चिनियाँ नागरिकको ‘अपराध अखडा’ नेपाल !

साउन १५ गते काठमाडौंको ठमेलबाट एक चिनियाँ नागरिक पक्राउ परे । पाँच तले घर भाडामा लिएर अवैध रुपमा मदिरा उत्पादन गर्दै आएका ५६ वर्षीय सी झिवेईलाई महानगरीय अपराध महाशाखाको विशेष टोलीले पक्राउ गरेको हो । 
 
रोचक कुरा त के छ भने, उनी गत अप्रिल २७ मा पर्यटक भिसामा नेपाल आएका थिए । पर्यटक भिसामा नेपाल आएका उनले घुम्नुको साटो व्यवसाय गर्ने सोच बनाए । त्यो पनि अवैध घरेलु मदिरा उत्पादन । सामान्यतया नेपालीले समेत आफ्नो क्षेत्रमा बसेर अवैध काम गर्ने हिम्मत गर्न सक्दैन, तर उनी भने पर्यटक भिसामा नेपाल आएर निकै व्यस्त ठाउँ ठमेलमा व्यवसाय गर्न थाले । 

उनले २०७८ वैशाख १० गते ‘होम स्विट स्मेल होटल एन्ड रेस्टुरेन्ट प्रालि’ दर्ता गरेका थिए । त्यही रेष्टुराँको आडमा उनले अवैध मदिरा उत्पादन गर्ने गरेको पाइएको महानगरीय अपराध महाशाखाका सूचना अधिकारी एसपी कृष्णप्रसाद कोइरालाले बताए । उनले नेपालका प्रहरी प्रशासन, अध्यागमन विभाग, आन्तरिक राजस्व कार्यालयजस्ता नियामक निकायलाई खुलेआम चुनौती दिइरहेका थिए । उनले अर्काको देश पसेर अवैध काम गर्नु त कता हो सोच्न पनि नसक्नुपर्ने हो । तर, उनी नेपालको कानुनलाई समेत चुनौती दिएर बसेका थिए । 

अवैध रुपमा मदिरा बनाउने मात्र हैन, चिनियाँहरू अनेकखालका आपराधिक क्रियाकलापमा संलग्न हुँदै आएका छन् । काठमाडौंको ठमेल क्षेत्रमा अड्डा जमाएर बसेको अर्को गिरोहलाई प्रहरीले असार २२ गते पक्राउ गर्यो । नेपालमा बसी दुर्लभ वन्यजन्तुको आखेटोपहारको अवैध कारोबार गर्ने र जुवातास तथा सट्टेबाजीमा संलग्न रहेका चार जना चिनियाँलाई प्रहरीले पक्राउ गरेको थियो । 
ठमेलको ज्याठा गल्लीभित्र रहेको चिनियाँ नागरिकले सञ्चालन गरेको होटलमा भेला भएर अवैध रूपमा आखेटोपहार कारोबार गर्ने गिरोहलाई पक्राउ गरिएको थियो । उनीहरूबाट ८ लाख ८९ हजार १५५ रूपैयाँ नगद र कस्तूरीको बिना, बुद्धचित्त, रुद्राक्ष, बाघको दाँत बरामद गरिएको थियो । 

विभिन्न कम्पनीका ७ थान फोन, बाघको छाला जस्तो देखिने १ थान सामान, कस्तूरीको बिना २० थान, बुद्धचित्त ९०० थान, रुद्राक्ष २० किलो, राहदानी २ थान, विभिन्न चिनियाँ बैँकहरूका एटिएम कार्ड पाँच थानलगायतका सामान बरामद गरिएको काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहले बताए । 
चिनियाँ नागरिक अवैध लोकल मदिरा कारोबार, प्रतिबन्धित जनावरको अंगको कारोबार गर्ने मात्र नभएर अन्य गम्भीर खालका अपराधमा समेत संलग्न हुँदै आएका छन् । सबैभन्दा सुरक्षित मानिएको एटिएम मेसिन नै ह्याक गरेर पैसा निकाल्ने साहस पनि चिनियाँमै बढी देखिएको छ । 

२०७७ चैत १८ गते काठमाडौंको ज्याठामा एक चिनियाँले मेगा बैंकको एटिएम मेसिनको पिन नम्बर ह्याक गरी नगद निकाल्न खोजेका थिए । २९ वर्षीय वाङ जियोालोङ नगद निकाल्न एटिएमभित्र प्रवेश गरेकै अवस्थामा महानगरीय प्रहरी वृत्त दरबारमार्ग र काठमाडौं परिसरको टोलीले पक्राउ गरेको थियो । 
प्रहरीले उनको साथबाट मोबाइल ४ थान, विभिन्न १० वटा चाबीसहितको झुप्पा १ थान, बैंकहरुको १० थान एटिएम कार्ड, चाइनिज युआन २ हजार ३ सय ८२, अमेरिकी डलर ६५ र नेपाली २ हजार ११० रुपैयाँ बरामद गरेको थियो ।
०००



गत वर्ष विभिन्न बैंकका एटिएम बुथबाट पैसा निकाल्दै गर्दा पाँच जना चिनियाँ नागरिक पक्राउ परे । काठमाडौंको दरबारमार्ग र ठमेल क्षेत्रमा रहेका विभिन्न बैंकका एटिएम बुथबाट बैंकिङ प्रणाली ह्याक गरेर करिब २ करोड रुपैयाँ निकालेका थिए । पक्राउ पर्नेमा झु लियाङग्याङ, लिन जेलनेमाङ, लुयो जेलालिले, क्यु योङ र चेङ विनविन थिए ।  

त्यसै समय नेपाली युवतीलाई विवाहको बहानामा चीन लगेर यौनदासी बनाउने कार्यमा संलग्न चार जना चिनियाँ पक्राउ गरे । नेपाली युवतीसँग विवाहको बहाना बनाएर चीन लैजाने र त्यहाँ यौनदासी बनाउने योजनासहित हिँडेका उनीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको थियो । पक्राउ पर्नेमा झाङ डोङ हुई, क्वान हाङ पिङ, क्विन लियाङ र जेङ छिङडाङ थिए । पक्राउ परेका उनीहरू अहिले काठमाडौंका विभिन्न जेलमा छन् ।  
०००



२०७६ पुस ७ गते प्रहरीले गरेको सर्च अपरेसनले निकै चर्चा पाएको थियो । केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) र काठमाडौं प्रहरी परिसर टेकुले काठमाडौंको मनमैजु, महाराजगञ्ज र बुढानिलकण्ठ क्षेत्रबाट संयुक्त अपरेसन चलाएको थियो । जहाँबाट अवैध गतिविधिमा संलग्न रहेका १२२ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको थियो ।  

उनीहरू एकै घरमा २५ देखि ३० जनाको समूह बनाएर बसेका थिए । भिसा म्याद सकिए पनि लुकेर बस्दै विभिन्न अवैध कार्य गर्दै रहेको आशंकामा प्रहरीले सर्च अपरेसन चलाएको थियो । यसका लागि प्रहरीले तीन महिनादेखि काम गर्दै आएको थियो । चिनियाँ नागरिकहरुको शंकास्पद गतिविधिबारे स्थानीयले सूचना दिएका थिए । 

पक्राउ परेका सबै चिनियाँलाई चीन फिर्ता पठाइएको थियो । त्यसका लागि चीनले नै चार्टर जहाज नेपाल पठाएको थियो । उनीहरूलाई के-कति कारणले पक्राउ गरियो ? कुनै कारवाही नै नगरी किन चीन नै फिर्ता पठाइयो ? यो विषय अझै अनुत्तरित छ । 
यसरी पछिल्ला केही वर्षयता नेपाल आएर चिनियाँ नागरिकले गर्ने अपराधको शृंखला बढ्दो छ । नेपालमा पर्यटक भिसामा आउने र लामो समय भूमिगत भएर आपराधिक क्रियाकलापमा संलग्न हुने गरेको प्रहरीले जनाएको छ । 

नेपाल प्रहरीको तथ्यांक अनुसार गत आर्थिक वर्षमा ३६३ जना विदेशी नागरिक विभिन्न आपराधिक गतिविधिमा संलग्न रहेको पाइएको थियो । तीमध्ये ३५४ जना पुरुष र ९ जना महिला थिए । अहिले पनि विभिन्न आपराधिक गतिविधिमा संलग्न रहेका ५० जना विदेशी फरार छन् । 

आव २०७३/०७४ मा ५५५ जना विदेशी विभिन्न आपराधिक गतिविधिमा संलग्न थिए । आव २०७४/०७५ मा बढेर यो संख्या ७३९ जना पुगेको थियो । आव २०७५/०७६ मा ८६५ जना थिए भने आव २०७६/०७७ मा ७३३ जना विदेशी नेपालमा बसेर विभिन्न आपराधिक गतिविधिमा संलग्न रहेको आरोपमा पक्राउ परेको नेपाल प्रहरीको तथ्यांकले देखाएको छ । कोरोना महामारीका कारण दुई आवमा विदेशीहरू नेपाल आउन पाएनन् । 

साइबर अपराध, आखेटोपहारको अवैध कारोबार, एटिएम ह्याक गरेर पैसा चोरी गर्ने जस्ता गतिविधिमा चिनियाँ नागरिकको संलग्नता बढ्दै आएको नेपाल प्रहरीका प्रवक्ता एसएसपी वसन्तबहादुर कुँवर बताउँछन् । २०६० सालदेखि चिनियाँ नागरिकहरू वन्यजन्तुको अवैध कारोबारमा संलग्न हुँदै आएको पाइएको हो । पछिल्लो समय उनीहरूले आफ्नो आपराधिक गतिविधि बढाउँदै लगेको देखिन्छ । 

चिनियाँ नागरिकको आवागमन बढेसँगै अपराधको शृंखला पनि बढ्दै गएको हो । तर, प्रवक्ता कुँवर चिनियाँ नागरिकको अपराध शृंखला बढेको स्वीकार गर्दैनन् । चिनियाँ नागरिक लामो समय अवैध रुपमा नेपाल बसेर अपराधको शृंखला बढाइरहेका बेला प्रवक्ता कुँवर भने तथ्यांकले त्यस्तो नदेखिएको बताउँछन् । तर, प्रहरीले दिनहुँजसो पक्राउ गर्दै सार्वजनिक गर्ने गरेको विदेशीमा चिनियाँ बढी छन् । 

सन् २०१६ देखि चिनियाँ नागरिकलाई नेपालमा भिसा निःशुल्क गरिएको छ । निःशुल्क भएदेखि चिनियाँ नागरिकको आवागमन बढ्दो छ । आवागमनसँगै अपराध पनि बढिरहेको काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंह बताउँछन् । 

ठमेल क्षेत्र चिनियाँ नागरिकको अड्डा
काठमाडौंको एकदमै व्यस्त बजार हो- ठमेल । त्यहाँ विदेशी पर्यटकको चहलपहल निकै बढी हुन्छ । त्यसैमा हुन्छन्– चिनियाँ नागरिक पनि । व्यापार–व्यवसायको नाममा कतिपय चिनियाँ नागरिक अवैध क्रियाकलापमा पनि संलग्न देखिएका छन् । 
ठमेलसँगै बालुवाटार, बालाजु, महाराजगञ्ज, बुढानिलकण्ठ लगायतका क्षेत्रमा पनि चिनियाँ नागरिक घर भाडामा लिएर बस्दै आएका छन् । उनीहरूले महँगो भाडा तिरेर बस्ने गरेका छन् । ठमेल क्षेत्र चिनियाँले कब्जा नै गरेका छन् ।  

ठमेल क्षेत्रका रेष्टुराँदेखि डिपार्टमेन्ट स्टोरसम्म पनि उनीहरूको लगानी छ । कतिपयले त आफ्नो व्यापार–व्यवसायलाई फस्टाउँदै लगेका छन् भने कतिपयले व्यापारको नाममा अवैध गतिविधि गर्दै आएको महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी चन्द्रकुबेर खापुङ बताउँछन् । 
चिनियाँ नागरिकले सामान्य तरिकाले नेपालको भिसा पाउने र विभिन्न व्यापारिक उद्देश्य तथा पर्यटकीय भिसा लिएर नेपाल आउने अनि आपराधिक गतिविधिमा संलग्न हुने गरेको एसएसपी खापुङको भनाइ छ । 

निरन्तर साइबर र एटिएम हमला
पछिल्ला केही वर्षयता चिनियाँ नागरिक साइबर अपराध तथा एटिएम ह्याक गरेर पैसा निकाल्ने कार्यमा संलग्न हुँदै आएका छन् । नेपालमा बसेर अन्य देशमा साइबर हमला गर्ने तथा नेपालका एटिएम ह्याक गरेर पैसा निकाल्ने गरेको खापुङको भनाइ छ । चिनियाँ नागरिकको आपराधिक क्रियाकलाप बढ्दै गएपछि प्रहरीले तिनीहरूमाथि निगरानी बढाएको छ ।   

साथै, चिनियाँहरु बाल यौनदुराचार, मानव बेचबिखन, नक्कली पैसा, लागूऔषध कारोबार, राजस्व छली, ज्यान मार्ने उद्योग, बलात्कारजस्ता जघन्य अपराधमा पनि संलग्न रहेको पाइएको छ । 

भाषागत समस्या
नेपालमा आउने चिनियाँ नागरिकलाई भाषाको समस्या निकै पर्ने गरेको छ । उनीहरूमध्ये अधिकांश चिनियाँ भाषा मात्र बोल्छन् । कुनै घटनामा पक्राउ परे पनि उनीहरूले नेपाली वा अंग्रेजी नबोल्दा प्रहरीलाई नै समस्या हुने गरेको छ । 

भाषागत समस्याका कारण प्रहरीले दोभाषेमार्फत सोधपुछ गर्दै आएको एसएसपी खापुङ बताउँछन् । पक्राउ परेका चिनियाँ नागरिकले अंग्रेजी वा नेपाली नबुझ्ने र प्रहरीले चिनियाँ भाषामा कुरा गर्न नसक्दा अनुसन्धानमा समस्या पर्ने गरेको उनको भनाइ छ । 

किन गर्दै छन् चिनियाँ नागरिक नेपालमा अपराध ? 
पूर्व डीआईजी हेमन्त मल्ल भने नेपालको कमजोर कानुनी व्यवस्था, कमजोर विद्युतीय सुरक्षा प्रणालीजस्ता कारणले उनीहरूले नेपाललाई निशाना बनाएको हुन सक्ने बताउँछन् । भिसामा कडाइ नहुनु, भिजिट भिसाको सहजता र कमजोर अनुगमनका कारण विदेशीहरुले नेपालमा अपराध बढाउँदै लगेको मल्लको भनाइ छ । 

‘नेपालमा भिसामा कडाइ छैन । त्यसको अनुगमन पनि हुँदैन न त कडाइका साथ उनीहरूमाथि निगरानी नै हुन्छ । कहीँ–कतैबाट केही नभएपछि उनीहरूलाई अपराध गर्न सहज लागिहाल्छ नि,’ मल्ल भन्छन् । प्रहरी प्रशासनले सक्रिय भएर उनीहरूका गतिविधिमाथि निगरानी गर्नुपर्ने उनको भनाइ छ । 

  • प्रकाशित मिति : साउन २२, २०७८ शुक्रबार १५:३७:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया