बागमतीका २ मन्त्रीले गरे लापीलाङ पहिरोको स्थलगत निरीक्षण

बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री केशव पाण्डे तथा सामाजिक विकासमन्त्री सरस्वती बस्नेतले दोलखा जिल्लाको कालिन्चोक गाउँपालिका ५ स्थित लापीलाङ पहिरोको स्थलगत निरीक्षण गरेका छन् ।

शुक्रबार मन्त्रीद्वयले सामूहिक रुपमा दोलखाको कालिन्चोकस्थित घट्टेखोलाको वरिपरि गएको ठूलो रानीवन पहिरोको स्थलगत निरीक्षण गरेका हुन् । पहिरोको निरीक्षण र स्थानीयसँग साक्षात्कारपश्चात मन्त्रीहरुलाई वडा नं ५ का अध्यक्ष सुवास थामीले पहिरोको तत्कालीन तथा दीर्घकालीन समाधानको माग पत्रसहित ध्यानाकर्षण पत्र बुझाएका छन् । 

पत्र बुझ्दै मन्त्रीहरुले तत्काल प्रतिपरिवार राहत स्वरुप २५ हजार र घर निर्माणका लागि प्रतिपरिवार ४ लाख दिने प्रदेश सरकारको नीति भएकोले बस्ती स्थानान्तरणका लागि तत्काल सुरक्षित स्थान पहिचान गर्न स्थानीय सरकारलाई निर्देशन दिएका छन् । 

गतवर्ष वर्षायाममा सुरु भएको पहिरोले ९ घर बगाएको थियो । यसवर्ष पनि पहिरो थपिएपछि लापीलाङ गाउँ नै जोखिममा परेको स्थानीयले बताएका छन् । पहिरोले हालसम्म कुनै मानवीय क्षति नभएपनि यस वडाका करिब सय परिवार जोखिममा परेका छन् । 



अवलोकनमा मन्त्रीद्वय सँगै प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष श्याम बस्नेत, प्रदेश सांसद जुनेली श्रेष्ठ, दोलखा जिल्ला समन्वय समिति सभापति डबल पाण्डे, प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरे, कालिन्चोक गाउँपालिका उपाध्यक्ष कालिका पाठक लगायतको सहभागिता थियो ।



  • प्रकाशित मिति : साउन २२, २०७८ शुक्रबार १८:५:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया