काङ्ग्रेस जिल्ला सभापतिसँग फरकधार
पार्टीमा युवा उमेरको आधारमा होइन, विचारको आधारमा हुनुपर्छ

(सम्पादकीय नोटः नेपाली काङ्ग्रेसलाई १४ औं महाधिवेशनकाे राैनकले छाेइसकेकाे छ । यही सन्दर्भमा फरकधारले नेपाली काङ्ग्रेसका जिल्ला सभापतिहरुसँग उनीहरुले यो महाधिवेशनलाई कसरी हेरिरहेका छन् र पार्टीमा के होस् भन्ने चाहन्छन् भन्ने दुई प्रश्नमा आधारित रहेर प्रश्न गरेको थियो । जिल्ला सभापतिहरुसँग फरकधारले गरेको कुराकानी अब क्रमशः फरकधारमा प्रकाशित हुनेछ ।)


देशमा फेरि कोरोनाभाइरस संक्रमण बढ्दै गएको छ । यसका कारण हाम्रो पार्टीको १४ औं महाधिवेशन होला या नहोला भन्ने अन्योलको अवस्था रहेको छ । 

कोभिड १९ को संक्रमण बढिरहेका कारण नेपाली कांग्रेसकै कार्यकर्ता पनि महाधिवेशनमा सहभागी हुने या नहुने अन्योलमा छन् । त्यसैले अहिले महाधिवेशन महत्त्वपूर्ण हो या यसलाई अरु व्यवहारिक निर्णयका आधारलाई मानेर पार्टीको वैधानिकता संकटलाई व्यवस्थापन गर्न पर्छ भन्ने हामीले सोच्नु पर्छ ।

मैले कुराकानी गरेका अरु साथीहरुले पनि वैकल्पिक महाधिवेशनको कुरा गर्नु भएको छ । जे होस्, ढिलो चाँडो महाधिवेशन गर्नैपर्छ । अब यो महाधिवेशन सम्पन्न गर्दा विगतको भन्दा केही पुनर्संरचनामा पनि काम गर्न जरुरी देखिएको छ । नयाँ किसिमको विधान, पार्टीको आन्तरिक विधानमा केही परिवर्तन गरेर अब हुने संसदीय निर्वाचन, प्रदेशसभाको निर्वाचन र स्थानीय निर्वाचनलाई होल्ड गर्न सक्ने कांग्रेसको नेतृत्व अहिले आवश्यक भएको छ ।

 

युवा नेतृत्वको बहस 



पार्टीलाई पुस्तान्तरण गर्दै जाँदा युवाहरुको नेतृत्वलाई पार्टीले स्वागत गर्दै जानुपर्छ भन्ने आम धारणा छ । र यो बहसको विषय हुनुपनि पर्छ । तर, युवाहरुको कुरा गर्दैगर्दा विगतमा राजनीतिमा ठूलो योगदान बनाएका वा इतिहास रच्नु भएका अग्रज पुस्ताहरूलाई बेवास्ता गरेर जान सकिँदैन । यसकारण युवाहरुको नाममा अग्रज पुस्ताहरूलाई डिमोरलाइज गर्ने वा अग्रज पुस्ताहरुको नाममा युवाहरुलाई डिमोरलाइज गर्ने दुवै विषयवस्तु हुन सक्दैनन् । यसकारण अग्रज र नयाँ पुस्तालाई समानान्तर दिशाबाट बाटो दिलाएर पार्टी नयाँ अभ्यासका साथ अगाडी बढाउनुपर्छ । पार्टीमा युवा भन्नाले उमेरको आधारमा होइन, विचारको आधारमा युवा हुनुपर्छ । 

उदाहरणमा नेल्सन मण्डेलालाई नै लिन सकिन्छ । उहाँले ८६ वर्षको उमेरमा दक्षिण अफ्रिकामा त्यहाँको गोरा जातिको सरकारको प्रमुखलाई अल्पप्रमुख बनाएर एउटा नयाँ वातावरण सिर्जना गर्नुभयो । ८७ वर्षको उमेरमा विवाह गरेर ८८, ८९ वर्षको उमेरमा राजनीतिप्रतिको एउटा नयाँ तरङ्ग सिर्जना गर्न सक्नुभयो । त्यसकारण उमेरको आधारमा होइन विचारको आधारमा युवा भन्नुपर्छ भन्ने तर्कलाई स्थापित गराउनु पर्छ ।
 



परिवारवादको बहस 

म पार्टीमा परिवारवादको समस्या देख्दिँन । किनभने परिवारको आधारबाट विभिन्न विरासतहरु हुन्छन नि । मेरो बाजे, बुबाले राजनीतिमा योगदान गर्नुभयो होला उहाँहरुको बेलामा । म पनि जिल्लामा सामान्य राजनीतिमा स्थापित भएँ । म आफैं स्थापित भएकाले पनि मेरो बाबु र बाजेलाई जोडेर क्षमतामाथि प्रश्न गर्न हुन्न । स्वभाविक रुपमा राजनीतिमा स्थापित हुनका लागि आफूभन्दा अघिल्लो पुस्ताको योगदानले सहयोग त पुर्‍याएको हुन्छ । तर, हाम्रा नेताहरु जो पनि परिवारसंगत रुपमा जोडिएर आउनुभएको छ, उहाँहरुको आफ्नै किसिमको स्ट्रगल र राजनीतिप्रतिको उहाँहरुको आफ्नै योगदान छ । यसलाई परिवारवाद भनेर परिभाषित गर्न पर्दैन जस्तो लाग्छ । 

 

महाधिवेशन कसरी गर्ने ? 

यो विषयमा पार्टीको वैधानिकताको विषयमा हाउगुजीको रुपमा परिभाषित गरिएको छ जस्तो लाग्यो । राजनीतिक रुपमा विश्लेषण हुँदा यो हाउगुजी नबनाएर कुशल व्यवस्थापन गर्न जरुरी छ । अहिलेको परिस्थितिमा महाधिवेशन नै सर्वैसर्वा हो र महाधिवेशन नहुँदा पार्टीको वैधानिकता नै सकिन्छ भन्ने मलाई लाग्दैन् । विभिन्न विकल्पमहरुमा रहेर यसको समिक्षा हुन जरुरी छ । हाम्रो मुलुकले मात्र नभई विश्वले भोगेको महामारीले पैदा गरेका संकटपूर्ण अवस्थालाई हेर्नुपर्छ । नेपाली कांग्रेस यो मुलुकको सबैभन्दा ठूलो जिम्मेवार पार्टी र यो मुलुकको सबैभन्दा जेठो पार्टीले जनतालाई र जनताको स्वास्थ्यलाई बेवास्था गरेर हिँड्न हुन्न ।

हामीले एकोहोरो रुपमा महाधिवेशन को सन्दर्भलाई लिएर आफ्नो कार्यकर्ताको जनस्वास्थ्यलाई बेवास्ता गरेर त्यसबाट आउनसक्ने आलोचना वा प्रतिक्रिया कांग्रेसको निमित्त महंगो पर्नसक्छ । वैधानिकता जोगाउने नामबाट जनस्वास्थ्यलाई ध्यानै नदिई अघि बढ्न हुन्न । यसलाई जोगाउने विभिन्न उपायहरु छन् । पार्टीको केन्द्रीय नेतृत्वलाई टेलिफोनबाट र भेटेर के सुझाउने गरेको छु भने, हाम्रो वैधानिकतालाई जोगाउनको निम्ति भदौ १९ गतेको मितिभन्दा उता संवैधानिक संकटको सम्बोधन गर्नका लागि पार्टीको महाधिवेशनको प्रक्रिया प्रारम्भिक गरिसकेपछि संवैधानिक संकटको गाँठो फुक्छ । सहज जिल्लाहरुमा वडा अधिवेशन सकेर अरु जिल्लाको वडा अधिवेशनलाई थाँती राख्न सकिन्छ । पहिलो कुरा महाधिवेशनको प्रारम्भ क्रियाशिल अपडेट गर्ने प्रक्रियाबाटै महाधिवेशनको प्रतिक्रिया सुरु हुन्छ । जहाँ प्रतिस्पर्धा हुँदैन र सर्वसम्मत प्रक्रियाबाट अधिवेशन सम्पन्न गर्न पनि सकिन्छ । जस्तो कि मनाङ जिल्लालाई रोज्न सकिन्छ, पाँचथर जिल्लालाई नै रोज्न सकिन्छ । यस्ता जिल्लाहरुमा सर्वसम्मत रुपमा वडा अधिवेशन सम्पन्न गर्न सकिन्छ । 

यो भन्दापनि अझै घनिभूत रुपमा उठेको विषय भनेको यो समय र परिस्थितिले आमन्त्रण गरेको विषय हो । नेताहरु वा कार्यकर्ताको अवस्थाले यो परिस्थिति सिर्जना भएको होइन् । गत १३ औं महाधिवेशन र महाधिवेशनको प्रतिनिधिको आधारबाट केन्द्रीय समितिलाई विशेष महाधिवेशनको स्वरुप दिएर केन्द्रीय समितिलाई पुनर्गठन गर्ने वा सहमतिको अधिवेशन गर्ने वा अरु कुनै व्यवस्थापन गरेर वैधानिकता जोगाउनुपर्छ । कार्यकर्तालाई महामारीको रन्केको आगोमा लाउनुहुन्न । 

अर्को भनेको, कोभिडको लकडाउनको पिरियडमा हामीबीच भएका सबै अवस्थालाई हेर्दै यो बेलामा भएका सबै व्यवहारहरुलाई हेर्दा हाम्रा क्रियाकलाप जिरो भएको हुन्छ । कोही त्यसमा चलमल गर्न नपाउने अवस्था । त्यो अवस्थालाई नेपालको कानुनलाई पनि जिरो मान्न सकिन्छ भनेर परिभाषित गरिसकेपछि हाम्रो महाधिवेशनलाई पनि पुस माघसम्म लान सकिन्छ । व्यवहारिक रुपबाट हाम्रा स्थापित नेताहरुबाट उचित निर्णय हुन्छ भन्ने अवस्था आम कार्यकर्ताले लिएको छ । अहिले केन्द्रीय नेतृत्वलाई मेरो सुझाव भनेको जनताको स्वास्थ्यलाई लापरबाही गर्न मिल्दैन, व्यवहारिक रुपबाट हाम्रा पार्टीका शीर्षस्त नेताहरु जो घामपानी सहेर पार्टीमा स्थापित हुनुभएको छ । उहाँहरूबाट उचित निर्णय हुन्छ भन्ने अपेक्षा आम जनता र कार्यकर्ताले लिएको देखिन्छ ।

(केरुङ नेपाली कांग्रेस पाँचथरका सभापति हुन् ।)

 

कांग्रेस जिल्ला सभापतिसँग फरकधार सिरिजमा अन्य यी जिल्ला सभापतिहरुकाे विचार पनि पढ्नुहाेस्— 

कांग्रेसले खोपलाई प्राथमिकतामा राखेर महाधिवेशनको विकल्प खोज्नुपर्छ— झापा सभापति

‘सभापतिले मात्रै पार्टी चलाउने होइन, सबै मिलेर चलाउने हो’—धनकुटा सभापति

‘उमेरले होइन विचार र दृष्टिकोणले युवा नेतृत्व छान्नुपर्छ’-तेह्रथुम सभापति

‘अहिलेको अवस्थामा महाधिवेशन तोक्नु मूर्खता हो’– भोजपुर सभापति

‘कांग्रेसमा अब अग्रजलाई सम्मान, युवालाई काम’– संखुवासभा सभापति

‘उमेरले होइन विचार र दृष्टिकोणले युवा नेतृत्व छान्नुपर्छ’–तेह्रथुम सभापति

‘वंशको आशीर्वाद होइन, कर्मको हिसाबमा नेतृत्व छनोट हुनुपर्छ’– चितवन सभापति

‘१४ औँ अधिवेशनबाटै युवाहरु आउँछन् भन्ने मैले देखेको छैन’– सर्लाही सभापति

‘पाका नेतृत्वसँगै पुस्तान्तरण जरुरी छ’– सिन्धुली सभापति

शेरबहादुरजी, रामचन्द्रजीहरुले धेरै अवसर पाउनुभयो, दोस्रो पुस्तालाई नेतृत्व दिनुपर्ने बेला आएको छ- धनुषा सभापति

‘अर्काको फेरो समाएर नेतृत्वमा पुग्न सकिँदैन’– दोलखा सभापति

पार्टीको वैधानिकताका लागि पनि त्याग गर्न सक्नुपर्छ– रामेछाप सभापति

युवामा क्षमता देखिनुपर्यो, अनि मात्र नेतृत्वमा दाबी गर्नुपर्छ – पर्सा सभापति

चार वर्षमा हुनुपर्ने महाधिवेशन पाँच वर्षमा पनि गर्न नसक्ने यो कस्तो नेतृत्व ?—नुवाकोट सभापति

‘कांग्रेसको इतिहास संरक्षण गर्ने नेतृत्व आवश्यक छ’— काठमाडाै‌ं सभापति

‘हामी संकटपूर्ण महाधिवेशनको मुखमा छौँ’— काभ्रेपलान्चाेक सभापति

‘नयाँ नेतृत्व, नयाँ विचार, नयाँ ढंग, नयाँ कार्यक्रमका साथ कांग्रेस अगाडि बढ्नुपर्छ’— सिन्धुपाल्चाेक सभापति

‘युवाहरुले धारणा नबदल्ने हो भने नेतृत्वमा आउँदैनन्’— भक्तपुर सभापति

 

  • प्रकाशित मिति : साउन २३, २०७८ शनिबार २०:२२:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया