काठमाडौंबासीको माग : एउटा वडामा ३ वटा खोप केन्द्र
फाइल तस्बिर

काठमाडौंका स्थानीयबासीले हरेक वडाका ३ वटा स्थानमा भेरोसेल खोपको दोस्रो डोजको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । 

शनिबार काठमाडौं महानगरपालिका वडा नम्बर १० स्थित रत्नराज्य माध्यामिक विद्यालयमा दोस्रो चरणको भेरोसेल खोप लगाउन पुगेका स्थानीयहरुले खोप लगाउन धेरैको बाँकि रहेको उल्लेख गर्दै हरेक वडाको ३ वटा स्थानमा खोप दिने व्यवस्था गर्न सरकारसँग माग गरेका हुन । 

हिजो (शुक्रबार)देखि सुरु भएको खोप अभियानमा काठमाडांै महानगरपालिका ३२ वटै वडाको १÷१ स्थानबाट खोप दिने व्यवस्था गरिएको छ । तर, दोस्रो चरणको भेरोसेल खोप लगाउन नपाएकाहरु धेरै भएकाले वडामा ३ वटा स्थान तोकेर सबैले खोप लगाउन पाउने व्यवस्था सरकारले गर्नुपर्ने स्थानीय ताराबहादुर खड्काले माग गरे । 

खड्काले भने, ‘धेरै बाँकी छन्, भेरोसेल खोपको दोस्रो डोज लगाउनेहरु । एउटा वडामा ३ वटा ठाउँ तोकी सबैले खोप लगाउन पाउने व्यवस्था सरकारले गरिदिए अझै राम्रो हुने थियो । खोप लगाउन पाएकोमा सरकारलाई धन्यवाद ।’

यता, स्थानीय तहले भने आम नागरिकलाई सहज ढंगले खोप दिने व्यवस्था गरिएको दाबी गरेको छ । कामनपा–१० का वडाध्यक्ष रामकुमार केसीले भेरोसेल खोपको दोस्रो डोज लगाउनका लागि आफूहरुले राम्रो व्यवस्था गरेको बताए । ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति, महिलाहरुका लागि लाइन नबसी खोप लगाउने व्यवस्था गरिएको उनको दाबी छ । 

वडाध्यक्ष केसीले भने, ‘राम्रोसँग दोस्रो डोजको खोप लगाउने व्यवस्था गरिएको छ । ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति, अशक्त महिलाहरुका लागि लाइन नबसी खोप लगाउने व्यवस्था गरिएको छ ।’



काठमाडौं महानगरपालिकाले भोलि (आइतबार)सम्म यो खोप लगाउने व्यवस्था गरेको छ । तोकिएका सबै खोप केन्द्रहरुमा बिहान १० बजेदेखि साँझ ५ बजेसम्म खोप लगाउने व्यवस्था गरिएको पनि वडाध्यक्ष केसीले बताए ।



  • प्रकाशित मिति : साउन २३, २०७८ शनिबार १४:३८:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया