ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले गरिबीको रेखामुनि रहेका जनतालाई नि:शुल्क विद्युत उपयोग गर्न दिइने बताएकी छन् । बिहीबार मन्त्रालयमा पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रीहरुसँगको छलफलमा मन्त्री भुसालले यस्तो बताएकी हुन् ।
मन्त्री भुसालले आफूले गरिबीको रेखामुनि रहेका जनतालाई निशुल्क विद्युत उपभोग गर्न दिने गरी तयारी अगाडि बढाएको बताइन् । विद्युतको घरेलु उपयोग जसले बढी गर्छ उसलाई विद्युत महसुल पनि कम गर्ने गरी आफूले तयारी गरिरहेको उनले जानकारी दिइन् ।
भुसालले भनिन्, ‘गरिबीको रेखामुनि भएका आधारभूत जनता, उनीहरुलाई कहीँ राहत दिनुपर्छ भनेर निशुल्क विद्युत दिने गरेर एउटा तयारी मैले गरिरहेको छु । करिब करिब हामी त्यसको निष्कर्षमा पुग्दैछौँ । घरेलु उपभोग बढाउनको निम्ति जसले बढी बाल्छ उसलाई अलिकति रेट कम होस् भन्ने उद्देश्यद्वारा त्यसको तयारी गरेको छु मैले ।’
मन्त्री भुसालले सबै कृषियोग्य भूमिमा सिँचाइ पुर्याउनको निम्ति पनि आफू क्रियाशील रहने बताइन् । सिँचाइको निशुल्क सेवा दिन सके विदेशी तेल खपत गरेर पम्प, मोटर चलाउनुपर्ने अवस्थाको अन्त्य हुने र राष्ट्रिय अर्थतन्त्र बढ्ने उनले बताइन् । सिँचाइको सुविधा पुर्याएर युवा जनशक्तिलाई कृषिमा आकर्षित गर्ने योजना रहेको उनले उल्लेख गरिन् ।
भुसालले भनिन्, ‘सबै कृषियोग्य जमिनमा सिँचाइ पुर्याउने । सिँचाइलाई पनि हामीले आधारभूत र निशुल्क ढंगले सेवा दिन सक्यो भने विदेशी तेलको खपत गरेर पम्प, मोटर चलाएर सिँचाइ गर्ने व्यवस्थालाई हामीले अन्त्य गर्न सक्यो भने त्यसले राष्ट्रिय अर्थतन्त्रमा उत्पादकत्व बढाउने कुरा र पेट्रोलियम पदार्थमा विस्थापित गर्ने कुरा सँगसँगै कृषिप्रति युवा जनशक्तिको आकर्षण हुन्छ भन्ने मान्यता हो ।’
मन्त्री भुसालले सातै प्रदेशका नदीबाट विद्युत उत्पादनको सम्भाव्यताबारे अध्ययन गरिरहेको पनि बताइन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।