कति लहरसम्म पुग्ला कोरोना ?

कोरोना भाइरसले पछिल्लो डेढ वर्षदेखि नेपालमा भयावह रुप देखाउँदै आएको छ । अहिले यो भाइरसको तेस्रो लहर नेपाल भित्रिएको चिकित्सकहरुको भनाइ छ । अब कतिवटा लहर वा कति भेरियन्टसम्म भाइरसको त्रास रहला भन्ने विषयमा धेरैको चासो छ । विशेषज्ञहरुका अनुसार कति भेरियन्टसम्म भाइरस पुग्छ भन्ने कुराको निर्धारण प्रभावकारी भ्याक्सिनको उपलब्धतामा भर पर्ने बताउँछन् । यो कति समयसम्म लम्बिन्छ अथवा कति भेरियन्टसम्म पुग्छ भन्नेबारे अहिले उनीहरु नै अनभिज्ञ छन् ।  

कोरोना भाइरसले म्युटेसन स्वरूपको प्रभाव पनि नेपालमा देखाइसकेको छ । यसको पहिलो र दोस्रो स्वरुप नेपालमा देखिइसकेको छ । अहिले तेस्रो लहरको सुरुवाती चरण चलेको विशेषज्ञहरु बताउँछन् । 
कति भेरियन्टसम्म यो पुग्ला त भन्ने कुराको निर्धारण भ्याक्सिनका साथै सरकारले गर्ने लकडाउन र आमनागरिकले अपनाउने सचेततामा पनि भर पर्छ । भाइरस नियन्त्रण गर्न २०७६ चैत ११ गतेबाट सरकारले नेपालमा लकडाउन गरेको थियो । लकडाउनले भाइरस संक्रमण केही कम भयो ।

कोरोना केही मत्थर भएपछि सबै कुरा सामान्य बन्न थाले, भीडभाड बढ्न थाल्यो । करिब ९ महिनासम्म मानिसहरुले गरेको लापरबाहीका कारण पुनः कोरोनाको दोस्रो लहर फैलन थाल्यो । यो क्रम रोक्नका लागि नेपाल सरकारले बैशाख १६ गतेबाट पुनः लकडाउन गर्यो । 
पछिल्लो पटक असार २२ गतेदेखि लकडाउन हटाइयो र विभिन्न व्यवसाय तथा सार्वजनिक सवारी साधन चल्न थाले । निषेधाज्ञा केही खुकुलो भएसँगै संक्रमणदर पनि विस्तारै उकालो लाग्न थालेको छ । यसलाई कतिपयले तेस्रो लहर भनेका छन् । 

भेरियन्ट कसरी मापन गरिन्छ ?
कुनै पनि सरुवा रोगले एक किसिमले मात्र असर गर्दैन । यसले विभिन्न स्वरुपहरु परिवर्तन गर्छ जसलाई म्युटेसन अफ भाइरस भनिन्छ । भाइरसमा हुने स्पाइक प्रोटिनको परिवर्तनका कारण भाइरसमा म्युटेसन हुन्छ । यसमा आएको परिवर्तनले भाइरस सक्रिय तथा निष्क्रिय हुने कुरामा समेत प्रभाव पार्ने गर्छ । यसै अनुरुप कोरोना भाइरसको पनि कति भेरियन्टसम्म म्युटेसन हुने भन्ने टुंगो नभएको बताउँछन् सरुवा रोग विशेषज्ञहरु ।

सरुवा रोग विशेषज्ञ तथा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा. वासुदेव पाण्डे भन्छन्, ‘कोभिडको कति भेरियन्टसम्म पुग्छ भन्ने निश्चित छैन ।’ 
नेपालमा हालसम्म कतिवटा भेरियन्ट परिवर्तन भए भन्नेबारे पनि अनुसन्धान भएको छैन । उनी भन्छन्, ‘नेपालमा अध्ययन–अनुसन्धान नभए पनि हावर्ड, अक्सफोर्ड विश्व विद्यालयमा कोरोना सम्बन्धी अनुसन्धानहरू भएका छन् ।’ जसको आधारमा पनि कोभिडको निश्चित भेरियन्ट यति नै भन्ने नभएको उनले बताए ।

भाइरसको प्रकृति परिवर्तनशील हुने भएकाले यसको स्वरुप र लहर कतिसम्म फैलने भन्ने नै नहुने उनी बताउँछन् । विकसित देशहरुमा दैनिक भाइरसको जाँच हुने गरेको र त्यसैबाट यसको गुणबारे थाहा हुने उनको भनाइ छ । विकसित देशहरुमा ‘मनिटरिङ अफ इपिडिमियोलोजी’ का आधारमा भाइरसले कति असर पु¥याउँछ भन्ने हरेक दिन जाँच हुने गर्छ ।  नेपालमा पनि यसैको आधारमा गरिएको अनुमानका आधारमा यो कति दिनसम्म फैलन्छ वा कहिले रोकिन्छ यसै भन्न नसकिने सरुवा रोग विशेषज्ञको भनाइ छ । 



यो फैलने सम्भावना कम अथवा बढी सर्ने वा कम सर्ने हुन सक्छ । तर, भाइरस पूरै निर्मुल हुने कुरा अहिले नै अनुमान गर्न नसकिने शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन बताउँछन् ।

‘यो भाइरस यति नै भेरियन्टसम्म पुग्छ भन्ने छैन । नेपालमा कतिवटा लहरसम्म जालासमेत भन्न सकिँदैन,’ उनले भने । भाइरसको रुप परिवर्तन हुने भएकाले यसको असर पछिसम्म पनि देखिन सक्ने उनको भनाइ छ । ‘यो कम हुन्छ, तर निर्मुल नै हुन्छ भन्न सकिँदैन,’ उनले भने, ‘यो एउटा फ्लुजस्तै हो ।’ 
सर्ने तरिका र लक्षण हेर्दा यो फ्लूसँग मेल खान्छ । त्यसैले समयअनुसार यसको भेरियन्ट पनि परिवर्तन हुँदै जान्छ ।



भेरियन्टको स्वरुप हेरेर खोपको पनि प्रमाणीकरण आवश्यक 
कोरोना भाइरसले स्वरुप परिवर्तन गर्दै गएको खण्डमा हाल प्रयोगमा ल्याएका खोपहरु पनि प्रमाणीकरण गर्दै लानुपर्ने बताउँछन् डा. पुन । उनी भन्छन्, ‘हालसम्मको भेरियन्टविरुद्ध अहिले हामीले प्रयोगमा ल्याएका खोपहरु प्रभावकारी छन् । तर, समयकालमा भाइरसले रुप परिवर्तन गरिरहेको खण्डमा यसलाई प्रमाणीकरण गर्नुपर्ने हुन्छ ।’ 

डा. पुन थप्छन्, ‘यो भाइरस यति नै भेरियन्टसम्म फैलन्छ भन्ने नै हुँदैन र अहिलेको खोपको प्रतिरोधात्मक क्षमताले पछिसम्म यही रुपमा काम गर्छ भन्ने पनि हुँदैन । भेरियन्टले रुप परिवर्तन गरेमा खोपमा पनि सुधार गर्दै जानुपर्छ ।’
  
नेपालमा हालसम्म चारवटा भेरियन्ट देखिएको छ ।  सरुवा रोग विशेषज्ञका अनुसार यो भन्दा बढी भेरियन्ट पनि देखिन सक्छ । तर, नेपालमा कुन भाइरस अथवा कुन भेरियन्ट भनेर पत्ता लगाउन विदेशमा पठाउनुपर्ने भएकाले पहिचान हुन गाह्रो रहेको विशेषज्ञहरू बताउँछन् । 

  • प्रकाशित मिति : साउन २०, २०७८ बुधबार १६:३१:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया