्काल कडा कारबाही गर्न माग गर्दछु र अबका दिनहरुमा यस प्रकारका हेपाहा, उत्पीडनकारी व्यवहार अन्त्य गर्न, नदोहोर्याउन पनि म जोडदार माग गर्न चाहन्छु ।’

सांसद श्रेष्ठले यस प्रकरणले नेपाली जनतामा पीडा पैदा भएको भन्दै पीडाले र देशभक्तिको भावनाले नेपाली जनता आफै प्रतिकारको स्थितिमा आउन सक्ने चेतावनी दिँदै सरकारले तत्काल सत्यतथ्य छानबिन गर्नुपर्ने बताए । 

श्रेष्ठले भने, ‘नेपाली जनतामा यस प्रकारको अमानवीय, क्रुर घटनाबाट जुन पीडा पैदा भएको छ, त्यो पीडाले देशभक्तिको बाँध, मानवताविरोधी कार्यका विरुद्ध उर्लिएको भावनाले त्यो बाँध भत्काएर आफैँ प्रतिवाद र प्रतिकारमा आउने स्थिति उत्पन्न गर्ने कार्य कुनैपनि हालतमा उपयुक्त हुँदैन । यस सम्बन्धमा नेपाल सरकारले तत्काल कदम चालोस् भन्ने म विशेष अनुरोध गर्न चाहन्छु ।’

श्रेष्ठले प्रतिनिधिसभा विघटनको प्रमुख नायक पूर्वप्रधानमन्त्री केपी शर्मा ओली भएपनि यसको निम्ति विगतदेखिको प्रवृति जिम्मेवार रहेको बताए । मुलुकको दुरावस्थाको निम्ति ओली मात्रै जिम्मेवार नभएर सबै राजनीतिक पार्टीहरु र नेताहरु तथा यसअघि सरकार चलाउनेहरु पनि जिम्मेवार भएको उनले जिकिर गरे । यस विषयमा आत्मसमीक्षा गरेर आफूलाई सुधार्दै जानुपर्ने उनले बताए । 



श्रेष्ठले भने, ‘प्रतिनिधिसभालाई विघटन गरेर प्रतिगामी कदम चाल्ने प्रमुख पात्र र नायकत्व पूर्वप्रधानमन्त्री तत्कालीन सरकारका प्रमुख माननीय केपी शर्मा ओलीले नै गर्नुभएको थियो । त्यो कुरा सत्य हो । तर, यो कुरा पनि हामीले आत्मसात् गर्नु जरुरी छ । यो मुलुकको दुरावस्थाका निम्ति, यो मुलुकको बेहालका निम्ति त्यो प्रवृत्तिका बाहक उहाँ मात्रै जिम्मेवार हुनुहुन्थेन । सबै राजनीतिक पार्टीहरु, नेताहरु, योभन्दा अगाडि विभिन्न ढंगले सरकार चलाउने सरकारहरु पनि एक वा अर्को रुपमा, एउटा वा अर्को हदसम्म जिम्मेवार थिए । आज हामीले त्यो कुरापनि गम्भीर आत्मसमीक्षा गर्नुपर्छ । निर्मम आत्मसमीक्षा गर्नुपर्छ र आफूलाई सच्याउन हामी तयार हुनुपर्छ ।’

सांसद श्रेष्ठले बाढी पीडितहरुका लागि तत्काल राहत प्याकेज ल्याउन सरकारसँग माग पनि गरे ।



  • प्रकाशित मिति : साउन २०, २०७८ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया