समयमै पुल बन्न नसक्दा बयलगाडाबाट नदी वारपार गर्न बाध्यता

कैलालीको धनगढी उपमहानगरपालिकाको १६ र १७ वडालाई जोड्ने शिवगंगा नदीमा पुल बन्न नसक्दा स्थानीयवासीले दुख खेप्दै आइरहेका छन् । पुल निर्माणका लागि सम्झौता भएको अवधि समाप्त भइसक्दा पनि अहिलेसम्म पुलको काम सुरु भएको छैन ।

धनगढी उपमहानगरपालिका-१६ ढाका टोलका हरिबहादुर कटुवालको वडा नम्बर-७ देवहरियामा व्यापार व्यवसाय छ । उनले दैनिकजसो घरदेखि पसल र पसलदेखि घरसम्म सोही नदी पार गरेर आऊजाऊ गर्छन् । पसल जानका लागि नदी पार गरिरहेको अवस्थामा भेटिएका हरिबहादुरले भने,‘ खुट्टामा घाउ भएपछि मलमपट्टी गरेको छु । नदीको बहाव पनि बढेको छ । पट्टीमा पानी पसे समस्या हुन्छ । तर के गर्नु, व्यवसाय त गर्नैपर्‍याे ।’

धनगढी उपमहानगरपालिका वडा नम्बर-१७ पथरीकी ४० वर्षीया पार्वती चौधरी पनि पुल बन्न नसक्दा दुख बेसाउँछिन् । उनी भन्छिन्, ‘नजिकैको खुटिया नदीको पुल बनिसक्यो । तर, यो पुलको काम कहिलेदेखि सुरु हुने हो अत्तोपत्तो छैन । नदी पार गर्न निकै समस्या भएकाे छ ।’ 

धनगढी उपमहानगरपालिका-१७ का स्थानीय भागिराम र मानबहादुर चौधरीले यात्रु, साइकल तथा मोटरसाइकल पार गराउन बयलगाडा सेवा सञ्चालन गर्दै आइरहेका छन् । ‘असारदेखि वर्षा सुरु हुँदा नदीको बहाव बढ्छ, पुल छैन । त्यसैले मानिसको आवतजावतमा सहजता ल्याउन बयलगाडाबाट सेवा दिँदै आएका छौँ’, भागिरामले भने, ‘आफ्नै घरको सामान र पराल बोक्ने बयलगाडा अहिले मानिसलाई नदी वारपार गराएर आम्दानीको स्रोत बनेको छ ।’ उनले प्रति मोटरसाइकल वारपार गराएको सय रुपैयाँ लिँदै आएका छन् ।

दैनिक सयभन्दा बढी मानिस यो नदीबाट वारपार गर्छन् । भागिरामका अनुसार दैनिक मोटरसाइकल वारपार गराउँदा एक हजार २०० देखि चार हजार रुपैयाँसम्म आम्दानी हुन्छ । उनले शिवगंगा नदी पार गरी रामपुर, घसिटा, बेहडाबाबा मन्दिर पुगिने गरेको बताए ।



भागिरामले मात्र नभई मानबहादुरले पनि बयलगाडा सञ्चालन गर्दै आइरहेका छन् । उनी भन्छन्, ‘भारी वर्षा भई नदीको बहाव बढेको दिन बयलगाडा चलाउन सकिँदैन । त्यस बेला हामी सेवा बन्द गर्छौँ ।’ 

वडा नम्बर १६ मा रहेको वेहडाबाबा मन्दिरको दर्शनका लागि धनगढी तथा भारतका विभिन्न स्थानका दर्शनार्थीहरू आउने गरेका छन् । वेहडाबाबा धनगढीको मुख्य बजार हुँदै कनरीदेखि पनि जान सकिन्छ । तर, देवहरियादेखि छोटो यात्रा पर्ने भएकाले अधिकांशले सोही बाटोमा यात्रा गर्न रुचाउँछन् । देवहरियादेखि वेहडाबाबा जान खुटिया र शिवगंगा नदी पार गर्नुपर्छ ।



ठेक्का पप्पुकाे हातमा

सडक डिभिजन कार्यालय महेन्द्रनगरले २०७४ साल असार २७ गते पुल बनाउन निर्माण कम्पनीसँग सम्झौता गरेको थियो । सम्झौता गरेको निर्माण कम्पनीले एक पुलको काममात्र सम्पन्न गरेको छ । सडक डिभिजन कार्यालयका अनुसार सो पुल निर्माणको ठेक्का पप्पु एडभेन्चर जोइन्ट भेन्चरले पाएको थियो ।

१५० मिटर लामो खुटिया पुलको काम २०७७ असारभित्र सक्नु पर्ने भए पनि आर्थिक वर्ष २०७७/७८ मा सम्पन्न गरेको छ । निर्माण कम्पनीले भ्याटबाहेक १४ करोड २१ लाख २४ हजार २६२ रुपैयाँ लागतमा सम्झौता गरेको थियो ।

१२४ मिटर लामो देवरिया-बेहडाबाबा पुलको निर्माण कार्य अहिलेसम्म सुरु हुन सकेको छैन । १२ करोड ६२ लाख ७२ हजार ६७१ रुपैयाँ लागतमा निर्माण कम्पनीले सो पुल निर्माण गर्ने सम्झौता गरे पनि अहिलेसम्म पिल्लरसमेत हालेको छैन ।
 

  • प्रकाशित मिति : साउन २४, २०७८ आइतबार ९:१३:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया