सर्वोच्चको फैसला : माओवादी छाडेर एमाले भएका जनप्रतिनिधिको पद कायमै
फाइल तस्बिर

नेकपा माओवादी केन्द्रबाट निर्वाचित जनप्रतिनिधिहरूलाई पार्टीले गरेको कारबाही सदर हुनुपर्ने भन्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिएको भ्याकेट निवेदन सर्वोच्च अदालतले खारेज गरिदिएको छ । 

माअ‍ोवादी केन्द्रबाट चुनाव जितेर नेकपा एमालेमा क्रियाशील भएका जनप्रतिनिधिहरूलाई पार्टीले गरेको कारबाही मान्य हुनुपर्ने भन्दै प्रचण्डले दिएको भ्याकेट निवेदन खारेज भएको हो । 

सर्वाेच्चमा बिहीबार न्यायाधीशहरू आनन्दमोहन भट्टराई, बमकुमार श्रेष्ठ र मनोजकुमार शर्माको इजलासमा प्रचण्डले दिएका भ्याकेट निवेदनहरूमाथि एकसाथ सुनुवाइ गर्दै खारेज भएको हो । अदालतको अन्तरिम आदेश खारेज गर्ने प्रचण्डको माग इजलासले अस्वीकार गरेको हो । 

अदालतको फागुन २३ को फैसलाले तत्कालीन नेकपा बदर गरी एमाले र माअ‍ोवादी पुरानै अवस्थामा फर्किएपछि एमाले रोजेका विभिन्न जिल्लाका स्थानीय तहका मेयर, उपमेयर, गाउँपालिकाका पदाधिकारीहरूलाई माओवादी केन्द्रले कारबाही गरेको थियो । 

कारबाही गरिएका जनप्रतिनिधिलाई उसले निर्वाचन आयोगबाट पदमुक्तसमेत गराएको थियो । पदमुक्त भएकाहरु सर्वोच्चमा गएपछि कारबाही रोक्नका लागि अन्तरिम आदेश भएको थियो । 

अदालतको आदेशसँगै रौतहटका विभिन्न स्थानीय तहका १४ जना जनप्रतिनिधिहरु पुनः पदमा फर्किएका थिए । सोही अन्तरिम आदेश खारेजीको मागसहित प्रचण्डले भ्याकेट निवेदन दिएका थिए । 





  • प्रकाशित मिति : साउन २१, २०७८ बिहीबार १७:३३:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया