कांग्रेसलाई वैधानिकता जोगाउन हम्मे, के अबकाे विकल्प विशेष महाधिवेशन मात्र हाे ?

२३ भदौभित्र नेपाली कांग्रेसले महाधिवेशन नगरे वैधानिक संकट उत्पन्न हुने छ । २०७२ फागुन २० देखि २३ सम्म १३ औं महाधिवेशन गरेको कांग्रेसले पार्टीलाई जीवित राख्न प्रदेश तथा केन्द्रीय समितिका पदाधिकारीको चुनाव सकेर त्यसको विवरण निर्वाचन आयोगलाई बुझाउनै पर्ने बाध्यता छ । 

तर, कांग्रेसमा देखिएको क्रियाशील सदस्यता विवाद, बढ्दै गएको कोभिड–१९ महामारी, बाढी–पहिरोलगायतका कारणबाट यतिबेला महाधिवेशन हुने÷नहुने अन्योल कायमै छ । अनेकौं समस्याका बीच यदि भदौभित्र महाधिवेशन सम्पन्न गर्न नसक्दा पार्टीको वैधानिकतामाथि प्रश्न उठ्ने भन्दै त्यसमाथि कांग्रेस शीर्ष नेतृत्वले बहस चलाइरहेको छ । 

तर, महाधिवेशन गर्न नसकेका कांग्रेस केन्द्रीय नेताहरु भने वैधानिकता जोगाउने विकल्पमा केन्द्रित हुन थालेका छन् । त्यसका लागि सभापतिका आकांक्षी सबैजसो उम्मेदवार जिल्ला तहसम्म सुझाव मागिरहेका छन् । 

 

विशेष महाधिवेशन ! 

कांग्रेसमा झनै पेचिलो बन्दै गएको क्रियाशील सदस्य विवादले अझै किनारा पाउन सकेको छैन । नियमित महाधिवेशन गर्न नसक्दा कसरी पार्टीको वैधानिकता जोगाउने ? भन्ने प्रश्नको वरिपरि रहेर केन्द्रदेखि वडासम्म निरन्तर बहस चलिरहेको छ । 



महाधिवेशनको विकल्पमा नेताहरुले सुझाव मागिरहँदा धेरैजसो जिल्ला सभापतिले विशेष महाधिवेशन गरेर भए पनि वैधानिकता जोगाउन पर्ने तर्क गरिरहेका छन् । उनीहरुले नेतृत्वलाई सुझाव पनि सोहीअनुसार दिइरहेका छन् । त्यसो त, कांग्रेसको रामचन्द्र पौडेल समूहले भने महाधिवेशनको विकल्प महाधिवेशन नै भएको भन्दै विकल्पमा जानै नहुने बताउँदै आएको थियो । तर, बिहीबार बसेको पौडेल समूहको बैठकले महाधिवेशनको विकल्पबारे छलफल गरेको छ । केन्द्रीय तहका नेताहरूसँगको छलफलपछि पौडेल समूह पनि अब विशेष महाधिवेशन वा अन्य केही विकल्पबारे निष्कर्षमा पुग्नुपर्ने अवस्था छ ।  

यसअघि पार्टीका जिल्ला सभापतिहरूसँग आफूनिकट शीर्षस्थ नेताहरुले यसबारे छलफल गरिसकेका छन् । भर्चुअल माध्यमबाट जिल्ला सभापतिहरूसँग पार्टी सभापति देउवा स्वयंले पनि सुझाव लिएका थिए । 



अधिकांश जिल्ला सभापतिहरूले विशेष महाधिवेशन गरेरै भए पनि पार्टीको वैधानिकता जोगाउन पर्ने तर्क गरिरहेका छन् । ‘अर्जुनरसिंह केसी र मलगायत साथीहरुको भनाइ चाहिँ भदौ १९ गतेभित्रमा विशेष राष्ट्रिय महाधिवेशन गर्नुपर्छ,’ इलाम जिल्लाका सभापति समेत रहेका कांग्रेस नेता हिमालय कर्माचार्य भन्छन्, ‘१३ औं महाधिवेशनका प्रतिनिधिको महाधिवेशन गरेर ९ महिनाभित्रमा नियमित राष्ट्रिय महाधिवेशन गर्ने गरी नेतृत्वले निर्णय लिनुपर्छ ।’

त्यस्तै, पाँचथरका सभापति नरेन्द्रकुमार केरुङ पनि विशेष महाधिवेशन गरेरै पार्टीको वैधानिकता जोगाउन पर्ने बताउँछन् । उनले भने, ‘१३ औं महाधिवेशन र महाधिवेशन प्रतिनिधिको आधारबाट केन्द्रीय समितिलाई विशेष महाधिवेशनको स्वरुप दिएर केन्द्रीय समितिलाई पुनर्गठन गर्ने वा सहमतिको अधिवेशन गर्ने अथवा अरु कुनै व्यवस्थापन गरेर वैधानिकता जोगाउनुपर्छ ।’

 

अन्य विकल्पहरु

वडा अधिवेशन

पार्टीको वैधानिकता जोगाउनका लागि अन्य विभिन्न विकल्पबारे पनि चर्चा भइरहेका छन् । कांग्रेस नेताहरुका अनुसार यतिबेला देखिएको संवैधानिक र वैधानिक संकट समाधानका लागि १३ औं महाधिवेशनबाट आएका क्रियाशील सदस्यहरुको माध्यमबाट वडा अधिवेशन गर्नेबारे छलफल भएको छ । ‘वडा अधिवेशन गरेपछि केही समय स्थगित गरेर निर्वाचन आयोगसँग परामर्श गर्दै तीन महिनापछि महाधिवेशन गर्न सक्छौं,’ एक केन्द्रीय सदस्य भन्छन्, ‘वडा अधिवेशनले क्षेत्रीय प्रतिनिधि निर्वाचित गर्छ । क्षेत्रीय प्रतिनिधि निर्वाचित भइसकेपछि पालिका र प्रदेशको अधिवेशन नगरी एकैचोटि निर्वाचन क्षेत्रको क्षेत्रीय अधिवेशन गरेर त्यसबाट महासमिति प्रतिनिधि चयन गर्दै जिल्ला र क्षेत्रको नगरी राष्ट्रिय महाधिवेशनमा जान सक्छौं ।’

कोभिड महामारीको अवधिलाई शून्य समय मान्ने

कोभिड–१९ महामारीको अवधिलाई शून्य समय मानेर पार्टीको वैधानिकता मंसिर–पुससम्म भए पनि पु¥याउन सकिने अर्को विकल्पबारे छलफल भइरहेको छ । ‘कोभिड–१९ को महामारीको अवस्थालाई नेपालको कानुनले पनि जिरो मान्न सकिन्छ भनेर परिभाषित गरिसकेपछि हाम्रो महाधिवेशनलाई पनि पुस–माघसम्म तन्काउन सकिन्छ ।’ यो विकल्पमा रहेर पनि छलफल भएको इलाम सभापति केरुङ बताउँछन् ।

 

अन्योल र चुनौतीका बीच अब के गर्छ कांग्रेस ?

अन्योल पूर्ण अवस्थामा अब नेपाली कांग्रेसको पूर्ण महाधिवेशन नहुने पक्कापक्की भइसक्यो । किनभने, साउन १० बाटै सुरु हुने भनिएको वडा अधिवेशन क्रियाशीलता विवाद नटुंगिँदै अलपत्र छ । यस्तो अन्योल पूर्ण अवस्थामा कांग्रेस नेतृत्व भदौ तेस्रो साता वडा अधिवेशन गरेर महाधिवेशन प्रक्रिया आरम्भ गर्ने र पार्टीलाई अवैध हुनबाट जोगाउने कसरतमा लागेको स्रोत बताउँछ । स्रोतका अनुसार यो प्रक्रिया मंसिरसम्म सम्पन्न गर्ने तयारीबारे नेतृत्व तहमा छलफल चलिरहेको छ । 

भदौ तेस्रो साता वडा अधिवेशन आरम्भ गर्ने र त्यसपछि लम्ब्याउने विकल्प नेताहरुबीच छलफलमा छ । किनकि, यसबीचमा दसैं, तिहार, छठजस्ता पर्वै–पर्व पर्छन् । यस्तो अवस्थाका कारण भदौमा आरम्भ भएको महाधिवेशन प्रक्रिया मंसिरसम्म मात्र सम्पन्न हुन सक्ने नेताहरुको ठम्याइ छ । 

उता, कांग्रेसका युवाहरु भने समयमै महाधिवेशन नभए आफूहरु आन्दोलनमा उत्रने चेतावनी दिइरहेका छन् । सबल कांग्रेस निर्माणका लागि युवा अभियानका प्रतिनिधिहरूले बिहीबार कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलमार्फत् सभापति शेरबहादुर देउवालाई तीन बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ । तत्काल महाधिवेशन कार्यतालिका सार्वजनिक गर्न, समायोजनका नाममा बाँडिएका विधान विपरीतका सदस्यताको पुनः छानबिन गर्न र विधिवत महाधिवेशन निश्चित गर्नुपर्ने माग अघि सारेका उनीहरुले माग सम्बोधन नभए अनशन बस्नेसम्मको चेतावनी दिएका छन् ।

 

कांग्रेस महाधिवेशनबारे जिल्ला सभापतिहरु के भन्छन् त ? पढ्नुहाेस्, कांग्रेस जिल्ला सभापतिसँग फरकधारले गरेका यी स्टोरीहरु— 

‘अहिलेको अवस्थामा महाधिवेशन तोक्नु मूर्खता हो’– भोजपुर सभापति

‘कांग्रेसमा अब अग्रजलाई सम्मान, युवालाई काम’– संखुवासभा सभापति

‘उमेरले होइन विचार र दृष्टिकोणले युवा नेतृत्व छान्नुपर्छ’–तेह्रथुम सभापति

‘वंशको आशीर्वाद होइन, कर्मको हिसाबमा नेतृत्व छनोट हुनुपर्छ’– चितवन सभापति

‘१४ औँ अधिवेशनबाटै युवाहरु आउँछन् भन्ने मैले देखेको छैन’– सर्लाही सभापति

‘पाका नेतृत्वसँगै पुस्तान्तरण जरुरी छ’– सिन्धुली सभापति

शेरबहादुरजी, रामचन्द्रजीहरुले धेरै अवसर पाउनुभयो, दोस्रो पुस्तालाई नेतृत्व दिनुपर्ने बेला आएको छ- धनुषा सभापति

‘अर्काको फेरो समाएर नेतृत्वमा पुग्न सकिँदैन’– दोलखा सभापति

पार्टीको वैधानिकताका लागि पनि त्याग गर्न सक्नुपर्छ– रामेछाप सभापति

युवामा क्षमता देखिनुपर्यो, अनि मात्र नेतृत्वमा दाबी गर्नुपर्छ – पर्सा सभापति

चार वर्षमा हुनुपर्ने महाधिवेशन पाँच वर्षमा पनि गर्न नसक्ने यो कस्तो नेतृत्व ?—नुवाकोट सभापति

‘कांग्रेसको इतिहास संरक्षण गर्ने नेतृत्व आवश्यक छ’— काठमाडाै‌ं सभापति

‘हामी संकटपूर्ण महाधिवेशनको मुखमा छौँ’— काभ्रेपलान्चाेक सभापति

‘नयाँ नेतृत्व, नयाँ विचार, नयाँ ढंग, नयाँ कार्यक्रमका साथ कांग्रेस अगाडि बढ्नुपर्छ’— सिन्धुपाल्चाेक सभापति

‘युवाहरुले धारणा नबदल्ने हो भने नेतृत्वमा आउँदैनन्’— भक्तपुर सभापति

  • प्रकाशित मिति : साउन २२, २०७८ शुक्रबार १०:५७:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया